एमालेभित्रको अन्तर्घात छताछुल्ल, शीर्ष नेताहरुबीच नै बोलचाल बन्द !

no-image

नेपाल मुहार - २०८०-११-१२

झण्डै एक सय भन्दा बढी स्थानीय तहमा अन्तर्घातका कारण एमाले पराजित

घटना एक

काभ्रेको बनेपा नगरपालिकामा १४ वटा वडा छन् । जसमध्ये स्थानीय तहको निर्वाचनमा वडा नंं. एक, चार, पाँच, १०, ११, १२, १३ गरी सात वटा वडा र उपमेयरमा नेकपा (एमाले) ले आफ्नो पोल्टामा विजय पार्यो । वडा नंं. दुई, तीन, सात, आठ नौ र १४ गरी ६ वटा वडासहित मेयर नेपाली कांग्रेसले जित्यो । वडा नं. २ मा नेकपा (एकीकृत समाजवादी) ले जित हासिल गर्यो । सात वटा वडा र उपमेयर जितेको एमालेले मेयरमा किन हार्यो ? नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीका एक सचिवालय सदस्य भन्छन्, ‘आफ्नै पार्टी पक्तिभित्रबाट ठूलो अन्तर्घात भयो । नत्र हामी मेयर पनि जित्ने थियौं । अन्तर्घात नभएको भए बनेपा एमालेले हार ब्यहोर्ने ठाउँ होइन ।’

घटना दुई
काभ्रेकै पनौती नगरपालिकामा १२ वटा वडा छन् । जसमध्ये वडा नंं. दुई, तीन, चार, छ, सात, आठ, ११ गरी सात वटा वडा अध्यक्ष र उपमेयर नेकपा (एमाले) ले जित्यो । तर, नगर प्रमुखमा नेपाली कांग्रेसले बाजी मार्यो । थाहा भएकै कुरा हो, काभ्रे एमाले नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको गृह जिल्ला हो ।

निश्कर्ष सहजै निस्कन्छ, एमालेभित्र अन्र्तघात हुन्थेन भने पनौतीको मेयर पनि एमालेले नै बाजी मार्ने थियो ।

घटना तीन
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) ले उम्मेदवार बनाएकी पूर्व मिस नेवा सुनिता डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरी फराकिलो मतान्तरले विजयलाई आफ्नो पोल्टामा पारिन । तर, मेयरका उम्मेदवार केशव स्थापित ३८ हजार १ सय १७ मत मात्र प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । अर्थात उपमेयर डंगोलले ३० हजार धेरै मत पाउदा स्थापित हेरेका हेर्यै भए ।

भनिरहनै परेन, उपमेयर डंगोललाई जस्तै ‘एमाले’ को प्यानललाई नै मत खसेको हुन्थ्यो भने स्थापित पछि पर्नु पर्ने थिएन । एमालेबाट महानगरको मेयर सिफारिस भएका पूर्व राज्य मन्त्री एवं प्रतिनिधि सभाका सांसद रामबीर मानन्धर सार्वजनिक रुपमै स्थापितको बिरोधमा उत्रिए भने निवर्तमान मेयर विद्यासुन्दर शाक्यले मौन ‘घात’ गरे । जब कि ०७४ को निर्वाचनमा स्थापितले शाक्यलाई काँधमै बोकेर प्रचारमा हिडेका थिए । जानकारका अनुसार एमाले सचिव योगेश भट्टराईलगायतले पनि स्थापितलाई मजबुत साथ दिएनन् । किनकी २०७० को निर्वाचनमा तत्कालीन अशोक राई नेतृत्वको पार्टीबाट काठमाडौं–६ मा उम्मेदवार बनेर स्थापितले भट्टराईको मत काटेका थिए ।

घटना चार
भरतपुर महानगरपालिकामा नेकपा (एमाले) ले बागमती प्रदेश सांसद विजय सुवेदीलाई राजीनामा दिन लगाएर मेयरको प्रत्यासी खडा गरेको थियो । सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरीलाई हराउन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग समेत चुनावी गठबन्धन गरेको थियो ।

तर, रोचक के भने एमालेले आफ्नो पकड क्षेत्र मानेका वडाहरुबाटै अपेक्षित मत पाउन सकेन । नेकपा (एमाले) चितवनका एक सचिवालय सदस्यका अनुसार उपमेयर हुँदै वडा अध्यक्षको ‘प्यानल’ मै सूर्य चिन्हमा मत खसालिएको थियो । तर, मेयरमा मात्र एमालेले नै रेनु दाहाललाई हसियाँ हथौडामा मत हालेका थिए । त्यसैले रेनु दाहालले ५२ हजार २८ मत ल्याएर विजयी हुँदा एमालेका सुवेदीले ३९ हजार ५ सय ८२ मत मात्र प्राप्त गरे ।

