कांग्रेस कहिलेसम्म ‘पेन्डुलम’ ?

no-image

नेपाल मुहार - २०८०-११-१२

झुन्डिएर हल्लिने भित्ते घडीको लङ्गुर । यता न उताको, त्यसै हल्लिएर दिन बिताउने, कतै काम नभएको ।’

नेपाली शब्दकोशमा उल्लेखित ‘पेन्डुलम’शब्दको अर्थ हो, यो । केही समययता नेपाली कांग्रेसको सक्रियता ठ्याक्कै यही परिभाषासँग मेल खान्छ । संसद‍्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्तापक्ष कि प्रतिपक्ष ? भन्ने प्रश्न नै कांग्रेस ‘पेन्डुलम’ भएको सबैभन्दा ‘स्ट्रोङ’ प्रमाण हो ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ पुसमा विश्वासको मत पाए । ‘प्रचण्ड’लाई सत्ता गठबन्धनले विश्वासको मत दिनु जति स्वाभाविक थियो त्यति नै अस्वाभाविक थियो, उनलाई नेपाली कांग्रेसको मत । प्रचण्डलाई सरकार जोगाउन कांग्रेसको मत आवश्यक नै थिएन । 

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कानुनतः कांग्रेस सत्ता पक्ष हुन्छ । कानुनभन्दा ठूलो नैतिकरुपमा समेत उसले आफूलाई प्रतिपक्ष भन्न आँट नगर्नु पर्ने हो । तर, विश्वासको मत दिए लगत्तै उसले आफू प्रमुख प्रतिपक्ष भएको जिकिर गर्न थाल्यो ।

नेपाली कांग्रेसले ८ माघमा प्रमुख प्रतिपक्षी दलको मान्यता आफूले पाउनु पर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन नै दर्ता गरायो । त्यसै बमोजिम उसले भोलिपल्ट अर्थात ९ माघमा संसद् सचिवालयबाट प्रमुख प्रतिपक्षी दलको पत्र प्राप्त गर्‍यो । यस अर्थ आधिकारिक रूपमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल त भयो नै । तर उसले त्यस्तो व्यवहार भने देखाउन सकिरहेको छैन ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’लाई मात्र होइन बाग्मती प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्रीका उम्मेदवार शालिकराम जमकट्टेललाई समेत विश्वासको मत खन्यायो । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्यसै गरी प्रदेश १ र लुम्बिनीमा माओवादी केन्द्रबाट सभामुखमा उम्मेदवारी दिएकालाई निर्विरोध गराउन कांग्रेसले उम्मेदवारी नै दिएन । यो क्रम २३ माघसम्म जारी छ । उसले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनमा समेत माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्यालविरुद्ध उम्मेदवारी दिएन । त्यही कारण अर्याल निर्विरोध निर्वाचित भइसकेकी छन् ।

कांग्रेसले आफूलाई एक मात्र सच्चा लोकतन्त्रवादी दाबी गर्दै आएको छ । संसदीय व्यवस्थालाई पनि उ आफ्नो पेवा नै सम्झन्छ । तर, नेपाली कांग्रेसका पछिल्ला सम्पूर्ण ‘मुभ’ अलोकतान्त्रिक मात्र छैनन्, असंसदीय पनि सिद्ध भइसकेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने अनि प्रतिपक्षमा बस्छु भन्ने एउटै व्यवहारले कांग्रेस एकै पटक अलोकतान्त्रिक र असंसदीय प्रमाणित भइसकेको छ । प्रतिपक्षविहीन संसद् बनाउने कांग्रेसको चाहाना चाहिँ के हो ? आखिर किन ‘प्रचण्ड’को सहयोगी बनिरहेको छ कांग्रेस ? 

‘ओपन सेक्रेट’ चाहिँ के हो भने कांग्रेस जसरी पनि वर्तमान सत्ता गठबन्धनलाई भत्काउन चाहन्छ । भत्काउन नसके पनि आफूले पनि समर्थन गर्न सक्ने राष्ट्रपतिको उम्मेदवार उठाउने वातावरण बनाउन चाहन्छ । यही कारण ऊ माओवादी केन्द्रलाई अस्वाभाविक किसिमका सहयोग जारी राखेर आफूतिर खिच्ने प्रपञ्चमा छ । अनुकूलको राष्ट्रपतिसँगै अन्य नियुक्तिहरूको भागबण्डा आफ्नो पोल्टामा पार्ने क्षणिक लोभमा समेत कांग्रेस फसेको देखिन्छ ।  

नेपाली कांग्रेसले लोकतन्त्र र संसदीय व्यवस्थाको मर्ममाथि यसैगरी प्रहार गरिरहने हो भने यो व्यवस्था बचाउने चाहिँ को ? यसको जवाफ खोज्न सक्ने कांग्रेसभित्र कोही देखिएका छैनन् । कांग्रेस ‘पेन्डुलम’ हुनुभन्दा ठूलो समस्या चाहिँ यही हो ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview