शिक्षामन्त्री महावीर पुनले परीक्षाको नतिजा तीन महिनाभित्र निकाल्न विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन्। उनले तीन महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक नगरे विश्वविद्यालयको अनुदान रोक्का गर्ने चेतावनी दिएका हुन्।
यस्तै, सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप गर्न पनि उनले निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयको हाताभित्र ठूला रुखहरू नकाटि बगैंचासहितको फुटपाथ बनाउने योजना पनि उनले अघि सारेका छन् । उनले आज मन्त्रालयमा दिएका तीन निर्देशनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
शिक्षामन्त्री पुनको फेसबुक पोस्टः
मन्त्रालयमा आज उठेका र काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्…
१. नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने।
२. केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिदिने। राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।
३. त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर ९ठूला रुखहरु नकाट्ने० सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।
✏️ टिप्पणी लेख्नुहोस्