घटना पाँच
पोखरा महानगरपालिकामा मेयरको टिकट आफ्नो गुटको पात्रलाई थमाउन नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको टक्कर निर्वाचन अघि नै सतहमा ह्वालह्वाल्ती पोखियो । गुरुङले ११ बैशाखमा आफूप्रति वफादार दीपक पौडललाई पोखरा महानगरपालिकाको मेयरको टिकट थमाएका थिए । तर, २४ घण्टा नबित्दै पुनः अधिकारी निकट कृष्ण थापालाई टिकट दिईयो ।

परिणाम– नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य ५८ हजार ८ सय ८३ मत पाएर मेयरमा विजयी भए । नेकपा (एमाले) का थापा ५२ हजार ८ सय ४८ मत ल्याएर उपविजेतामै चित्त बुझाउन बाध्य भए ।

यी पाँच दृष्टान्त ती आँखीझ्याल हुन्, जसले अस्ति ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) भित्र कुन तहको घात/अन्तर्घात भयो भन्ने चित्र देखाउँछन् । जानकारका अनुसार यस पटकको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत सबै पार्टीभित्र धेरथोर अन्तर्घात भयो । तर, अन्तर्घातको उत्कर्ष भने नेकपा एमालेमा पोखियो । झण्डै एक सय भन्दा बढी स्थानीय तहमा अन्तर्घातका कारण प्रमुख पदमा एमाले पराजित भएको नेताहरुको आँकलन छ ।

घात/अन्तर्घातको श्रृंखला कतिसम्म भने पार्टीका प्रदेश इन्चार्ज, प्रमुख नै आफ्नै उम्मेदवार विरुद्ध उभिए । जुन दृश्य गण्डकी प्रदेशमा देखियो । पार्टीकातर्फबाट मेयरका उम्मेदवार हारको ओरालो लागि रहदा पोलिटब्युरो सदस्यले ‘अब हार पक्का’ भन्दै स्टाटस् लेख्न भ्याए । भक्तपुरको मध्यपुर थिमीमा एमालेबाट मेयरको प्रत्यासी बनेका मदन सुन्दर श्रेष्ठको हार निश्चित भएपछि पोलिटब्युरो सदस्य महेश बस्नेतले त्यस्तो स्टाटस् लेखेका थिए । भलै, बस्नेतले त्यो स्टाटस्लाई लगत्तै हटाए ।

०४८ साल यताका निर्वाचनमा नेकपा (एमाले) को शैलीलाई नजिकबाट नियालीरहेका पत्रकार रोहित दाहालका शब्दमा यस अघि एमालेभित्र संस्थागत रुपमा यतिको अन्तर्घात कहिल्यै भएको थिएन । विगतमा पार्टीबाट उम्मेदवार बनेको व्यक्ति मन परेको छैन भने प्रचारमा नहिडी घरमै मौन बस्दथे । मत खसाल्न जाँदैनथिए । ‘तर, मत खसाल्न गएपछि सूर्य चिन्हमा नै भोट हाल्थे । यस पटक भने मतपत्रमै अन्तर्घात भएको छ’, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय नेता समेत रहेका दाहाल भन्छन्, ‘संगठनात्मक रुपमा एमालेमा यति अराजकता मौलाईसकेको होला भनेर कल्पना गरिएको थिएन । एमालेले स्थानीय निर्वाचनको समीक्षा वस्तुनिष्ठ भएर गरेन र अन्तर्घातमा संलग्नहरुलाई आफ्नो अर्काको नभनी कारवाही गरेन भने संघ र प्रदेशको निर्वाचनमा अन्तर्घातको क्रम अझ् बढेर जाने देखिन्छ ।’

हुन पनि यसबेला एमालेमा अध्यक्ष केपी ओलीको एकछत्र ‘शासन’ छ । पार्टीभित्र ओलीको एकल निर्णय चल्छ । ओली पक्षिय नेताहरुले यस अघि माधव नेपाल समूहले निहुँ खोजीरहने गरेकाले मात्र पार्टीभित्र गुट–उप गुटको संघर्ष देखिने गरेको बताउने गरेका थिए । अप्ठ्यारोमा पार्ने भनिएका नेपाल समूहका नेताहरु बाहिरिएकै बेलामा एमालेभित्र यतिको अन्तर्घात हुनुले त्यो पार्टी ओलीको ‘कमाण्ड’ मा छ÷छैन ? पेचिलो प्रश्न खडा भएको छ । गठबन्धनका कारणले भन्दा पनि अन्तर्घातले एमालेले स्थानीय निर्वाचनमा नमिठो पराजय भोगेकोले यस्तो प्रश्न उठेको हो ।

