प्रहरीको ‘पोष्टिङ’ मा पहुँचकै प्रभाव, ‘करिअर प्लानिङ’ पनि छैन

no-image

माधव बस्‍नेत - २०८०-११-१२

‘करिअर प्लानिङ’ भद्रगोल भएकैले प्रहरीको जागिर प्रतिस्पर्धात्मक भन्दा पनि प्रतिशोधात्मक बनिरहेको छ ।

घटना एक
चक्रराज जोशी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएको पाँच महिनामै काभ्रे जिल्लाका प्रमुख भए । प्रहरीभित्र सामान्यत बढुवा भएको एक वर्षसम्म जिल्लाको प्रमुख नदिने परम्परा छ । जिल्ला हाक्ने कार्य अनुभव र परिपक्क नहुने भएकाले प्रमुख नबनाउने परम्परा बसालिएको थियो । कम्तीमा एक वर्षसम्म ‘टुवाइसी’ खटाएर अनुभवले खारिएर परिपक्क भएपछि मात्र जिल्ला इन्चार्जको जिम्मेवारीमा पठाउने लामो समयदेखिको प्रचलन हो । तर, जोशी केही महिना अघिको सरुवामा बढुवा भएको ५ महिनामै काभ्रे जिल्लाको प्रहरी प्रमुख बन्न सफल भए ।

जानकारका शब्दमा जोशी कार्य क्षमतामा अब्बल प्रहरी अधिकृत पनि होइनन् । आफ्नो ‘ब्याच’ बाट उनी तेस्रो पटकमा मात्र एसपीमा बढुवा भएका थिए । उनीसँगै बढुवा भएका कसैले पनि जिल्ला इन्चार्ज पाएका छैनन् । तर, सुदूरपश्चिम जन्मथलो भएका जोशी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाकै निर्देशनमा बढुवा भएको ५ महिनामै काभ्रे जिल्लाको प्रहरी प्रमुख भएका हुन् । जोशी जिल्ला प्रहरी प्रमुख बन्नुमा कार्य क्षमता, अनुभव, परिपक्वता होइन, आरजुको पहुँचको खेल हाबी भयो ।

घटना दुई
पैसा उठाउने धन्दामा संलग्न भएको सवुत प्रमाणसहित फेला परेपछि एसपी रामेश्वर यादव लामो समय निलम्बनमा परेका थिए । खासमा उनले निलम्बन मात्र होइन, जागिर खोसुवाकै ‘अपराध’ गरेका थिए । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनलाई पाँच वर्ष बढुवा रोक्काको नरम सजाय मात्र दिएर सुनपानी छर्किदिए ।

यादवले कतिसम्म ‘अपराध’ गरेका थिए भने सर्वसाधारणबाट त खुलेआम घुस लिन्थे नै, प्रदेश ट्राफिक कार्यालय सुर्खेतको प्रमुख हुँदा आफू मातहतकै प्रहरीसँग समेत हप्ता असुल्ने गरेको छानविनबाट प्रमाणित भएको थियो । यति मात्र होइन, प्रहरी निरीक्षक हुँदा पनि यादव लागूऔषधको मुद्दामा घुस खाएको प्रमाणित भएपछि निलम्बनमा परेका थिए । उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा छिर्न सफल पात्र हुन् ।

पहुँचको प्रभाव र दबाबले कतिसम्म घृणित ‘पोष्टिङ’ गरियो भने उनै यादवलाई ‘कमाउ जिल्ला’ मानिने सिन्धुपाल्चोक प्रहरी प्रमुख बनाएर पठाइयो । प्रधानमन्त्री पत्नी आरजुको पहुँचले प्रहरी महानिरीक्षक क्षेत्रीले यादवलाई सिन्धुपाल्चोक प्रहरी प्रमुख बनाएर पठाएपछि कर्तव्यनिष्ठ र स्वाभिमानी प्रहरी अधिकृतहरु नै आश्चर्यचकित भए । यादव र उनीजस्तै ‘घृणित’ जागिरेहरका हकमा कार्यान्वयन भएको पहुँचको दुरुपयोगले इमान्दार प्रहरीहरुको शिर झुकेको छ ।

जिल्ला प्रहरी प्रमुखहरुको ‘पोष्टिङ’ हुँदा पहुँचको दुरुपयोग कसरी हुन्छ ? यी दुई उदाहरण तथ्य बुझाउन काफी त छन् नै, प्रहरी संगठनलाई कमजोर एवं बदनाम बनाउन उत्तिकै गम्भीर र मर्मस्पर्शी छन् ।

उल्लेख भइसक्यो, पहुँच छ भने बढुवा भएको ५÷७ महिनामै जिल्ला प्रहरी प्रमुखको नेतृत्व गर्ने गरी ‘पोष्टिङ’ हुन्छ । जानकारका शब्दमा खासमा बढुवापछि ‘पोष्टिङ’ गर्दा पहिलो पटक गण, गुल्मलगायत तेस्रो वरीयता हुन स्थानमा, दोस्रो पटक ‘दुवाइसी’ का रुपमा (जहाँबाट सक्षम भएर जिल्लाको नेतृत्व गर्ने कुशलता सिकोस्), जिल्ला, महाशाखा, व्युरो, तेस्रो पटक इलाका प्रहरी कार्यालयहरु अनि चौथो पटक चुनौतीपूर्ण कार्यकौशलता देखाउने जिल्लाहरुमा प्रहरी प्रमुख बनाएर पठाउनु पर्ने हो । तर, पहुँचको अघि त्यसो गरिन्न । प्रहरी संगठनभित्र यस्तो प्रणाली एवं मापदण्ड बसाउन बिलम्ब भइसकेको छ । प्रहरी महानिरीक्षकले चाहेमा त्यो प्रणाली बसाउन सक्छन् ।

प्रहरी संगठनभित्र ‘करिअर प्लानिङ’ (वृति विकास योजना) पनि भद्रगोल छ । खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) भएको १२\१३ वर्षसम्म पनि प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन कठिन छ । जागिर सुरु गरेको कम्तीमा पनि ८ वर्षमा डिएसपी, अर्को सात वर्षमा एसपी (प्रहरी उपरीक्षक) अनि एसपी भएको ५ वर्षमा एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक हुने ‘सिष्टम’ बनाउने हो भने त्यो भन्दा माथिल्लो जिम्मेवारीका लागि उनीहरुले अनुभव र परिपक्वता हासिल गर्न सक्छन् । तर, बिडम्वना के भने जागिर सुरु गरेको २८ वर्षसम्म एसएसपीमै खुम्चिरहेका छन् ।

जस्तो कि धीरजप्रताप सिंह पछिको आईजीपी (प्रहरी महानिरीक्षक) ५ चैत्र ०५१ को ‘व्याच’ बाट हुन्छन् । उनीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, बसन्त कुँवर, मीरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह, वुद्धिराज गुरुङ, कोषराज पोखरेल, जनक भट्टराई, केदार ढकाल, सुदीप गिरी, रविन्द्र केसी, किरण राणा, अर्जुन चन्द ठकुरीलगायत हुन् । जसमध्ये भण्डारी, राई, जोशी, ज्ञवाली, जोशी र थापाबीच प्रतिस्पर्धा हुने अनुमान गरिन्छ । बिडम्बना के भने जागिर सुरु गरेको २८ वर्षसम्म उनीहरु सबै एसएसपी नै छन् । थाहा भएकै कुरा हो, प्रहरीको सेवा अवधि ३० वर्ष छ ।

तसर्थ अबको दुई वर्षभित्र उनीहरु डिआईजी, एआईजी, आईजीपी सबै भइसक्नु पर्नेछ । तर, उनीहरुले खास–खास नीति निमार्ण तहमा रहेर काम गर्न पाएकै छैनन् । उनीहरु अलि वर्ष पहिले नै डिआईजी, एआईजी भएका हुन्थे भने उच्च तहको नीति, निमार्णको अनुभव लिन पाउँथे । परिपक्क हुन्थे । ‘करिअर प्लानिङ’ नभएकैले उनीहरु २८ वर्षसम्म एसएसपीमै खुम्चिरहेका छन् । करिअर प्लानिङ भद्रगोल भएकैले प्रहरीको जागिर प्रतिस्पर्धात्मक भन्दा पनि प्रतिशोधात्मक बनिरहेको छ । उच्च तहका अधिकारीहरु प्रहरी संगठन बलियो बनाउन भन्दा आफू बलियो बन्न लागिरहेका छन् । बढुवाका लागि ‘माइन्ड’ को भन्दा ‘मनी’ को प्रयोग भइरहेको छ ।

नेपाल प्रहरीमा कार्य सम्पादन मूल्यांकन (कासमू) को समेत वैज्ञानिक र विधिसम्मत प्रणाली (सिष्टम), पद्दती बसाउन जरुरी छ । अहिले बढुवा समितिले ७.५ र महानिरीक्षकले ५ नम्वर दिने प्रणाली छ । अर्थात बढुवा समिति र महानिरीक्षकबाट मात्र १२.५ नम्वर पाइन्छ । कार्य क्षेत्रमा जति सुकै कार्य दक्षता, कार्य कुशलता देखाए पनि बढुवा समिति र महानिरीक्षकलाई खुशी बनाउन नसके १२.५ नम्वर प्राप्त हुँदैन । जसका कारण बढुवा समिति र महानिरीक्षकलाई खुशी बनाउनु पर्ने बाध्यता छ । बढुवा समिति र महानिरीक्षकले चाहँदा अरुको केही चल्दैन । बढुवा समिति र प्रहरी महानिरीक्षकको मनोमानी रोक्न कासमूको प्रणाली परिमार्जन जरुरी देखिन्छ ।

नेपाल प्रहरीका एक जना अवकास प्राप्त अतिरिक्त महानिरीक्षक भन्छन्, ‘नेपाल प्रहरीमा पोष्टिङ र करिअर प्लानिङलाई व्यवस्थित सिष्टम (प्रणाली) मा नलैजाने हो भने अस्वस्थ्य प्रतिस्पर्धा अझ् बढ्दै जानेछ । प्रहरी संगठन राजनीतिक गोटी बनेर झन् झन् भुत्तै बन्दै जान्छ ।’ यसबारेमा इमान्दार प्रहरी अधिकृत र प्रहरी महानिरीक्षक गम्भीर बन्लान् ?

 


not-found

माधव बस्‍नेत

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औंँला चलाउँछन् ।

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview