किन रविलाई ‘टार्गेट’ गर्दैछ, कांग्रेस ? (३ कारण सहित)

no-image

दिवस गुरागाईं - २०८०-१२-२५

 टिप्पणी । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट ‘आउट’ भएपछि कांग्रेसले हतारहतार बैठक बसेर प्रधानमन्त्री प्रचण्डलाई  ‘राजनीतिक बेइमान’को संज्ञा दियो । माओवादीसँग आगामी दिनमा सहकार्य नगर्ने समेत निश्कर्ष निकाल्यो कांग्रेस बैठकले । २४ घण्टा भित्र नयाँ सरकार बन्ने वातावरण भत्काईदिने अभियान अन्तरगत कांग्रेस नेताहरु एकढिक्का भएर सक्रिय पनि भए । 

सरकारबाट एक्कासी आउट हुँदा कांग्रेस छाँगाबाट खसेजस्तो हुनुको केही कारण छन् । जस्तो, आलोपालोमा प्राप्त हुने गठबन्धन सरकारको नेतृत्व गुम्नु, कम्युनिष्टहरुको धु्रवीकरण हुने संभावना बढ्नु, भ्रष्टाचारका पुराना काण्डमा आफ्ना प्रभावशाली नेता फस्छन् भन्ने भय हुनु लगायतका कारण कांग्रेस बढी नै आत्तिएको छ । यिनै कारण कांग्रेसका ठूला नेताहरु नै आक्रामक रुपमा प्रस्तुत भइरहेको आम बुझाई छ । 

सरकारबाट निवर्तमान भएका अर्थमन्त्री लगायत नेताहरु सञ्चारमाध्यम मार्फत प्रधानमन्त्रीमाथि खनिए । संसदमा प्रमुख सचेतक र सचेतकहरु अस्वभाविक रुपमा  आक्रामक बने । अरु त अरु महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा समेत न्वारानदेखिको बल लगाएर विरुद्धमा प्रस्तुत हुन थाले । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेतिर सोझियो, कांग्रेस ।  

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानमिन समितिको माग गरिरहेको कांग्रेसले संसद अवरुद्ध गरिरहेको छ । गृहमन्त्री लामिछानेलाई संसदमा जवाफ दिनबाट समेत रोकिरहेको कांग्रेसले यस आन्दोलनको ‘सेफल्यान्डिङ’ कसरी गर्ने हो ? यो हेर्न भने पर्खिनै पर्ला । तर, गृहमन्त्रीमाथि निरन्तर रुपमा सिंगो कांग्रेस आक्रामक बन्नुको कारण चाहिँ के हो ? आजको विषय यसैमा केन्द्रीत हुनेछ ।


कारण नं ३.
प्रमुख प्रतिपक्षी दलको धर्म
– संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रचण्ड सरकारबाट आउट भएपछि प्रमुख प्रतिपक्षी दल बनेको छ । प्रतिपक्षमा बसेपछि सरकारको विरोध गर्नु नै आफ्नो धर्म भएको कुरालाई कांग्रेसले आत्मसाथ गरेको छ । 

कारण नं २.
आफ्ना नेता जोगाउने खेल
– संसदमा उठाउन लायक तमाम राष्ट्रि«य एजेन्डाहरु हुँदा हुँदै एक सुत्रिय एजेन्डा (गृहमन्त्री आउट)मा कांग्रेस किन दिलो ज्यान दिएर लागिरहेको छ त ? यसको जवाफ ‘ओपन सेक्रेट’ जस्तै छ । कांग्रेस आफ्ना संभावित भ्रष्ट नेता जोगाउने प्रपञ्चमा रहेको छ । त्यसमा पनि खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा पक्राउ पर्ने भयमा गृहमन्त्री फेर्ने अभियानमा कांग्रेस लागेको आम तर्क छ । ‘स्टन्टमा विश्वास गर्ने गृहमन्त्रीले ठूलो माछो पक्राउ गर्ने लालसामा स्वाट्टै उहाँ (आरजु)लाई पक्राउ गर्न सक्छन्’– एक कांग्रेस नेता सुनाउँछन् । 

कारण नं १.
रास्वपालाई बेलैमा निमोठ्ने दाउ
– नयाँ दल रास्वपालाई कतिपय कांग्रेसी विश्लेषकले सौताको रुपमा देख्न थालेका छन् । कांग्रेस नेताहरुले समेत आगामी निर्वाचनमा रास्वपा पार्टीको तगारो बन्न सक्ने लख काटिसकेका छन् । रास्वपा जति जति मोटाउँछ, उती उती कांग्रेस दुब्लाउने कुरा बुझेर मुल नेतृत्व उसको टाउको निमोठ्ने अभियानमा लागेको बुझ्न धेरै कठिन छैन । रास्वपाको पर्याय बनेका गृहमन्त्री रवि लामिछाने यही कारण कांग्रेसको ‘टार्गेट’मा परेका हुन् भनेर बुझ्दा गलत हुँदैन ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने कानुनी र नैतिक दुवै हिसावमा फसेका छन् । तर, सत्तारुढ गठबन्धन यो तथ्य मान्न तयार छैन । आम जनता समेत लामिछानेलाई कांग्रेसले अनावश्यक रुपमा खेदेकोमा रुष्ट देखिन्छन् । प्रधानमन्त्रीको अफर गरुन्जेल रवि लामिछाने ठीक  । तर अर्को गठबन्धनमा गृहमन्त्री बनेपछि भ्रष्ट ? यो आम प्रश्नले कांग्रेसलाई राजनीतिक क्षती भईरहेको पनि सहजै अड्कल काट्न सकिन्छ ।    

संसदमा प्रमुख प्रतिपक्षले उठाउन लायक विषय असरल्ल छन् । यतिहुँदा हुँदैपनि एउटै एजेन्डा (गृहमन्त्रीको बर्खास्ती)मा संसद अवरोध गरिरहँदाको परिणाम कस्तो आउला ? सँगसँगै लोकप्रिय नेता (रवि लामिछाने) माथिको धावा कांग्रेसलाई कति महंगो पर्ला ? यसको जवाफ पनि आउँदा निर्वाचनको परिणाले दिँदै जाने छ । १५ बैशाखमा हुने इलाम २ को उपनिर्वाचनले पनि केही न केही संकेत गर्ने नै छ ।
 


दिवस गुरागाईं

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview