नेपाल प्रहरीको मर्यादाक्रम गोलमाल !

no-image

माधव बस्‍नेत - २०८०-११-१२

मर्यादाक्रम हेरफेरका लागि पहल गर्लान्, प्रहरी महानिरीक्षक सिंहले ?
हिजो १८ बैशाखमा मन्त्रिपरिषद् बैठकबाट प्रहरी महानिरीक्षक एवं सशस्त्र प्रहरी बलको महानिरीक्षकमा बढुवा भएका धीरजप्रताप सिंह र राजु अर्याललाई आज (१९ बैशाख) मा गृह सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाई दिए । सिंह र अर्याल दुवैले गर्वका साथ सचिव पाण्डेका हातबाट दर्ज्यानी चिन्ह थापे । नथापुन् किन ! कानूनले गरेको व्यवस्था नै त्यही छ ।
तर, यो आफैंमा निजामती कर्मचारीले नेपाल प्रहरीलाई आफूभन्दा तल पारेर कज्याउँन गरिएको व्यवस्था हो । व्यवहारमा हेर्ने हो भने यो अलिकति पनि सुहाउँदिलो विषय होइन । किनभने नेपाल प्रहरीको एआईजी र नेपाल सरकारका सचिव दुवै विशिष्ट श्रेणीका अधिकृत हुन् । निजामती सेवामा विशिष्ट श्रेणीको सचिव पछि मुख्यसचिवको पद मात्र छ । जो १६ बैशाख ०७६ मा गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम’ मा १० औं नम्वरमा पर्छ ।

जगजाहेर छ, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआईजीमाथि आईजीपी (प्रहरी महानिरीक्षक) को पद छ । जसलाई निजामती सेवाको मर्यादाक्रम अनुसार नै राख्ने हो भने जसरी सचिवमाथि मुख्यसचिव मात्र छ, त्यसैगरी एआईजीमाथि आईजीपी मात्र हुने भएकाले एउटै मर्यादाक्रम हुनु पर्ने हो । अर्थात मुख्य सचिव र आईजिपीको मर्यादाक्रम एउटै हुनु पर्ने हो । तर, कानून बनाउने वा राजपत्रमा सूचना प्रकाशित गर्ने बेलामा निजामती कर्मचारीको दबदबा चल्ने भएकाले प्रहरी महानिरीक्षकलाई मर्यादाक्रममा नेपाल सरकारको सचिवभन्दा पनि पछि राखिएको एक जना निवर्तमान एआईजी बताउँछन् ।

राजपत्रमा प्रकाशित ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम’ अनुसार सचिवको मर्यादाक्रम १३ औं नम्वरमा छ । जहाँ उल्लेख छ, ‘नेपाल सरकारका सचिव एवं राजपत्राङ्गिकत विशिष्ट श्रेणीका अधिकृत, राष्ट्र गौरव पाउने महानुभावहरु, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, उपमहानगरपालिकाका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुख ।’

विशिष्ट श्रेणीमा नै पर्ने प्रहरीका एआईजीको मर्यादाक्रम त यो भन्दा अझ् दुई तह तल १५ औं नम्वरमा सीमित छ । नेपाल प्रहरीमा निजामती सेवाको हेपाई यति मात्र छैन, त्यसका लागि अर्को एउटा रोचक उदाहरण हेरौं । प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) प्रथम श्रेणीको पद हो । अनि निजामती सेवाको सह–सचिव पनि प्रथम श्रेणीकै जिम्मेवारी हो । सह–सचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हैसियतमा हुन्छन् । अनि नेपाल प्रहरीको एसएसपीभन्दा माथिल्लो ओहोदाको डिआईजी (प्रहरी नायव महानिरीक्षक) सुरक्षा निकायबाट प्रदेश प्रमुख हुन्छन् ।

तर, रोचक बिडम्बना के भने सुरक्षा निकायको प्रदेश प्रमुख डिआईजीभन्दा एउटा जिल्लाको सिडिओको मर्यादाक्रम माथि राखिएको छ । जस्तो कि, नेपाल प्रहरीबाट बागमती प्रदेश प्रमुख डिआईजी छन् । जसले यस प्रदेशका १३ वटा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रणलगायत सुरक्षाको जिम्मेवारी लिएको हुन्छ । तर, उसको मर्यादाक्रम चाहिँ १३ वटा जिल्ला मध्ये सबैभन्दा सानो भक्तपुर जिल्लाको सिडिओको भन्दा तल हुन्छ ।

अर्को उदाहरण पनि दाजौं । निजामती सेवाको उमेर हद ५८ वर्ष छ । उनीहरु त्यसलाई ६० वर्ष बनाउन लागि परेका छन् । निजामती सेवामा सह–सचिवको पदावधी छैन । सह–सचिवकै जिम्मेवारीमा उसले १०-१२ वर्ष वा त्यो भन्दा लामो समय पनि जागिर खान सक्छ । तर, त्यही सह–सचिवकै जिम्मेवारीको एसएसपीको उमेर हद ५३ वर्ष र पदावधि ६ वर्ष तोकिएको छ । उ एसएसपी भएको २ वर्ष मात्र भएको छ । तर, उमेरले ५३ वर्ष पुग्यो भने निवृत हुन बाध्य हुन्छ । अथवा उमेर भर्खर ५० पुगेको छ । तर, एसएसपी भएको ६ वर्ष पुग्यो भने निवृत हुन्छ । डिआईजीको हकमा पनि पदावधि ५ वर्ष र उमेर हद ५४ वर्ष तोकिएको छ । यी उदारहण केही प्रतिनिधि घटना मात्र हुन् । नेपाल प्रहरीलाई मर्कामा पारेको यस्तो फेहरिस्त लामै छ ।

राजनीतिक नेताहरुले त नेपाल प्रहरीलाई भकुण्डो बनाएका छन् नै, निजामती कर्मचारीबाट त्यो भन्दा बढी हेपिएको र पेलिएको छ, प्रहरी संगठन । प्रहरी संगठनलाई आफ्नो पन्जामा राख्न निजामती कर्मचारीले धेरै अधिकार आफ्नै हातमा राखेका छन् । तसर्थ नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले मिलाउनु पर्ने पहिलो चुनौती मर्यादाक्रम हो । जसका लागि निजामती कर्मचारीले सजिलै मान्नेवाला छैनन् । उनीहरुलाई सहमत गराउन निकै नै पापड पेल्नु पर्ने हुन्छ ।

नेपाल प्रहरीका निवृत अतिरिक्त नायव महानिरीक्षक (डिआईजी) हेमन्त मल्ल ठकुरीका भनाइमा मर्यादाक्रम मिलाउने जिम्मा निजामतीको कर्मचारीको हातमा छ । त्यसैले उनीहरुले आफूलाई सधैं सुरक्षाकर्मीभन्दा माथि राख्ने गरेका छन् । भन्छन्, ‘निजामतीका धेरै सह–सचिवहरु अहिले घोकेर लोक सेवा पढेर आउन थाले । उनीहरुले मर्यादाक्रममा आफूलाई सुरक्षाकर्मीभन्दा माथि राखेका छन् । तर, परिपक्वतामा निकै कमजोर छन् । मर्यादाक्रम मिलाउन जरुरी छ ।’


not-found

माधव बस्‍नेत

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औंँला चलाउँछन् ।

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview