गत शुक्रबारदेखि डडेलधुराबाट हराईरहेका सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत अवस्था फेला परेका छन् । सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर आज सोमबार बिहान मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले दुवै जनाको शव महाकाली नदीमा फेला परेको पुष्टि गरे । उनकाअनुसार सशस्त्रका जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमा र तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको हो ।
डीएसपी सिंहले डडेलधुरातर्फ फेला परेका थापामगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । बीओपी परिगाउँमा कार्यरत जवान पुनमगरको शव महाकाली नदी किनारमै भारतीय भूमीमा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनोद थापाले भारतीय भूमीमा मृत भेटिएका कारण पुनमगरको शव भारतीय प्रहरीले घटनास्थल कार्य सकेर उतैतिर लगेको जानकारी दिए ।
अब भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन् । घटनाबारे आवश्यक अनुसन्धान थालिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्