इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले होर्मुज जलडमरूमध्यको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा ‘कडा सैन्य प्रतिक्रिया’ दिने चेतावनी दिएको छ ।

आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानलमार्फत जारी गरेको सन्देशमा फारसको खाडी र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलडमरूमध्य हाल बन्द रहेको र त्यहाँबाट आवतजावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्गमार्फत मात्र सम्भव हुने जनाएको छ ।

उक्त चेतावनीमा नियम उल्लङ्घन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ । साथै, अमेरिकाको नौसेनाले जलडमरूमध्यको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरुद्ध गर्ने कुनै पनि प्रयास गरेमा कडा सैन्य कारबाही हुने स्पष्ट चेतावनी दिइएको छ ।

यसैबीच, समुद्री स्रोतसम्बन्धी एक अन्तर्राष्ट्रिय निकायमार्फत जारी सूचनामा होर्मुज क्षेत्रको स्थिति संवेदनशील रहेको र इरानी बन्दरगाहमा प्रवेश वा बहिर्गमन गर्न निषेध गरिएको जनाइएको छ ।

त्यस्तै, सोही क्षेत्र नजिक रहेका जहाजहरूका चालक दलले सार्वजनिक समुद्री रेडियो च्यानलमार्फत अमेरिकी सैन्य विमानले एक जहाजलाई तत्काल मार्ग परिवर्तन गर्न चेतावनी दिएको र त्यसको गतिविधि निगरानीमा राखिएको जानकारी दिएका छन् ।

यस घटनाले होर्मुज जलडमरूमध्यमा तनाव थप बढेको देखिएको छ, जुन विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिन्छ ।