काठमाडौंमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम दिन आज शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ । बागमतीले ७ रजत र ५ कांस्य पनि जित्यो ।

एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश थिए । जसमध्ये बागमतीले ११ स्वर्ण जितेको हो । बागमतीपछि सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य, लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य, गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जितेका छन्। शून्य स्वर्णमा खुम्चिन बाध्य  कोशी प्रदेशले जम्मा २–२ वटा रजत र कांस्य हात पार्यो । मधेश प्रदेश पदकविहीन बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम दिन ८ स्पर्धाको फाइनल भएको थियो । छात्र २ सय मिटर दौडमा लुम्बिनीका भगवानदास लोहार पहिलो भए । उनले निर्धारित दूरी २२.६४ सेकेन्डमा पूरा गरे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरीले निर्धारित दूरी २७.३७ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् ।

छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो बने । उनले ९ मिनेट २०.१ सेकेन्डमा दौड पूरा गरे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी अन्जुली मल्ल पहिलो भइन् । अन्जुलीले निर्धारित दूरी तय गर्न ११ मिनेट ०३.६ सेकेन्ड समय खर्चिन् ।

छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विक्रमनाथ पहिलो भए । उनले १३.५५ मिटर जम्प गरे । त्यसै स्पर्धाको छात्रामा ११.१० मिटर जम्प गरेकी बागमतीकी अनिशा थारु पहिलो भइन् । ४ गुणा १ सय मिटर रिलेको छात्रमा लुम्बिनी तथा छात्रामा बागमती प्रदेश शीर्ष स्थानमा रहे ।

एथलेटिक्समा २ व्यक्तिगत र १ टिममा गरी जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान खडा भए । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै कीर्तिमान कायम गरे ।

छात्रा ४ सय मिटर दौडमा बागमतीकी भगवती खड्काले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । भगवतीले कीर्तिमानी एकसहित जम्मा ४ स्वर्ण जितिन् । भगवतीले ४ सय मिटर दौड बाहेक ८ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितिन् ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचे ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतिस्पर्धामा बागमतीले ५ स्वर्ण जित्यो । १२ स्वर्णका लागि भएको तेक्वान्दोको यो प्रतिस्पर्धामा सुदूरपश्चिम र मधेसले समान २–२ स्वर्ण जिते । कर्णाली स्वर्णविहीन बन्यो । कोशी, गण्डकी र लुम्बिनीले १–१ स्वर्ण हात पारे ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको करातेमा कोशीले सर्वाधिक ३–३ स्वर्ण, रजत र कांस्य जित्यो । लुम्बिनीले ३ स्वर्ण र ५ कांस्य तथा सुदूरपश्चिमले ३ स्वर्ण र ४ कांस्य हात पारे । बागमतीले २ तथा मधेशले १ स्वर्ण हात पार्यो । करातेमा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।