नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपा आज बालेनलाई दलको नेता चयन गर्दै शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गराउने गृहकार्यमा, मन्त्रालय संख्या अधिकतम १५ बनाएर विज्ञता र कार्यक्षमताका आधारमा
मन्त्री चयनको तयारी
रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई आज बिहीबार संसदीय दलको नेता चयन गर्ने र भोलि शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी थालेको छ । प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले आज अपरान्ह नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ ।
अन्य सदस्यले जस्तै बालेनले आज बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचन लडेको थियो ।
केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको छ । त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाउने तयारी छ । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ ९१० अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार बिहानसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै दलको नेता र मन्त्रीहरूको टुंगो लाग्ने बताए । मन्त्री चयन भने विज्ञता र कार्यक्षमताका आधारमा गरिने रास्वपाले जनाएको छ । ‘केन्द्रीय समिति बसेर संसदीय दलको नेता चयनका लागि बाधा अड्काउ फुकाउँदै अख्तियारी प्रदान गर्छ । लगत्तै, संसदीय दलको बैठक बसेर दलको नेता चयन गर्छ । साथसाथै, मन्त्रीहरू पनि टुंगिन्छन्,’ उनले भने ।
वरिष्ठ नेता शाहनिकट सांसद सस्मित पोखरेलले पनि केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिम अन्तिम हुने बताए । उनका अनुसार मन्त्रालयहरूको पुनर्संरचना, मर्जर र संख्या घटाउने विषयमा छलफल जारी छ । ‘कुन मन्त्रालय आवश्यक छ, कसरी प्रभावकारी बनाउने र कुन व्यक्ति कहाँ उपयुक्त हुन्छ भन्ने आधारमा निर्णय गरिनेछ,’ उनले भने, ‘सभापति र वरिष्ठ नेताबिच निरन्तर छलफल भइरहेकै छ । अहिलेसम्म कसैको पनि टुंगो लागेको छैन । केन्द्रीय समिति बैठकले टुंग्याउँछ ।’
यस्तो छ सांसदहरूको शपथ तयारी
२१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथ गराइने कार्यसूची छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनेछन् । ४७ सांसदले आफ्नो मातृभाषामा शपथ लिँदै छन् ।
संसद् सचिवालयका अनुसार हलमा २९५ सिटको व्यवस्था गरिएको छ भने दर्शकका लागि बाहिर प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारणको प्रबन्ध मिलाइएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले शपथका लागि सम्पूर्ण प्रबन्ध गरिएको बताए । संसद् भवनमा ठाउँ नभएकाले सांसदहरूलाई साथमा एकजना मात्र ल्याउन अनुरोध गरिएको छ । सोहीअनुसार पास वितरण गरिएको छ ।
ज्येष्ठ सदस्य केसीले सम्हाले कार्यभार
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभाध्यक्षको हैसियतमा कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्नुअघि केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए । सभामुख निर्वाचित नभएसम्म नवनिर्वाचित सांसदहरूलाई शपथदेखि बैठक सञ्चालनसम्म ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।केसीले सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभा बैठक चलाउनेछन् ।
संसद् अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले १६ चैतमा अधिवेशन बोलाउने तयारी गरेको छ । यसो हुँदा केसीले चैत मसान्तसम्म ज्येष्ठ सदस्यको नाताले प्रतिनिधिसभाको अध्यक्षको रूपमा काम गर्नेछन् । पद बहालीपछि केसीले निष्पक्षता, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्यसम्पादनमा आफू प्रतिबद्ध रहेको बताए । उनले संविधान, संसद्को नियमावली र स्थापित संसदीय अभ्यासका आधारमा निर्णय लिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक सांसदको विशेषाधिकारको रक्षा गर्ने बताए ।
प्रधानमन्त्रीको शपथ १२.३४ बजे, २.१५ मा सिंहदरबारमा पद बहाली
नयाँ सरकारका प्रधानमन्त्रीको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा हुने भएको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १३ चैत दिउँसो १२.३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई शपथग्रहण गराउनेछन् । शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने महामन्त्री बुर्लाकोटीले बताए ।
उनका अनुसार प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । पहिलोपटकमै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ । मन्त्रालय संख्या अधिकतम १५ बनाउने गृहकार्य छ । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।
कमलराज भट्ट/नयाँपत्रिका
✏️ टिप्पणी लेख्नुहोस्