अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा एयर क्यानडाको एक विमान दमकलसँग ठोक्किँदा ककपिटमा रहेका दुई पाइलटको मृत्यु भएको छ।

न्युयोर्क र न्युजर्सीको ‘पोर्ट अथोरिटी’ की कार्यकारी निर्देशक क्याथरिन गार्सियाले दुर्घटनामा दुवै पाइलटको ज्यान गएको पुष्टि गरेको समाचार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको हो।

क्यानडाको मोन्ट्रियलबाट न्यूयोर्क पुगेको ‘एयर क्यानडा एक्सप्रेस’ को जहाजले धावनमार्गमा गुडिरहेको ‘पोर्ट अथोरिटी’को ‘एयरक्राफ्ट रेस्क्यु एन्ड फायरफाइटिङ’ सवारी साधनलाई ठक्कर दिएको थियो। उक्त दमकल अर्कै एउटा घटनाको उद्धारका लागि जाँदै थियो।

दुर्घटना यति भयावह थियो कि जहाजको अगाडिको भाग ककपिट चुँडिएर उछिट्टिएको छ।

नौ सय उडान प्रभावित, विमानस्थल बन्द
दुर्घटनापछि अमेरिकाको संघीय उड्डयन निकाय (एफएए) ले ला गार्डिया विमानस्थल अघि दिउँसो दिउँसो २ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिदिएको थियो। यो विमानस्थल दैनिक करिब नौ सय उडान र अवतरण हुने व्यस्त क्षेत्रीय केन्द्र मानिन्छ, जसमा एयर क्यानडाका मात्रै दैनिक २३ उडान हुने गर्छन्।

उडान ‘ट्रयाकिङ वेबसाइट फ्लाइट राडर २४’ का अनुसार सोमबार बिहानसम्म ४०० भन्दा बढी उडानहरू रद्द भइसकेका छन्। न्युयोर्क सहरको आपतकालीन चेतावनी प्रणालीले विमानस्थल वरपरका सडक बन्द गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

पोर्ट अथोरिटी प्रहरी र उच्च अधिकारीहरूले घटनाको ‘गहन अनुसन्धान’ सुरु गरेका छन्।
एजेन्सीहरु