केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैर कानूनी रुपमा हटाएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालत गुहारेका छन् । आज बधबार अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेल सर्वोच्चमा रिट दायर गर्न पुगेका हुन्।

सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिट दर्ता हुन बाँकी छ। ‘रिट आएको छ । दर्ता भइसकेको छैन। आज अपराह्न ५ बजेतिर मात्रै आउनुभएकोले ढिला भयो। यसमा भोलि हेरिनेछ,’ कुईँकेलको भनाइ छ ।

घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रिट दायर गर्न लागेका हुन्। उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाएका छन्।

अस्ति सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यही मन्त्रिपरिषद्ले प्राधिकरणकै पूर्वकर्मचारी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।