को हुन् नेपालको पहिलो प्रधानसेनापति ? (सेना दिवस विशेष –४)

no-image

नेपाल मुहार - २०८०-११-११

प्रेमसिंह बस्न्यात (विद्यावारिधि) ।

नेपालका राष्ट्रिय विभूतिहरु, प्रधानमन्त्रीहरु, प्रधानसेनापतिहरुको छनौट र निक्र्यौल कसले र कुन आधारमा गर्यो प्रष्ट हुन जरुरी छ । तत्कालीन दरबारसँग सम्बन्ध र पहुँच हुने केही जात र व्यक्ति (प्राज्ञ समेत) को छनौटबाट निर्धारण भएको भन्ने सुनिन्छ । त्यो राम्रो हो, सुरुवात भयो तर त्यसको सत्यता र आधारहरुको खोजी हुनु जरुरी छ ।

राजा पृथ्वीनारायण शाहले वि.सं.१८०० सालमै विराज बखती थापा मगरलाई उनको पालाको पहिलो काजी दिएर नुवाकोट कब्जा गर्न लगाए । उनले काममा ढिलो गरेपछि उनको कज्याई खोसेर महेश्वर पन्तलाई काजी बनाई नुवाकोटमाथि हमला गरियो । त्यो हमला असफल भएपछि पृथ्वीनारायण शाहले वि.सं.१८०१ को भाद्रतिर कालु पाँडेलाई काजी बनाए ।

त्यसपछि पनि पृथ्वीनारायण शाहले विराज वखती (थापा मगर) लाई नै काजी दिन चाहेका थिए । तर उनले सबै भारदारलाई बुभ्mदा सबैजसोले कालु पाँडेलाई काजी बनाउनु राम्रो हुने भने सल्लाह दिएकाले कालु पाँडेलाई काजी बनाइयो । यसरी हेर्दा वि.सं.१८०० सालमै सेनापति भएका विराज बखती थापा मगर गोरखा राज्यको पहिलो सेना प्रमुख हुन् ।

सेनामा कप्तानको पद श्रृजना गर्ने बहादुर शाह नै हुन् । पछि गएर काजी तथा कमाण्डर–इन–चीफ भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्न पुनः फ्रेन्च नै कालीगढ, बास्तुविद तथा प्रशिक्षक झिकाई थुप्रै प्रयास गरे । वि.सं. १८१९ मा खडा भएको कम्पनी संगठनलाई ठुलो पारी भीमसेन थापाले पल्टन (रेजिमेन्ट) र कम्पु (बृगेड) मा विकास गरे । जंगी अड्डा र व्यारेक घर–छाउनी समेत को व्यवस्था गरे । हाल राष्ट्रिय सँग्रहालय, छाउनीको भवन उनले बनाएको पहिलो सैनिक मुख्यालय थियो । उक्त भवनलाई भिमसेन थापाको दरबार पनि भनिएको छ त्यसो होइन । कर्नेल, जनरल र कमाण्डर–इन–चीफको पद सृजना गर्ने उनी नै थिए । पहिलो जनरल र कमाण्ड–इन–चीफ उनी हुन् । उनलाई इतिहासले प्राईम मिनिष्टर बनाएको छ । त्यसो होइन, भीमसेन थापालाई सबैभन्दा पछाडि दिइएको पद कमान्डर–इन–चीफ हो । त्यसको १ वर्ष जति पछि उनको मृत्यु भयो । नियुक्तिले नै मिनिष्टर र पछि प्राइम मिनिष्टर पाउने नेपालको पहिलो व्यक्ति माथवरसिंह थापा हुन्, भीमसेन थापा होइनन् ।
वि.सं. २००७ सालको क्रान्तिपछि नेपाली कांग्रेस सरकारको पहलमा २००८ साल जेठमा नेपाली सेनामा पहिलो पल्ट फिल्ड मार्सलको पद श्रृजना गरियो र रूद्र शम्शेर राणालाई उक्त पद दिइयो । यो ऐतिहासिक पदलाई जनताको सरकारले सृृजना गरेको थियो । भीमसेन थापाले पाएको कमाण्डर(इन(चीफको नियुक्तिलाई राजा वीरेन्द्रको पालामा चीफ अफ आर्मी स्टाफ बनाइयो र गुण शम्शेर राणा पहिलो चीफ अफ आर्मी स्टाफ भएका हुन् । २००७ सालपछिको सैनिक इतिहासमा गुण शम्शेर राणाको देनलाई नेपाल आर्मीले सदा सम्मान गर्नु पर्दछ । “मार्सल अफ गोर्खा आर्मी” को पद जंगबहादुर राणाले श्री ३ भएपछि धारण गरे । तर त्यो पद त्यतिबेला कास्की र लम्जुङको लागि मात्र थियो । तर पछि यो पदलाई श्री ३ हरुले नेपाली सेना पुरैमा लागु गरे, जुन पद सुप्रिम कमाण्डर–इन–चीफ हो । जंगबहादुरले नै सुप्रिम कमाण्डर–इन–चीफको पद सृृजना गरे भने पूर्व श्री ५ महाराजाधिराजले प्रयोग गर्ने सिंह भएको झण्डा (बाघ झण्डा) जंगबहादुरले बनाएको मार्सल झण्डा थियो ।

पहिलो विश्व युद्धको समाप्ती पछि तत्कालीन बृटिस इन्डियन गर्भनर जनरललाई नेपालले नेपाली सेनाको मानार्थ महारथी दर्जा र बृटिसले नेपालको श्री ३ महाराजलाई बृटिस गोर्खा रेजिमेन्टको मानार्थ कर्नेल दिने परम्पराको थालनी भयो भने भारतबाट बृटिस राज हटेपछि उक्त परम्परा अनुसार भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ जनरल र नेपाली सेनाको प्रधानसेनापतिलाई भारतीय स्थल सेनाको मानार्थ महारथीको पद दिने प्रचलन सुरु भयो ।

दोस्रो विश्व युद्धपछि नेपाली सेनामा ‘गोर्खा ह्याट’ लगाउन सुरु भयो । पछि २००७ सालमा राजा त्रिभुवनले मार्सल झण्डा राजाको झण्डा बनाएका थिए भने राजाले प्रयोग गर्दै आएको राष्ट्रिय झण्डा प्रधानमन्त्री तथा मन्त्रीले प्रयोग गर्न थाले । यसर्थ नेपालका राजाहरु २००७ सालपछि प्रयोग गरेको झण्डा शाही झण्डा नभई नेपाली सेनाको सुप्रिम कमान्डर–इन–चिफ को झण्डा हो । परम्परा अनुसार जो व्यक्ति नेपाली सेनाको सुप्रिम कमाण्डर–इन–चिफ बन्छ, उसले यो झण्डा प्रयोग गर्न सक्दछ ।

त्यसैगरी बेलायती पाराले राजा त्रिभुवनले आफ्नो रानीहरू कान्ति राज्यलक्ष्मी र इश्वरी राज्यलक्ष्मीलाई काली प्रसाद गण, राजदल गण र गणेशदल गणको कर्नेल–इन–चीफ बनाएर नेपाली सेनामा कर्नेल–इन–चीफको पदको थालनी भएको थियो । राजा वीरेन्द्रको पालाबाट मानको खातिर नेपाली सेनाको बिभिन्न गणहरुमा कर्णेल कमाण्डान्ट राख्ने ब्यवस्था पनि भएको छ । त्यसपछि हालसम्मको दिनहरूमा देशको खाँचोले माग गरेअनुसार नेपाली सेनाको विस्तार र विकास भएको छ ।

निश्कर्ष
द्रव्य शाह गोरखाका ऐतिहासिक राजा थिए । राजा यशोब्रम्ह शाहका कान्छा छोराको रूपमा जन्मिए पनि आफ्नो चतुर्याईंका कारण यिनी राजा बन्न सफल भए । उनलाई विशेष सहयोग गर्ने भारदारहरू गणेश पाण्डे, भागीरथ पन्त, नारायण अज्र्याल, गङ्गाराम राना भुसाल, केशव बोहोरा, मुर्ति खवास, सर्वेश्वर खनाल, आदिहरू हुन् । गणेश पाण्डे द्रव्य शाहका प्रथम काजी (प्रधानमन्त्री) हुन् भने भागीरथ पन्त उनका प्रथम सेनापति हुन् । यसरी गोर्खा राज्यको इतिहास केलाउने हो भने वि.सं.१६१६ बनेका काजी भगिरथ पन्त पहिलो प्रधानसेनापति हुन् । त्यसपछि र पृथ्वीनारायण शाह अगाडिको प्रधानसेनापति (काजी) हरुको बारेमा शोध हुन बाँकी छ ।

पृथ्वीनारायण शाहको समयलाई मात्र समेट्ने हो भने वि.सं.१८०० मा बनेका काजी बिराज थापा मगर पहिलो प्रधान सेनापति हुन् । यदि नियुक्तिले नै दिएको कमाण्डर–ईन चिफलाई आधार मान्ने हो भने भीमसेन थापा पहिलो प्रधानसेनापति हुन् ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview