बागमती प्रदेश सरकारमा आबद्ध नेपाली कांग्रेसका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।

कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले स्वीकार गरेका छन् । आफूहरले ह्वाट्स एपबाट राजीनामा पठाएको उनले बताए । बागमती प्रदेशमा कांग्रेस संसदीय दल नेता बहादुर सिं लामा मुख्यमन्त्री छन्। मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका थिए ।

राजीनामा दिएका मन्त्री मर्हजनका अनुसार बागमती प्रदेशमा कांग्रेसले सांसद ईन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार बनाउन खोजेको छ। बानियाँ कांग्रेस बागमती प्रदेश सभापति समेत हुन्। तर, संसदीय दलको नेताको प्रतिस्पर्धामा उनी लामासँग पराजित भएका थिए ।

‘मुख्यमन्त्रीले आधा(आधा कार्यकालको पूर्वसहमति पालना नगरेकाले अविस्वास प्रस्तावबाट हटाउन आफूहरुले राजीनामा दिएको मर्हजनले बताए । बागमतीमा संसदीय दल नेता पनि परिवर्तन गरिने महर्जनको भनाइ छ। २०७९ पुस १३ गते भएको संसदीय दल नेता निर्वाचनमा ईन्द्र बानियाँलाई ५ मतान्तरले हराउँदै लामा संसदीय दल नेता निर्वाचित भएका थिए। बानियाँले १६ मत ल्याएका थिए भने लामाले २१ मत ल्याएका थिए। बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन्।