पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (चैत २२) सुनुवाइ हुँदै छ ।

अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षी (सरकार) बाट लिखित जवाफ आइसकेको बताइएको छ । गत भदौ २३ र २४ मा भएको ुजेनजीु आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवैजनालाई पक्राउ गरेको थियो ।

पक्राउपछि नेकपा (एमाले)का अध्यक्ष ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै गएको चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । नेपाली कांग्रेसका नेता लेखकलाई पनि थुनामुक्त गर्न मागसहित उनकी पत्नी यशोदाले पनि त्यही दिन सर्वोच्चमा रिट दायर गरेकी थिइन ।