भारतको उत्तराखण्डको शक्तिशाली बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले हिजो बिहीबार एक विज्ञप्ति जारी गरी कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको जानकारी दिएका छन् । बस्नेतका अनुसार, अन्य वडाका केही व्यक्ति पनि सम्पर्कमा आएका छैनन ।

अध्यक्ष बस्नेतले बाढीपछि सम्पर्कमा नआएकाहरुको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन् । उनले विज्ञप्तिमार्फत प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

उत्तराखण्डको उत्तरकाशीमा गत मंगलबार एक्कासी आएको बाढीले कम्तीमा ५० जना बेपत्ता रहेको भारतीय सेनाले बताएको छ ।