सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ । आगामी साउनदेखि लागू हुने गरी गरिएको नयाँ व्यवस्थाअनुसार अब कर्मचारीहरूले न्यूनतम मासिक ४० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् भने अधिकतम तलब एक लाख रुपैयाँभन्दा माथि पुग्नेछ । महालेखा नियन्त्रक कार्यालयका अनुसार हाल राज्यको ढुकुटीबाट तलव खानेहरूको संख्या ६ लाखको हाराहारीमा छ ।

सरकारले वृद्धि गरेको यो तलव निजामती कर्मचारी, सेना, प्रहरी र शसस्त्रसहित तीनै सुरक्षा अंग, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीदेखि संस्थानसहित सबै कर्मचारीका हकमा लागू हुनेछ । यसबाहेक जनप्रतिनिधि र राज्यकोषबाट तलव खाने पदाधिकारीका हकमा पनि लागू हुनेछ । बढेको तलवअनुसार सबैको पारिश्रमिक समायोजन सरकारले गर्नेछ । 

चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि नभएको र यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि १७.३ प्रतिशत भएको अवस्थामा मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गरेको अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा छ । कर्मचारीले हाल प्राप्त गरिरहेको महंगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलव वृद्धि गरेको घोषणा अर्थमन्त्री वाग्लले बताए । 

अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेयका अनुसार हाल कायम रहेको न्यूनतम तलवस्केलमा तत्काल १० प्रतिशत वृद्धि हुनेछ । यसपछि बढेको तलवस्केलको न्यूनतम तलवमा १० प्रतिशत प्रोत्साहन भत्ता जोडिनेछ । यद्यपि, यसको कानुनी मापदण्ड सरकारले जारी गर्नै बाँकी छ । प्रोत्साहन भत्तासहितको तलवमा कर्मचारीले पाउँदै आएको ग्रेड र महंगी भत्तासमेत जोडेर कर्मचारीको कूल पारिश्रमिक कायम हुनेछ । 

कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलवमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको पनि बजेट वक्तव्यमा छ । ‘यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक करिब ४० हजारदेखि एक लाखमाथि कायम हुनेछ’ बजेट वक्तव्यमा उल्लेख छ । 

निजामती सेवातर्फ हाल सबैभन्दा तल्लो तह कार्यालय सहयोगीको हो । कार्यालय सहयोगीमा प्रथमदेखि पाँचौ स्तरसम्म छ । ०५६ देखि सरकारले कार्यालय सहयोगीमा स्थायी नियुक्ति गरेको छैन । त्यतिखेर कार्यालय सहयोगीको प्रथम स्तरमा नियुक्ति भएकाहरू सबै ०७६ देखि नै पाँचौं स्तरमा पुगिसकेका छन् । कार्यालय सहयोगीको नयाँ नियुक्ति नभएपछि सेवा करार गरेर लिँदै आएको छ । 

हाल स्थायी नियुक्तिमै रहेका कार्यालय सहयोगी पाँचौ स्तरको सुरु तलव स्केल ३२ हजार ८५६ रुपैयाँ छ । यसमा १० प्रतिशत तलव वृद्धि, प्रोत्साहन भत्ता, ग्रेड र महंगीसहित अब ४९ हजार १३५ रुपैयाँ पुग्छ । 

यो प्रत्यक्ष तलव सुविधाबाहेक कर्मचारीलाई अप्रत्यक्ष रुपमा पनि सरकारले अरु सुविधा दिएको छ । प्र्रत्येक कर्मचारीलाई तलव र ग्रेडसहितको १० प्रतिशत रकम सरकारले संचयकोषमा हालिदिन्छ भने सावधिक जीवनबीमाबापत प्रतिव्यक्ति चार सय रुपैयाँ पनि सरकारले थप गरिदिन्छ । 
सुवास भट्ट/नयाँ पत्रिका