नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार साँझ राजीनामा बुझाएका हुन्।
ुसभापतिज्यूले राजीनामा पत्र उपसभापतिज्यूलाई बुझाउनुभएको छ। केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान भएको छ, त्यही उक्त राजीनामाबारे छलफल हुन्छ,ु कांग्रेसका एक पदाधिकारीको भनाइ छ ।
सभापति थापाले राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छैन। भोलि शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए। सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए। विशेष महाधिवेशन गरेको छोटो समयमा नै कांग्रेस चुनावमा भाग लिएको थियो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई लिएर देउवा पक्ष सर्वोच्च अदालत गएको छ र मुद्दा विचाराधिन छ। चुनावमा अधिकांश उम्मेदवारहरू पराजित भएपछि सभापति थापाको आलोचना हुँदै राजीनामा माग भइरहेको थियो।
यस अघि नै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा सँगको भेटमा राजीनामा दिने बताएका थिए। तर, शर्माले राजीनामा नदिन सुझाएका थिए ।
✏️ टिप्पणी लेख्नुहोस्