रवि लामिछानेका अबका ५ विकल्प

no-image

नेपाल मुहार - २०८०-११-१२

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई कायम नरहेको सर्वोच्च अदालतले फैसला सुनाएको हो ।

अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरे पनि नेपाली नागरिकता कायम नरहेकोले उनको सांसद पद खारेज भएको हो । रविले २०७५ असार ६ गते अध्यागमन विभागमा अमेरिकी नागरिकता त्याग गर्ने प्रक्रिया सुरु गरेको उनका वकिलहरूले बहसको क्रममा दाबी गरेका थिए । तर, रविले कुनै निस्सा सरकारी निकायमा पेश गरेका भने थिएनन् ।

सांसद पद खारेज भएसँगै रविको उपप्रधान तथा गृहमन्त्रीको पद पनि जानेछ । उनी आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अध्यक्ष र संसदीय दलको नेतासमेत रहने छैनन् । तर नागरिकता पुनः प्राप्ती गरेपछि भने उनलाई बढीमा ६ महिनाको लागि मन्त्री बन्ने ढोका खुल्ने छ ।

नेपाली नागरिक, सांसद, उपप्रधानमन्त्री, गृहमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्षसमेत नरहेपछि रविले के गर्लान् ? आम चासोको प्रश्न हुनसक्छ, यो । यसैको जवाफ हो, यो ‘स्टोरी’ ।

१. नागरिकता पुनः प्राप्तीको प्रक्रियामा जाने
– सर्वोच्चको फैसला अनुसार रवि लामिछाने अनागरिक पुष्टि भएका छन् । यसका लागि उनले अमेरिकी नागरिकता त्यागेको प्रमाण सिडियो कार्यालयमा पेश गरेर नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रियामा जानु पर्नेछ । यो उनको पहिलो कदम हुनेछ ।

२. रास्वपाको पार्टी अध्यक्ष बन्ने
– नागरिकता पुनः प्राप्ती गरिसकेपछि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अध्यक्ष बन्न सक्ने छन् । किनभने सर्वोच्चको यसै फैसलाले नै उनको अध्यक्ष पद जाने छ । पार्टीको अध्यक्ष बन्न नेपाली नागरिक हुनै पर्छ ।

३. उपचुनावमा प्रत्यासी बन्ने
– रविको सांसद पद बदर भएसँगै उनले निर्वाचन जितेको चितवन-२ रिक्त हुने छ । त्यसैकारण सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन घोषणा गर्ने छ । नागरिकता पुनः प्राप्ती गरेका रवि पुनः सांसदको प्रत्यासी बन्न पाउने छन् ।

४. चुनाव जितेर पुनः उपप्रधान तथा गृहमन्त्री बन्ने
– ६ महिनापछि हुने उपनिर्वाचनमा रवि लामिछाने विजयी बनेर पुनः संसद प्रवेश गर्न सक्ने छन् । २० सांसदहरुको बलमा फेरि उनले पुरानै पदमा सपथ खान सक्ने छन् ।

५. ४८ घण्टापछि पुनः गृहमन्त्री
– नैतिकताको ख्याल नराख्ने र सरकारी गठबन्धनले सहमती जनाउने हो भने अबको ४८ घण्टा पछि नै रवि उपप्रधान तथा गृहमन्त्री बन्न सक्ने छन् । उनले आइतबार नै नागरिकता पाउने छन् भने त्यस लगत्तै मन्त्रीको सपथ लिन सक्ने छन् । सांसद नभएको व्यक्ति बढीमा ६ महिनाकालागि मन्त्री बन्न सक्ने छन् ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview