३६ करोडको पेट स्क्यान मेसिन अलपत्र -१

no-image

नेपाल मुहार - २०८०-११-१२

भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा मात्र नेपालबाट मासिक १५ देखि २० करोड ‘रेमिटेन्स’ जाँदै

झापाको विर्तामोडमा एउटा भव्य सात तले भवन छ । उक्त भवनको छतमा हेलिप्याड समेत छ । यो भवनभित्र छिरिरहदा कुनै तारे होटलमा छिरिरहेजस्तो भान हुन्छ । तर, यो कुनै तारे होटल भने होइन । यो भवन हो, बी. एण्ड सी. अस्पताल परिसरभित्र रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल । जो क्यान्सर रोगका लागि नेपालकै आधुनिक अस्पताल हो ।

काठमाडौंबाट करिव ४० मिनेटको उडानमा झापाको भद्रपुर विमानस्थलमा उत्रिए लगत्तै ‘टर्मिनल’ भवनको भित्तामा ठूलो ‘होडिङ बोर्ड’ मा ‘पूर्वाञ्चल क्यान्सर अस्पताल, दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल’ लेखिएको देखिन्छ । भद्रपुरबाट १८ किलोमिटर यात्रा गरेपछि पुगिन्छ, विमानस्थलको होडिङ बोर्डमा लेखिएको उक्त अस्पताल । र, भेटिन्छ– होटल शैलीमा बनाएको भव्य संरचना ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्रकुमार यादवका भनाइमा त्यहाँ भित्र्याइएको मेसिन सन् २०१९/२० मा निर्मित सिमेन्स कम्पनीको सबैभन्दा आधुनिक किसिमको पेट सिटी स्क्यान हो । सिमेन्स जर्मनीको ‘वन् अफ द वेस्ट’ कम्पनी भएको उनी बताउँछन् । डा. यादवकै शब्दमा पूर्वाञ्चल क्यान्सर अस्पताललाई दक्षिण पूर्वी एसियाकै नमूना/उत्कृष्ट अस्पताल किन भनिएको हो भने क्यान्सर रोग पत्ता लगाउन र उपचार गर्न यस अस्पतालमा जत्तिको आधुनिक सेटअप यस भेगका अरु अस्पतालमा छैनन् ।

‘बंगलादेश, भुटानमा यस्तो सेटअप छैन । पाकिस्तानमा पनि मुस्किलले एक/दुई वटा सेटअप मात्र छन् । भारतको कुरा गर्दा त्यहाँ पनि यत्तिको आधुनिक सेटअप छैन । भारतको टाटा अस्पताल, राजीव गान्धी क्यान्सर अस्पताल र मेदान्तले यस्तो आधुनिक उपकरण भर्खर ल्याउने तयारी गर्दैछन्’, डा. यादवको कथन छ, ‘यो पेट सिटी नेपालमा वन् अफ द वेस्ट सेटअप हो । त्यसैले हामीले यसलाई दक्षिण पूर्वी एसियाकै नमूना भएकाले उत्कृष्ट पेट सिटी भनेका हौं । नेपाल जत्तिको गरिब देशमा यस्तो सेटअप हुनु भनेको नौलो कुरा हो । यो उपकरणका लागि करिब ३६ करोड लगानी भएको छ ।’

पूर्वाञ्चल क्यान्सर अस्पतालका सिनियर कन्सल्ट्यान्ट डा. उमेश शर्मा, जो काठमाडौं विश्वविद्यालयलाई उत्कृष्ट बनाई दिने पूर्व उपकुलपति डा. सुरेशराज शर्माका भाइ हुन्, का अनुसार एउटा क्यान्सर अस्पतालमा हुनुपर्ने सबै आधुनिक प्रविधिहरु छन्, यस अस्पतालमा । ‘यहाँ डाइग्नोष्टिक (निदान) देखि थेरापिडिक्ट (चिकित्सकीय) सम्म सबै सुविधा छ । डाक्टरको टिम पनि सबै विभागमा छन् । इक्वीपमेन्ट (उपकरण) मा कुनै किसिमको कम्प्रोमाइज (सम्झौता) गरिएको छैन’, डा. शर्मा भन्छन्, ‘क्यान्सर अस्पतालमा हुनुपर्ने रेडियसन थेरापीको आधुनिक मेसिन, पेट स्क्यान, पेट सिटीको आधुनिक मेसिन, एमआरआइ, सिटी स्क्यान, युनोस्कोपी, आइसियू सेटअप, कार्डियोलोजीलगायत हरेक उपकरण आधुनिक छन् । यस अस्पताललाई एउटा सानो क्लिनिक जस्तो बनाएको होइन । कम्प्रिहेन्सिभ (व्यापक) क्यान्सर अस्पताल हो यो ।’

डा. यादव थप्छन्, ‘मेसिन ल्याए लगत्तै सञ्चालन अनुमति पाएको भए सायद ५०–६० हजारमा पेट सिटी गथ्र्यौ कि ! काठमाडौंमा पुरानो मेसिनमा ७० हजारमा पेट सिटी गर्छन । हामी आधुनिक मेसिनमा ५०–६० हजारमै गर्ने योजनामा थियौं/छौं ।’ उनका अनुसार पूर्वाञ्चल क्यान्सर अस्पतालमा १८ जना विशेषज्ञ डाक्टर छन् । भारतबाट न्यूक्लिएर मेडिसिन (आणविक चिकित्सा) पढेर आएका डाक्टरसमेत छन्, त्यहाँ । उनीहरु बिहानदेखि बेलुकीसम्मै पूर्णकालीनरुपमा डेडिकेटेड (सर्मपित) भएर त्यही अस्पतालमा मात्र काम गर्छन ।

डा. यादवका शब्दमा स्वास्थ्य मन्त्रालयले पेट सिटी गर्न भारत जान एक जना बिरामी र एक जना सहयोगीसमेत दुई जनालाई टिकटका लागि ४० हजार रुपैयाँ नगद सहयोग र अनुमतिपत्र दिन्छ । पेट स्क्यान र सिटीका लागि भारत जान दैनिक १०/१५ जनाले मन्त्रालयबाट यस्तो सहयोग र अनुमति लिने गरेको डा. यादव बताउँछन् । बिडम्वना ! पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेका उपकरणको सञ्चालनमा भने बन्देज लगाइएको छ ।

अनुमति पाए मुलुकभित्रै रोकिन्छ पैसा
निर्देशक डा. यादवका अनुसार भारतमा गएर एउटा पेट सिटी गर्न न्यूनतम एक लाख रुपैयाँ खर्च हुन्छ । पेट सिटी गर्न भारतका अस्पतालहरुले ३० देखि ५० हजार भारु लिन्छन् । अनि आउ/जाउ, त्यहाँको बसोबास, खानपिनमा छुट्टै खर्च गर्नुपर्छ । काठमाडौं–दिल्ली प्लेन भाडा कम्तीमा २० हजार छ । त्यो पनि समयमा उडान हुँदैन । उडान ‘डिले’ भएमा त्यसको पीडा छुट्टै छ । काठमाडौं–दिल्ली आउ/जाउ न्यूनतम तीन दिन लाग्छ । आधुनिक सुविधा नेपाल भित्रै हुँदा विहान आएर पेट सिटी गराएर बेलुका घर फर्कन सकिन्छ । काठमाडौबाट भद्रपुरको हवाई भाडा ५ हजार बढी छैन । गाडीमा समेत रात्री यात्रा गरेर बिहान–दिउँसो पेट स्क्यान/सिटी गराएर त्यही दिन फर्कन सकिन्छ ।

भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा मात्र नेपालको दैनिक १ करोड रुपैयाँ ‘रेमिटेन्स’ गइरहेको डा. यादव दाबी गर्छन । ‘मैले भारतमा एमबिविएस पढ्दै गर्दा सन् २०१२ मा आफ्नै काकाको क्यान्सरको उपचार गराएको थिए । त्यसबेला म क्यान्सरको डाक्टर र विशेषज्ञ थिइन’, यादवको कथन छ, ‘तर पनि मलाई जानकारी छ, राजीव गान्धी क्यान्सर अस्पतालमा मात्र एक महिनामा करिब १५ देखि २० करोडको इन्डियन करेन्सीको रेमिटेन्स जान्छ, नेपालबाट । मलाई लाग्छ, मेदान्त, टाटामा पनि नेपालबाट क्यान्सरका बिरामी उत्तिकै ठोकिन्छन् ।’ उनी थप कहन्छन्, ‘नेपालमै क्यान्सरको उपचार गर्ने आधुनिक अस्पताल र उपकरण हुँदा त्यो पैसा यहीँ रोक्न सकिन्छ । हामीले पूर्वाञ्चल क्यान्सर अस्पतालमा त्यही प्रयत्न गरेको हो । तर, बिचौलियाहरुको मिलोमतोमा सञ्चालन अनुमति रोकिराखिएको छ ।’

राष्ट्र प्रमुखकै चेकजाँचमा भएन उपकरण
असार ०७० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको पेटमा ‘कालो दाग’ देखियो । डाक्टरहरुले यादवलाई पेटमा क्यान्सर भएको आशंका गरे । यादवको पेटमा क्यान्सर भए/नभएको पत्ता लगाउने ‘पेट स्क्यान’ मेसिन नेपालमा थिएन । तसर्थ राज्य कोषबाट ६० लाख रुपैयाँ निकासा गरेर राष्ट्रपति यादव उपचारका लागि जापान गए । । जापानको टोकियो विश्वविद्यालयस्थित शिक्षण अस्पतालमा पेट स्क्यान गरेपछि क्यान्सर नभएको पुष्टि भयो ।

तत्कालीन राष्ट्रपति यादव जापानबाट फर्केलगत्तै उनकै पहलमा पेट स्क्यान मेसिन खरिद गर्न सरकारले पटक–पटक बजेट छुट्याएको थियो । तर, क्यान्सरका बिरामीहरुलाई भारत, सिंगापुर, थाइल्याण्ड लगायत देशहरुमा पुर्याएर ‘कमिसन’ खान उद्दत गिरोहका कारण हालसम्म सरकारी स्तरबाट पेट स्क्यान मेसिन खरिद हुन नसकेको स्वास्थ्य मन्त्रालयभित्रका जानकारहरु बताउँछन् । उक्त गिरोहका कारण नै पूर्वाञ्चल क्यान्सर अस्पतालले आधुनिक उपकरण खरिद गरे पनि सञ्चालन अनुमति नपाएको उनीहरुको भनाइ छ ।

किन पाएन अनुमति
पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट स्क्यान मेसिन ल्याइसकेर पनि सञ्चालन अनुमति किन पाएन त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल यस विषयमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेललाई सोध्न सुझाउँछन् । पौडेल सरकारी अस्पतालमा पेट स्क्यान मेसिन एउटा पनि नभएको बताउँछन् । ‘निजी केहीसँग पेट सिटी छ । पेट स्क्यान चाहिँ कहिँ पनि छैन । तर, नीति, योजना तथा अनुगमन महाशाखामा यस सम्बन्धी विस्तृत रिर्पोट छैन’, पौडेल भन्छन्, ‘पेट स्क्यान मेसिनलाई अनुमति दिने कुरा प्राविधिक विषय हो । त्यसैले स्वास्थ्य सेवा विभागका प्रमुख डा. दीपेन्द्ररमन सिंह र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायसँग बुझ्नुहोस् न ।’

स्वास्थ्य सेवा विभागका प्रमुख डा. सिंहले ‘आफूलाई यस विषयमा सबै कुरा थाहा नभएकाले डा. रुद्रसँग बुझ्न’ सुझाए । महाशाखा प्रमुख उपाध्यायले भने मोवाइल उठाएनन् । रोचक के भने ‘नियमको अभावमा पूर्वाञ्चल क्यान्सर अस्पताललाई पेट स्क्यान र पेट सिटीको अनुमति नदिएको’ स्वास्थ्य मन्त्रालयले अस्ति २७ माघमा मात्र सूरिया डाइग्नोष्टिक प्रा.लि. लाजिम्पाटलाई भने ‘‘क’’ श्रेणीको रेडियो इमेजिङ्ग सेन्टरको साथै पेट सिटी स्क्यान सेवा सञ्चालन इजाजतपत्र’ १७ फागुन ०८१ सम्मका लागि नविकरण गरिदिएको छ । जसमा महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

सूरिया डाइग्नोष्टिक प्रा.लि. लाई पेट सिटी स्क्यान सेवा सञ्चालन गर्न दिएको अनुमतिपत्र

जानकारका अनुसार कुण्डलिनी चण्डोल र बज्र मेडिकल सप्लायर्स ललितपुरले समेत पेट सिटी स्क्यानको सञ्चालन अनुमति नविकरण गराईसकेका छन् । मन्त्रालयले पूर्वाञ्चल क्यान्सर अस्पताललाई पाँच वर्षका लागि नविकरण गरेको छ । तर, त्यस अस्पतालको आधुनिक पेट स्क्यान र पेट सिटी मेसिनको सञ्चालन अनुमति भने रोकिराखेको छ ।

औषधी व्यवस्था विभागको खेलोफड्कोका कारण पनि पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट स्क्यान मेसिनको सञ्चालन अनुमति नपाएको बताउँछन् जानकारहरु । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई यस आक्षेपलाई स्वीकार गर्न तयार छैनन् । ‘म दुई महिना अघि मात्र यस विभागको जिम्मेवारीमा आएको हुँ । पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट स्क्यान र पेट सिटीको अनुमति नपाएको बारे मलाई थाहा छैन’, भट्टराईको भनाइ छ, ‘आज (१४ चैत्र) मात्र पूर्वाञ्चल क्यान्सर अस्पतालबाट केही व्यक्ति आएका थिए । मैले प्रक्रिया पुरा गरेर आउँ भनेर भनिदिएको छु । प्रक्रिया पुरा गरेर आएपछि अनुमति पाउलान् ।’ अस्पतालको निर्देशक यादव भने पटक–पटक सबै प्रक्रिया पुरा गरेको दाबी गर्छन ।

औषधी व्यवस्था विभागका महानिर्देशक भट्टराईले पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट स्क्यान र पेट सिटीको सञ्चालन अनुमति नपाएको विषययमा फार्मेसी अधिकृत निकेश श्रेष्ठसँग थप बुझ्न सुझाए । श्रेष्ठ पेट स्क्यान, पेट सिटी स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले अनुमति दिन ‘सिरियस’ रहेको तर आफू फार्मेसी पढेको व्यक्ति भएकाले आफ्नो विज्ञता नपुग्ने बताउँछन् ।

कसरी गरिन्छ पेट स्क्यान ?
आइसोटप भनिने एउटा झोल औषधी शरीरमा लगाएपछि मात्रै पेटको स्क्यान गरिन्छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. यादवका भनाइमा यो औषधी उत्पादन भएर ‘डेलिभरी’ गरेको ५ घण्टाभित्रमा प्रयोगमा ल्याईसक्नु पर्छ । नत्र उडेर घट्छ । यादवका अनुसार यसको उत्पादन नेपालमा त हुँदैन नै, दक्षिण छिमेकी भारतको पनि कलकत्ता र दिल्लीमा मात्र हुन्छ ।
दिल्ली–बाग्डोग्रा र कलकत्ता–बाग्डोग्रामा भारतका विभिन्न ‘डोमेस्टिक एअरलाइन्स’ का दैनिक उडान न्युनतम २० भन्दा बढी हुन्छन् । कलकत्ताबाट बाग्डोग्राको उडान अवधी करिव ३० मिनेट लाग्छ । अनि भारतीय भूमी बाग्डोग्राबाट सिलगुढी नाका हुँदै विर्तामोडको दुरी २७ किलोमिटर मात्र छ । यो दुरी गाडीमा करिब ४५ मिनेटमा पुरा गरिन्छ । यस हिसावले पेट स्क्यानका लागि जरुरी आइसोटप कलकत्ता वा दिल्लीमा उत्पादन भएको झण्डै डेड घण्टामा नै विर्तामोडमा उपलब्ध हुन सक्छ ।

तर, काठमाडौंको समस्या के भने दिल्ली–काठमाडौं अन्तराष्ट्रिय उडान मात्र छ । त्यो पनि नेपाल एअरलाइन्स, एअर इन्डिया र एअर इन्डिकोका निश्चित उडान छन् । एअर ट्राफिक र निश्चित उडानका कारण काठमाडौंमा आइसोटप तोकिएको अवधीमा आइपुग्ने वा नपुग्ने टुङ्गो हुँदैन । लामो पालो बस्नु पर्ने हुन्छ । सञ्चालन अनुमति पाए काठमाडौंको तुलनामा बिर्तामोडबाट सहज सेवा/सुविधा दिन सक्ने निर्देशक डा. यादव बताउँछन् । भन्छन्, ‘पेट स्क्यान/पेट सिटीको सञ्चालन अनुमति पाए हामी भारत र काठमाडौंबाट भन्दा सहज र सस्तोमा सेवा दिन सक्छौं ।’

 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview