नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४५ छ । जसमध्ये दुईवटा बन्द छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०८२/८३ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति ९.५ प्रतिशतले ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको जनाएका छन् । यो कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशतभन्दा बढी हो । अघिल्लो वर्ष यस्तो सम्पत्ति २९ खर्ब २८ अर्ब ९७ करोड ४६ लाख रहेको थियो ।
०८२ असारसम्म सार्वजनिक संस्थानमा सरकारको सेयर लगानी तीन खर्ब ७० अर्ब २५ करोड २० लाख तथा ऋण लगानी चार खर्ब २८ अर्ब ३१ करोड १५ लाख पुगेको छ । सरकारको कुल लगानी सात खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको वाग्लेको भनाइ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारको कुल लगानी १३.४ प्रतिशतले बढी हो ।
सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा तथा दुई संस्थान बन्द अवस्थामा रहेका छन् । अघिल्लो वर्ष २८ संस्थान नाफामा र १५ संस्थान नोक्सानीमा रहेका थिए । नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०८१/८२ मा सरकारले आठ अर्ब ३७ करोड ७६ लाख लाभांश प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा लाभांश ५।२ प्रतिशतले घटेको हो ।
आर्थिक वर्ष ०८१/८२ मा सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आय ०.७ प्रतिशत बढेर ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख पुगेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको १०.८ प्रतिशत बराबर रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ११.६ प्रतिशत थियो ।
सार्वजनिक संस्थानहरूको आयकर दायित्व पनि घटेको छ । आर्थिक वर्ष ०८१/८२ मा आयकर दायित्वबापतको व्यवस्था रकम २२.४ प्रतिशतले घटेर ११ अर्ब ३६ करोडमा सीमित भएको छ । संघीय सरकारको कुल आयकर संकलनमा सार्वजनिक संस्थानको योगदान ३.८२ प्रतिशत रहेको जनाए ।
कर्मचारी संख्यामा पनि कमी आएको देखिएको छ । ०८२ असार मसान्तसम्म स्वीकृत ३८ हजार २८५ दरबन्दीमध्ये ३० हजार ३५२ कर्मचारी कार्यरत छन् । अघिल्लो वर्ष कार्यरत कर्मचारी संख्या ३४ हजार ९५१ थियो । कोषमा व्यवस्था नगरिएको दायित्व १०।१० प्रतिशतले बढेर ६६ अर्ब ४० करोड ८३ लाख पुगेको छ । सम्भावित दायित्व ३.०३ प्रतिशत बढेर २२ खर्ब ६४ अर्ब ५५ करोड ३७ लाख पुगेको छ ।
सार्वजनिक संस्थानको कुल सेयरधनी कोष अर्थात् नेटवर्थ ३.९ प्रतिशत बढेर १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख पुगेको छ । तर, सातवटा संस्थानको सेयरधनी कोष ऋणात्मक अवस्थामा रहेको छ । तीमध्ये नेपाल वायुसेवा निगम सबैभन्दा बढी सात अर्ब ९३ करोड ४४ लाख ऋणात्मक अवस्थामा रहेको उल्लेख गरिएको छ ।
आर्थिक वर्ष ०८१/८२ मा सार्वजनिक संस्थानको खुद नाफा १२० प्रतिशतले बढेर पाँच अर्ब आठ करोड ४९ लाख पुगेको छ । यस अवधिमा नाफामा रहेका संस्थानको खुद नाफा ४८ अर्ब ८९ करोड ६ लाख पुगेको छ । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सान तीन अर्ब ८० करोड ५७ लाखमा सीमित भएको छ ।
सार्वजनिक संस्थानहरूको कुल सञ्चित नाफा ९ प्रतिशत बढेर एक खर्ब पाँच अर्ब ४५ करोड ४२ लाख पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चित नाफाका आधारमा अग्रस्थानमा रहेका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्