स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले खासगरी चार वटा कारणले मत परिणाम आफ्नो पक्षमा पार्न सकेन । एमाले हारको पहिलो कारण अन्तर्घात हो । दोस्रो, ओलीको अंहकारयुक्त प्रस्तुति । तेस्रो उम्मेदवार छनोटमा ध्यान नदिनु अर्थात उम्मेदवारहरुको अलोकप्रियता । अर्को उत्तिकै महत्वपूर्ण कारण टिके प्रथा हो । स्थानीय निर्वाचनमा ओली र उनी निकटहरुले माथिबाट टिकट लादेका थिए । धेरै जसो स्थानमा नयाँ ‘जोगी’ लाई उच्च प्राथमिकता दिए । जसले गर्दा पुराना नेता÷कार्यकर्ता स्वभाविक रुपमै असन्तुष्ट भएर खुलेआम अन्तर्घातमा उत्रिए ।

निर्वाचन सम्मुखमा अध्यक्ष ओली र उनी निकट नेताहरुले ‘हामीले सरकारको नेतृत्व गर्दा गरेका राम्रा कामको स्थानीय निर्वाचनबाट अनुमोदन हुन्छ’ भनिरहेका थिए । तर, मतदाताले एमाले नेताहरुको त्यो सुगा रटानलाई लत्याई दिएका छन् । भलै, स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत एमालेले पाएको भनेर नेताहरुले ‘लाज’ छोपिरहेका छन् । तर, मतदाता संख्या बढेको तथ्य बिर्सिरहेका छन् । ओलीको ‘विकास र समृद्धी’ को भाषणलाई पनि मतदाताले साचिँकै हावादारी प्रमाणित गरिदिएका छन् । सचेत नागरिकले त त्यही बेला हावादारी भन्दै आएका थिए । तैपनि एमाले नेताहरु निर्वाचनको समीक्षा गर्न तयार देखिएका छैनन् । बरु ०७० को निर्वाचनपछि हतप्रभ भएको तत्कालीन नेकपा (माओवादी केन्द्र) को शैलीलाई पछ्याउँदै ‘धाँधली’ को उपमा दिइरहेका छन् ।

अन्तर्घात र टिकट वितरणमा रहेको समस्याकै कारण एमालेले रुपन्देहीको बुटवल, तिलोत्तमा, सिन्धुपाल्चोकको मेलम्ची, त्रिपुरासुन्दरी, उदयपुरको त्रियुगालगायत दर्जनौ स्थानीय तहमा नमिठो पराजय भोगेको छ । तथापि शीर्ष नेताहरुले अन्तर्घातको धक्का महसुस गर्न सकेका छैनन् । अन्तर्घातलाई गठबन्धनको दोष दिएर उम्कन खोजिरहेका छन् । जब कि निर्वाचनको साँझसम्म ओलीले एमाले एक्लै क्विन्टल हो । पाँच दलीय गठबन्धन एक–एक केजीका ढक हुन् भनिरहेका थिए ।

निर्वाचन भनेको अरुलाई गाली गर्ने मात्र होइन । आफ्ना एजेण्डा शालिन ढंगले राख्ने पर्व हो । तर, एमाले प्रचार शैलीको सबैभन्दा निन्दनीय कुरा के भने अध्यक्ष ओलीले अरु दललाई गाली मात्र गरे । विकास र समृद्धिको कल्पित गफ दिए । आफूहरुले जितेमा नयाँ सृजना यस्तो गरेर देखाउनेछौं, यति समयभित्र यो योजनाका साथ देखलाई यस्तो अवस्थामा पुर्याउँछौ भनेर धरातलीय यथार्थको आशा देखाउन सकेनन् । आफूभित्रको अन्तर्घातको समीक्षा नगरी फेरि पनि एमालेले पाँच दलीय गठबन्धनलाई हारको कारण भनिरहेको छ । यहाँ स्मरणीय कुरा के हो भने एमालेले पनि आफ्नो अनुकूलतामा गठबन्धन गरेकै थियो, कमल थापादेखि राजेन्द्र लिङ्देन, हृदयेश त्रिपाठी हुँदै एकनाथ ढकालहरुसम्म ।

एमालेलाई हराउन गठबन्धन मात्र होइन, आफैंभित्रको अन्तर्घात काफी भयो । माधव नेपालको समूह बाहिरिएपछि गुट उपगुटविहिन एमाले बन्ने ओली समूहको तर्कलाई स्थानीय तह निर्वाचनले पूर्णतः झुट प्रमाणित गरिदिएको छ ।

नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्वसदस्य किरण देउजाका भनाइमा एमाले पाँचदेखि १० प्रतिशत स्थानमा आन्तरिक समस्या हल नगरेकाले पराजित भयो । उम्मेदवारका कारण तीनदेखि पाँच प्रतिशत जित हात पार्न सकेन । ‘उम्मेदवार गतिलो छान्न नसकेकाले, आन्तरिक समस्या व्यवस्थापन गर्न नसकेकाले अन्तर्घात भएर धेरै स्थानमा एमाले पराजित भएको छ’, देउजा भन्छन्, ‘स्थानीय तह निर्वाचनले एमालेभित्र अध्यक्ष केपी ओलीको एकछत्र राज छ भन्ने भत्काएको छ । एमाले अहिलेदेखि नै आन्तरिक समस्या हल गर्न लागि परेन भने संघ र प्रदेशको निर्वाचनमा स्थानीय तह निर्वाचनको असर झन् बढी देखिनेछ ।’

नेताहरुबीचमै बोलचाल बन्द
जानकारका अनुसार एमालेभित्र अध्यक्ष केपी ओलीको एकछत्र राज देखिए पनि उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले आफ्नो खोपीमा राखेका छन् । ओलीको विस्वास पात्र वा उनीनिकट को हुने ? भन्ने गुटिय लडाईमा संलग्न हुने क्रममा एमाले शिर्ष नेताहरुबीच बोलचाल समेत छैन ।

एमालेका एक जना स्थायी समिति सदस्यका अनुसार ओली स्यंम पूर्व उपाध्यक्ष भीमबहादुर रावल र पूर्व उपमहासचिव घनश्याम भुसालसँग औपचारिकता बाहेक बोल्दैनन् । अर्थात रावल र भुसालसँग अध्यक्ष ओलीको सम्बन्ध निकै चिसो छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ्गबीच पनि चित्त माझामाझको बोलचाल छैन । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पनि उस्तै सम्बन्ध छ । स्थानीय तह निर्वाचनमा पौडेलका सामु पोखरेल यसरी हावी भए कि त्यही कारण बुटवल उपमहानगरपालिका एमालेले २७ वर्षपछि हार व्यहोर्यो । पौडेल स्वयं वडामा नै पारजित भए ।

जानकारका अनुसार महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालबीच पनि हार्दिक सम्बन्ध छैन । रिमालले अध्यक्ष ओलीलाई आफ्नो कुरा मात्र सुन्ने गरी धेरै नै खोपीको देउता बनाए भन्ने निश्कर्षमा छन्, पोखरेल । त्यसो त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव रिमालको सम्बन्ध पनि तिक्त नै छ । उपमहासचिव रिमाल र पोलिटब्युरो सदस्य महेश बस्नेत, पोलिटब्युरो सदस्यद्धय बस्नेत र सूर्य थापाबीच पनि पानी बारबारकै सम्बन्ध छ । बस्नेतले रिमाल र थापा विरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । रिमाल र थापा पनि बस्नेतविरुद्ध उसैगरी खनिएका छन् ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी पनि एकापसमा विल्कुलै मन खोलेर बोल्दैनन् । खगराज अधिकारी–महेश बस्नेत, गोकुल बाँस्कोटा–महेश बस्नेत, कर्ण थापा–महेश बस्नेत, महेश बस्नेत–परशुराम बस्नेत, र महेश बस्नेत–मध्यपुर थिमी नगरपालिकाका निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठबीच पनि बोलचाल बन्द छ । कुनै समय कर्ण थापा, गोकुल बास्कोटा, खगराज अधिकारी, महेश बस्नेतलगायतको सम्बन्ध एकदमै हार्दिक थियो । उनीहरु प्रायशः सँगै हुन्थे । ओलीलाई शक्तिशाली बनाउने योजना बुन्थे । तर, आफैंले शक्ति आर्जन गर्ने र एकले अर्कालाई पछार्ने खेलमा तानातान हुँदा अहिले उनीहरुबीचमै बोलचाल बन्द भएको हो ।

‘यसबेला एमाले सामुहिक हित छाडेर निजी हितका पक्षमा मात्र दगुरिरहेको छ । त्यही कारण नेताहरुल् टिकट वितरणमा सामुहिक हित हेरेनन् । निजी लाभहानी मात्र हेरेर आफ्नो पहुँचले भ्याएसम्म गोजीको मान्छेलाई टिकट दिए’, एमालेका एक जना पोलिटब्युरो सदस्य भन्छन्, ‘शीर्ष नेताहरुबीच एकापसमा बोलचाल बन्द छ । त्यसैको परिणाम निर्वाचनमा ठूलो अन्तर्घात भयो ।’


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview