‘सम्धी’ रोशन कोइरालाको बुधबार क्वालालम्पुर उड्ने तालिका रद्द, उनको ठाउँमा पालो पर्खिरहेका पाइलट प्रचण्ड श्रेष्ठ जाने
नेपाल वायुसेवा निगमका अपरेसन विभागका निर्देशक क्याप्टेन सुवास रिजालको आफ्ना सम्धी रोशन कोइरालालाई चलखेल गरी तालिममा विदेश पठाउने प्रयास असफल भएको छ । उनको ठाउँमा स्वाभाविक रूपमा पालो पर्खिरहेका प्रचण्ड श्रेष्ठ जाने भएका छन् । साथै, कोपाइलटका रूपमा रविन केसी जानेछन् ।
कोइरालालाई एयरबस ३२० तालिमका लागि बुधबार पठाउने तयारी थियो । रिजालले पालो कुरिरहेका १९ पाइलटलाई ‘होल्ड’ गरेर आफ्ना सम्धी कोइरालालाई वैदेशिक तालिममा पठाउन चलखेल गरेको खुलेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो देखाएको थियो । सोही आधारमा निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले रिजालसँग सोधपुछ गरेका थिए । उनको तालिम विवादमा पर्ने देखिएपछि रोक्ने निर्णयमा निगम पुगेको एक अधिकारीले जानकारी दिए ।
करारका जागिरे कोइराललाई ५८ वर्षको उमेरहद पार गरिसकेपछि निर्देशक रिजालकै भाइ अपरेसन विभागकै तत्कालीन निर्देशक क्याप्टेन श्रवण रिजालले नियुक्ति दिएका थिए । तर, नियुक्तिपछि ५० लाख धरौटी बुझाउनुपर्ने अवस्थामा सम्पर्कमा नआई विदेश गएका थिए । पछि उनी फर्किएर पुनः प्रक्रिया अघि बढाइएको थियो ।
अहिले आफैँ उक्त विभागमा निर्देशकको भूमिकामा रहेका रिजालले ‘क्रु ट्रेनिङ’ डिभिजनलाई इमेल पठाएर ए–३२० ‘इनिसियल ए२’का उम्मेदवारहरूको लिखित परीक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए । उक्त परीक्षा गत १७ फेब्रुअरीको दिउँसो दुई बजे निगमको केन्द्रीय कार्यालयमा राखिएको थियो । तर, प्रश्नपत्र भने अपरेसन डाइरेक्टरको कार्यालयबाटै उपलब्ध गराइने इमेलमा उल्लेख थियो ।
नयाँ पत्रिका
✏️ टिप्पणी लेख्नुहोस्