प्रचण्डको कलाः कांग्रेस, एमाले सधैँ गधा !

no-image

नेपाल मुहार - २०८०-१२-१२

प्रचण्ड–ओली–देउवा–नेपाल, रवी लामिछानेलगायत कारखानाको उत्पादन नै छट्टु राजनीति हो । लाज, सरम पचाएको सत्ताको छट्टु खेल अन्त्यका लागि मुलधारको राजनीतिक शक्तिको जन्म ऐतिहासिक आवश्यकता बनिसकेको छ ।

पाठकवृन्द, एउटा लोककथाबाट विषय प्रवेश गरौं । कथा अनुसार आफ्ना बालबच्चासहित हिडिरहेको स्याललाई सिंहले आहारा बनाउने उद्देश्यले च्याप्पै समातेछ । स्याल निकै बाठो थियो । उसले सिंहलाई भनेछ, महाराज म सानो छु । तपाईको एक पेट आहारा पनि बन्दिन । त्यसमाथि मलाई हजुरले सिकार गरेपछि मेरा बालबच्चाको बेहाल हुन्छ । बरु म हजुरलाई एउटा उपाय सुझाउँछु, त्यो के भने यो जंगलमा गधाहरु छन् । हजुरले गधालाई सिकार गरे पेट पनि भरिन्छ । म हजुरका लागि गधा खोजेर ल्याउँछु । गधा खोजेर नल्याउन्जेल मेरा बच्चाबच्चा हजुरसँगै छाड्नेछु । सिंह राजी भएछ ।

स्याल गधा समक्ष गएर भनेछ, यो जंगलको सिंह बुढो भएछ । त्यसले नयाँ राजा खोज्दै रहेछ । अब तपाईँ राजा हुनुपर्छ । राजाभएपछि इतिहास रचिन्छ । त्यसका लागि मैंले सिंहलाई सहमत गराएको छु । राजा हुन पाउने लोभमा दंग हुँदै गधा स्यालको पछि लागेर सिंहकोमा पुगेछ । गधा आफ्नो छेउमा के आइपुगेको थियो, सिंहले क्वाप्पै उसको पुच्छर खाइदिएछ । गधा उफ्रेर भागेछ । सिंहले स्याललाई भनेछ, गधा भाग्यो त । स्याल फेरि उसलाई फकाउन गएछ । तपाईको पुच्छरले राज सिंहासनमा बस्न अप्ठ्यारो हुने भएकाले सिंहले खाईदिएको हो । राजा हुने अवसर नगुमाउ । हिड । गधा पत्याएर फेरि आएछ । यस पटक सिंहले गधाको कान खाईदिएछ ।

यसबेला पनि गधा भागेछ । स्याल फेरि उसलाई मनाउन गएर भनेछ, राजाले श्रीपेच लगाउनु पर्छ । तिम्रो कानले श्रीपेच लगाउन नमिल्ने, नसुहाउने भएकाले मात्र सिंहले खाइदिएको हो । अब श्रीपेच लगाउन हिड । स्यालको कुरा पत्याएर गधा तेस्रो पटक सिंह सामु आएछ । श्रीपेच लाउने आशमा गधा आफ्नो सामुन्नेमा के आइपुगेको थियो, सिंहले गधाको घाँटीमै नङ्ग्रा गाडी रगत चुसेर मारेछ । अनि स्याललाई भनेछ, मलाई यसको राम्रो मासु तयार पार । हुन्छ हजुर भन्दै स्याल मासु बनाउन लागेछ । यसक्रममा स्यालले गधाको टाउकोको मासु आफैं खाएर शरीरको मासु मात्र सिंह समक्ष पु¥याएछ । सिंहले सोधेछ, गधाको टाउको खोइ त ?

छट्टु स्याल’ ले भनेछ, यसको टाउको नै थिएन हजुर । टाउको (बुद्धि, विवेक) भएको भए तीन पटकसम्म हजुरकोमा आउथ्यो ? पहिलो पटकमै भागिहाल्थ्यो नि ! त्यसैले यसको शरीर मात्र थियो । शरीरको मासु हजुरलाई तयार गरेको छु । यसपछि आफ्ना लालाबाला लिएर स्याल सिंहबाट उम्किएछ ।

नेपाली राजनीतिमा खासगरी नेपाली कांग्रेस र नेकपा (एमाले) का हकमा ठ्याक्कै सिंह, स्याल र गधाको यही कथा चरितार्थ भइरहेको छ, वर्षौदेखि । आफूलाई सिंह ठान्ने कांग्रेस र एमालेलाई उनीहरुले ‘स्याल’ ठानेका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले पटक–पटक ‘गधा’ बनाइरहेका छन् । कांग्रेस र एमाले ‘बिचरा’ गधा झैँ एकपछि अर्को गरी निरन्तर उल्लु भइरहेका छन् । ‘छट्टु स्याल’ को विस्वासमा परेर सिंहको आहारा बनिरहेका छन् ।

प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ ले अस्ति २१ फागुनमा फेरि अर्को एक पटक सत्ता गठबन्धन परिवर्तन गरे । प्रचण्डले नेपाली कांग्रेससँगको सरकारी गठबन्धनलाई विघटन गर्दै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतसँग नयाँ गठबन्धन बनाएका छन् ।

१० पुस ०७९ मा नेकपा एमाले, रास्वपाको सर्मथनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री पद पाउनका लागि त्यसबेला प्रचण्डले नेपाली कांग्रेससँगको चुनावी गठबन्धन त्यागेका थिए । प्रधानमन्त्रीको कुर्सी पाएपछि फेरि एमाले, रास्वपासँगको सम्बन्ध तोड्दै राष्ट्रपति निर्वाचनमा कांग्रेससँगै घाँटी जोड्न पुगेका थिए । प्रचण्डकै सहकार्यमा २५ फागुन ०७९ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । पौडेललाई राष्ट्रपति निर्वाचित गराउन एमाले, रास्वपासँगको गठबन्धनको शिरोच्छेदन गरेका प्रचण्ड फेरि १ सय ८० डिग्री फन्को मार्दै एमाले, रास्वपाको बुई चढेका छन् ।

२ असार ०६३ मा औपचारिक रुपमा सार्वजनिक भई शान्ति प्रक्रियामा सहभागी भएयता प्रचण्डले दर्जनौ पटक उनकै शब्दमा ‘क्रमभङ्ग, छलाङ्ग’ मारिसकेका छन्, चाहे ती नैतिक हुन् वा अनैतिक । जगजाहेर छ, आफ्नो अनुकूलताका लागि जस्तो सुकै कोल्टे फेर्न तयार हुने पात्र हुन् प्रचण्ड । अनि तिनै प्रचण्डबाट जत्तिसुकै धोका पाएपनि, गोदाई खाएपनि उनलाई सुनपानी छर्कदै टुप्पीमा बोकेर सत्ताको वैतर्नी तर्न कांग्रेस, एमालेलगायत ‘च्यान्टे, भुन्टे’ सबै दलहरु मरिहत्ते गरिरहेका छन् । प्रचण्डले सबै दललाई स्थापित लोककथाको ‘गधा’ बनाइरहेका छन् ।

प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन्छु । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ ।’ सहिद प्रतिष्ठान नेपालले २१ फागुन अपरान्ह काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा गरेको कार्यक्रममा प्रचण्डले ‘कठोर’ अभिव्यक्ति दिए । बुझ्न कठिन छैन, बन्दै गरेको नयाँ गठबन्धनलाई लक्षित गरेर प्रचण्डले उक्त लाक्षणिक अभिव्यक्ति दिएका थिए । अर्थात एमाले अध्यक्ष केपी ओलीलाई काबुमा राख्न प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् ।

नेपाली भूमिमा प्रचण्ड राजनीतिक प्राणीका रुपमा त उदाए, तर उनी यति धेरै अस्थिर, स्वार्थी, धोकेबाज भए, ‘जनयुद्ध’ का नाममा होस् वा संसदीय यात्रामा, सर्वसाधारणदेखि सहयात्रीसम्म यति धेरैलाई सास्ती दिए, जसको शब्दमा गर्ने व्याख्या नै छैन । भलै, उनले आफ्नो अस्थिरता, स्वार्थी, धोकेबाज चरित्रलाई ‘क्रमभङ्ग, छलाङ, गतिशिलता’ आदि आदि उपमा दिएर सबैलाई गधा बनाइरहेका छन् । कांग्रेस, एमालेका नेताहरु गधा बन्न पाएकोमा दंग छन् । हिंसाको महिमा र अस्थिरतामा गर्व प्रचण्डको सबैभन्दा उचो विशेषता हो । यी दुवै कर्मले देशलाई विनास बाहेक समृद्धिको यात्रामा लम्काएका छैनन्, तर्कका लागि तर्क जेसुकै गरियोस् ।

प्रचण्डले नजानेको सत्कर्म वा दुष्कर्म केही पनि छैन, जसलाई उनी आफ्नो अनुकूलतामा जता जसरी पनि घुमाउन तयार हुन्छन । प्रचण्डको यही तिकडमका कारण कुनै पनि स्वाभिमानी नेता वा व्यक्तिका नजरमा उनी हृदयदेखि सम्मानित छैनन् । भलै उनलाई सामुन्नेमा देख्दा जसले जे जसरी फूलपाती चढाउन् । तथापि सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि प्रचण्ड नभइ नहुने साधन बनेका छन् ।

आफ्नो सिद्धान्त, इमान, स्वाभिमान, निष्ठा, प्रतिवद्धताका लागि कर्कलोको पातको पानीभन्दा फितला बिम्ब बनेका छन्, प्रचण्ड । राष्ट्रियता, जनतन्त्र र जनजिविकामा केन्द्रीत रहेर तत्कालीन संयुक्त जनमोर्चा नेपालले २१ माघ ०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे माग पत्र र यसबेला संसदीय गणित एवं सत्ता भोगका लागि प्रचण्डले चालेका कदमहरु दाँज्ने हो भने एउटै मान्छे यति धेरै विशृङ्खलित कसरी हुन सक्छ ? निकै नै पेचिलो प्रश्न खडा हुन्छ ।

शान्ति प्रक्रियामा सहभागी भएयता मात्र प्रचण्डले नेताहरुलाई दर्जनौ पटक ‘गधा’ बनाईसकेका छन् । प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको प्रलोभन दिएका जगजाहेर छ । उनले कोइरालालाई मात्र होइन, नेकपा (एमाले) का तत्कालीन महासचिव माधवकुमार नेपाललाई समेत राष्ट्रपतिको ‘ललीपप’ दिएका थिए । आखिर कोइराला, नेपाल दुवैलाई उनले ‘लोप्पा’ ख्वाईदिए ।

०६५ भदौमा प्रधानमन्त्री भएपछि प्रचण्डले नेपाली सेनाका तत्कालीन प्रधान सेनापति रुक्माङ्गगत कटवाललाई आफ्नो अनुकूलतामा निकै नै प्रयोग गर्न खोजेका थिए । आफ्नो इसारामा नचाउन नसकेपछि अवकास हुन करिब चार महिना मात्र बाँकी रहदा सत्ताको नेतृत्व गरेको नौ महिनामा हठात् हटाउने निर्णय गरे । जुन कदम प्रचण्डकै लागि घातक बन्यो । त्यसबेला सरकारको नेतृत्व गरेको १५ दिन, एक महिनाभित्र प्रचण्डले कटवाललाई हटाएका भए सायदै ‘ब्याक फायर’ हुने थिएन ।
आफू सरकारबाट हट्न बाध्य भएपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारलाई उनले यतिधेरै सत्तो सराप गरे कि सडकबाट सत्ता कब्जा गरिदिन्छु भनेर काठमाडौं केन्द्रीत ठूलो आन्दोलन गरे । त्यो पनि हात लागि शून्य भयो । त्यति धेरै दुत्कारेका नेपालसँग यसबेला प्रचण्डको घाँटी सबभन्दा नजिकबाट जोडिएको छ । प्रचण्ड विशृङ्खलताका यस्ता चाङ दर्जनौ छन् ।

०७३ मा केपी ओली नेतृत्वको सरकारमा रहेर त्यही मन्त्रिपरिषद् विघटन गर्न शेरबहादुर देउवासँग काँध मिलाउन पुगे । अनि देउवा सरकारमा सहभागी भएकै बेला कांग्रेसलाई धोका दिँदै १७ असोज ०७४ मा केपी ओलीसँग बाम गठबन्धन गरे । ३ जेठ ०७५ मा नेकपा गठन भएपनि आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई ढुक्कले काम गर्नै दिएनन्, नेकपा गठनको लामो समय नबित्दै ओली सरकारलाई अप्ठ्यारोमा पार्ने काम प्रचण्डबाटै सुरु भएको थियो । प्रचण्डकै अगुवाईमा अदालती आदेशबाट २९ असार ०७८ मा ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट घोक्रेठ्याक लगाएर शेरबहादुर देउवालाई सरकारको जिम्मेवारीमा पुर्याईयो ।

उनै प्रचण्डले ४ मंसिर ०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरे । अनि प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन १० पुस ०७९ मा केपी ओलीकोमा पुगे । त्यसको महिना नबित्दै फेरि कांग्रेससँग नारिए । कांग्रेससँग नारिएको १३ महिना बित्दा नबित्दै प्रचण्ड पुनः ओलीसँग गला मिलाउन पुगेका छन् । सबैलाई सधैँ गधा बनाइराख्न सक्ने कलालाई प्रचण्ड एण्ड माओवादी कम्पनीले आफ्नो अपार सफलता मानिरहेका छन् । तर, यो कला नेपाली राजनीतिको अपार सफलता नभएर अपारगामी बिडम्वना हो । यो बिडम्वनाको अन्त्य नभएसम्म नेपाली राजनीति स्थिर र नेपाल समृद्ध नबन्ने निश्चित छ ।

जसरी जंगलमा नयाँ–नयाँ सिंह, स्याल र गधाको जन्म भइरहन्छ, नेपाली राजनीतिमा पनि नयाँ–नयाँ सिंह, स्याल र गधाको उदय भइरहेको छ । शालिनता होइन, छुृद्रता, खुला र स्पष्ट होइन, कपट र जालझेललाई गुरु मन्त्र मान्ने वर्तमान राजनीतिको कारखानामा आउने दिनमा सिंह, स्याल र गधा को–को बन्ने हुन् ? देख्न, भोग्न बाँकी नै छ । किनभने प्रचण्ड–ओली–देउवा–नेपाल, रवी लामिछानेलगायत कारखानाको उत्पादन नै छट्टु राजनीति हो । लाज, सरम पचाएको सत्ताको छट्टु खेल अन्त्यका लागि मुलधारको राजनीतिक शक्तिको जन्म ऐतिहासिक आवश्यकता बनिसकेको छ ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview