संसदीय सुनुवाइ समितिबाट २३ असार (आजै) नाम अनुमोदन भएका सर्वोच्च अदालतमा तीनजना न्यायाधीशलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन्। न्याय परिषदको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सोमबार राष्ट्रपति पौडेलले न्यायाधीश नियुक्त गरेका हुन्।
न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका मुख्य न्यायाधीशहरु श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको थियो।
पोखरेलले सवोच्चको न्यायाधीशका रुपमा सात वर्ष काम गर्न पाउनेछन्। सर्वोच्चमा ६५ वर्षसम्म काम गर्न पाउने संवैधानिक व्यवस्था छ। पोखरेल वाणिज्य कानुनका जानकार मानिन्छन्।
२०२३ सालको जन्ममितिका पौडेलले सर्वोच्चमा ६ वर्ष न्यायाधीशका रुपमा काम गर्नेछन्। उनी २०५० सालमा न्याय सेवामा शाखा अधिकृतबाट प्रवेश गरेका थिए। सर्वोच्चको रजिष्ट्रार हुँदै उनी उच्च अदालतको न्यायाधीश भएका हुन्।
२०२२ साल जन्ममिति भएकी थापाले पाँच वर्ष सर्वोच्चको न्यायाधीश हुनेछिन्। उनी २०७० सालमा उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिइन्।
यस्तै सुनुवाइ समितिले न्याय परिषद सदस्यमा प्रधानमन्त्रीका तर्फबाट सिफारिस भएका महेश नेपालको नाम पनि समितिले अनुमोदन गरेपछि उनी पनि नियुक्त भएका छन्। समितिले एक साता अघि नै सुनुवाइ गरे पनि निर्णय भने बाँकी राखेको थियो।
तीनजना नियुक्त भएसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ। अझै एक पद रिक्त छ।

✏️ टिप्पणी लेख्नुहोस्