पूर्ण अशक्त अपाङ्गता भएका भण्डारीको धर्नाप्रति लोकतान्त्रिक अपाङ्ग सङ्घको ऐक्यबद्धता

no-image

नेपाल मुहार - २०८०-१२-१३

काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृसंस्था ‘राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ' ले काठमाडौंको रत्नपार्क, शान्ति बाटिकामा हप्ता दिनदेखि पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता जनाएको छ ।सङ्घका अध्यक्ष प्रकाश पन्थले मंगलबार एक विज्ञप्ति जारी गर्दै  धर्नाप्रति ऐक्यबद्धता जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ- 'पटक पटकका आन्दोलन र अभियानको सफलतासँगै संविधान सभाबाट संविधान जारी भएको झन्डै एक दशक बितिसक्दा पनि संवैधानिक तथा कानुनी हक र अधिकार प्राप्तिका लागि अझै पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनु लोकतान्त्रिक तथा लोककल्याणकारी राज्यका लागि लज्जाको विषय हो । संविधानतः आर्थिक, सामाजिक, शारीरिक रूपमा कमजोर र जोखिमको अवस्थामा रहेका नागरिकहरूको विशेष व्यवस्थासहित संरक्षण गर्नु राज्यको दायित्व हो ।'  

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा नियमावली २०७७, नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासिन्ध, २००६ मा व्यवस्था भएका प्रावधानहरू लागू गरियोस् भन्दै विभिन्न निकायमा पटक पटक आन्दोलन गर्दा समेत माग पूरा हुन नसक्नु गैरजिम्मेवारी, विडम्बनापूर्ण र मानवअधिकारको गम्भीर उल्लङ्घन समेत भएको सङ्घले उल्लेख गरको छ  ।

विज्ञप्तिमा भनिएको छ- 'अनिश्चितकालीन धर्नामा बस्नुभएका दीपक भण्डारीलगायत अपाङ्गता भएका व्यक्तिहरूले उठाएका मागहरूप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त मागहरू छिटोभन्दा छिटो सम्बोधन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ । विभिन्न राजनीतिक दल र तिनका भ्रातृसंस्था र जनप्रतिनिधि, सरोकारवाला, सङ्घसंस्था, अधिकारकर्मी, अभियन्ता, नागरिक समाज, पत्रकारलगायत सबैमा उक्त सवालमा साथ, सहयोग र समर्थनका लागि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ हार्दिक अपिल समेत गर्दछ ।'


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview