नेकपा (एमाले) को सचिवालय बैठकआज दिउँसो एक बजे बस्दैछ । बैठकले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल) माथि हिजो संसदको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै बोलेको बोलिमाथि प्रश्न उठाउने र चेतावनी दिने तयारी भइरहेको बुझिएको छ । सचिवालयका एक जना सदस्यका अनुसार थापालाई आफूलाई जे मन लाग्यो त्यही नबोल्न सचेत गराइने छ ।

ती सचिवालय सदस्य भन्छन्, ‘बादलजीले हिजो संसदमा पार्टीको मूल्य मान्यता भन्दा विपरीत बोलेका छन् । आजको सचिवालय बैठकमा उनलाई संसदीय प्रक्रियाबारे सिकाइने छ र आइन्दा त्यसो नगर्न सचेत गराइने छ ।’

एमालेका अर्का एक नेताका अनुसार बादलको थाप्लोमा जथाभावी बोलेको आरोप लगाइएको भए पनि सरकारको पक्राउपछि अस्पतालमा रहेका केपी ओली र महासचिव शंकर पोखरेलको चाहना एवम् निर्देशनमै उनले बोलेका हुन् । यद्यपि उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेलगायतले बादलको अभिव्यक्तिप्रति सार्वजनिक रुपमै आलोचना गरिसकेका छन् ।

बादलले हिजो १९ चैतको संसद बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम प्रधानमन्त्री सुशीला कार्की, सेना, अल्गोरिदम, बारबरा फाउण्डेसन आदिको षड्यन्त्रमूलक मिलेमतोमा आएको अभिव्यक्ति दिएका थिए । उनले एमालेले लिँदै आएको शासकीय अडान विपरीत नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई गम्भीर आरोप लगाएका थिए । बादलको अभिव्यक्तिले एमालेभित्र भूकम्प गएको छ ।