राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित तीन सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की, उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ र पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद पन्तविरुद्ध हिजो रिट दर्ता गरिएको हो।

कार्कीविरुद्ध उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार प्रदिपकुमार कटुवाल र तामाङविरुद्ध उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीले रिट दायर गरेका हुन् । कटुवाल, रायमाझीको वारेसमा युवराज पौडेल सफलले रिट दायर गरेका हुन् ।

यता पन्तविरुद्ध पनि उनी निर्वाचित क्षेत्रका एमाले उम्मेदवार प्रदिप यादवले सुरेन्द्र चौधरीलाई (वारेस) दिएर रिट दर्ता गरेका छन् । यी तिनै जनाकोे रिट दर्ता भइसकेको र चैत २५ गते पेशी तोकिएको सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेले बताएका छन् ।

प्रतिवादी तीन जना नै कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र निर्वाचन आयोगलाई भ्रममा राखेर उम्मेदवार बनेको निवेदनमा दाबी गरिएको छ । कार्की, तामाङ र पन्तलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने र निकटतम प्रतिस्पर्धीलाई विजयी घोषणा गर्नुपर्ने माग निवेदनमा उल्लेख छ ।

यस अघि रास्वपाकै धुनषा १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । उनी सर्वोच्च गए पनि परमादेश पाएनन् ।