‘लबस्तरो’ को उत्कर्षमा नेताहरु

no-image

नेपाल मुहार - २०८०-११-१२

प्रतिपक्ष विहीन संसद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रिय पार्टीहरुको समर्थन प्राप्त गरेका छन् । आज (२६ पुष) भएको विश्वासको मतदानमा दुई सय ७५ सांसद रहेको प्रतिनिधि सभामा उनले अधिकांश मत प्राप्त गरे । उपस्थित २ सय ७० मध्ये २ सय ६८ मत प्राप्त गरे । अर्थात संसद प्रतिपक्ष विहीन बन्यो ।

संसदीय व्यवस्थामा प्रतिपक्ष अनिवार्य हुन्छ । प्रतिपक्षी नेतालाई ‘वेटिङ प्राइमिनिष्टर’ मानिन्छ । खासगरी सरकारलाई तानाशाही हुन नदिने र जनमुखी बनाउने सवालमा प्रतिपक्षको भूमिका प्रभावकारी हुने भएकाले प्रतिपक्षलाई महत्वकासाथ राख्ने व्यवस्था राखिएको हुन्छ । तर, नेपालको संसदको यथार्थ भने यो भावनाभन्दा धेरै टाढा पुगेको छ । सत्ता गठबन्धनमा नरहेको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत ‘प्रचण्ड’ सरकारलाई समर्थन गरेपछि संसद प्रतिपक्ष विहीन बनेको हो । एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा मात्र अव प्रतिपक्षमा बाँकी छन् । यद्यपि ती राष्ट्रिय पार्टी भने होइनन् ।

प्रतिनिधि सभाको निर्वाचन अघि पाँच दलीय ‘गठबन्धन’ थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा त्यस ‘गठबन्धन’मा सामेल थिए । उनीहरुले सरकारमा बसेर जनतासँग नयाँ सरकारकालागि मत मागेका थिए । अर्को पनि ‘गठबन्धन’ थियो, नेकपा एमालेको नेतृत्वमा । भलै, त्यस गठबन्धनलाई एमालेले ‘तालमेल’ भन्न रुचाएको थियो ।

चुनावमा बहुमत प्राप्त गर्न कुनै पनि दल समर्थ रहेनन् । संविधानबाटै त्यस्तो व्यवस्था गरिएकाले कसेको बहुमत नआएको हो ।गएको ४ मंसिरको निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल (८९ सिट) बन्यो । एमाले दोस्रो (७८) र माओवादी केन्द्र तेस्रो (३२) मा सीमित भए । तर, चुनाव अघिको सत्ता गठबन्धनमा बिग्रह आयो । तेस्रो दल माओवादी केन्द्र सरकारको नेतृत्व गर्न चाहन्थ्यो, जसलाई नेपाली कांग्रेसले स्वीकार्न सकेन । तर, मौकाको खोजीमा रहेको दोस्रो दल एमालेले माओवादी केन्द्र संसदीय दलका नेता ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन जनायो । र दुई घण्टाको गृहकार्यमा नेपाली कांग्रेस पाखामा पुग्न बाध्य बन्यो । एमाले, माओवादी, रास्वपा (२०), राप्रपा (१४), जसपा (१२), जनमत (६), नाउपा (३) र दुई स्वतन्त्रगरी दलले बहुमत पुर्याएर सरकार बनाउन दावी प्रस्तुत गरे । सोही अनुसार माओवादी केन्द्रका ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त (पुष १०मा) भए ।

कथा यत्तिमा सकिएन । १५ दिन अघि मात्र कांग्रेस नेतृत्वको गठबन्धन तोडेर हिडेको माओवादी केन्द्र सहित नेकपा (एमाले) लगायतका साना दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत विस्वासको मत दिएपछि कानूनी, व्यवहारिक एवं नैतिक प्रश्न खडा भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको रक्षाका लागि ‘प्रचण्ड’ सरकारलाई मत दियौं भनेपनि त्यसमा सत्ता स्वार्थको ह्वास्स गन्ध आएकै छ ।

कांग्रेस नेताहरुकै भनाइमा ‘सही नसक्ने पीडा दिएका’ प्रचण्डलाई विस्वासको मत दिनु पर्ने बाध्यता के आइलाग्यो ? प्रचण्डकै कारण नेपाली कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म सत्ताका सारा अवसर गुमाएर सर्वश्व गुमेको १५ दिन बितेको छैन । तर, त्यही कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विस्वासको मत दिने निर्णय गरेर कानूनी, व्यवहारिक र नैतिक निर्लज्जता प्रदर्शन गरेको छ ।

थोरै मात्र सरम हुने भए एकले अर्कालाई निर्लज्ज गाली गरेका केपी ओली–प्रचण्ड एक अर्काले आलोचना, आत्मालोचना नगरी एक ठाउँमा उभिने नैतिकता नै नहुनु पर्ने हो । तर, उनीहरु ‘बेसरम’ भएर एकै ठाउँ उभिन पुगेका छन् ।

निर्वाचनको सम्मुखमा ‘नो नट अगेन’ अभियान तीव्र रुपमा चल्यो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘नो नट अगेन’ अभियानको नेतृत्व पहिलो पटक चुनावी मैदानमा उत्रदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि लामिछानेले गरेका थिए । ‘नो नट अगेन’ भन्दै पुराना दलका नेताहरु विरुद्ध भोट मागेका लामिछाने यसबेला सत्ता साझेदारीमा उपप्रधान एवं गृहमन्त्रीको कुर्सीमा छन् । बिडम्बना चाहिँ के छ भने चुनावताका बहिष्कारको नारा लगाएकै एकजना प्रमुख पात्र मध्येकै नेता सरकारको प्रमुख छन् । लामिछानेले प्रतिपक्षको कुर्सीमा बसेर कम्तिमा पाँच वर्ष धैर्य गर्ने साहस गरेनन् ।

यी दलहरुको व्यवहार नियाल्दा के देखिन्छ भने यिनीहरुले देखाउने रिस, आवेग, एजेन्डा, अडान, घुर्की, ‘इगो’, नैतिकता सबै सत्ता लिप्साको ‘फर्मुला’ मात्र हुन् । फगत सत्ता लिप्साको । नेताहरुको सत्ता केन्द्रीत राजनीतिलाई नियाल्दा उनीहरुमा जसलाई जसले जति धोका दिए पनि हुन्छ । । जसले जसलाई जति गालीका वर्षा गरे पनि मिल्छ । जे आरोप लगाए पनि हुन्छ भन्ने मानसिकता हावी भएको देखिन्छ । अर्थात उनीहरुले लबस्तरो राजनीति गरिरहेका छन् ।

बृहत् नेपाली शब्द कोषका अनुसार ‘लबस्तरो’को अर्थ लाज नभएको, नकचरो, निर्लज्ज, थेत्तरो हो । यसरी हेर्दा नेपाली राजनीतिका शीर्ष नेताहरु पछिल्ला वर्षहरुमा ठ्याक्कै ‘लबस्तरो’ बनिरहेका छन् । उनीहरु यसरी ‘लबस्तरो’ बनिरहेका छन् कि कानूनी, व्यवहारिक र नैतिक रुपमा सम्मान गर्ने ठाउँ रौं बराबर बाँकी राखेका छैनन् ।

राजनीतिमा जित होला वा हार, सत्ता स्वार्थमा निर्लिप्त भए तत्कालै धेरै चिज पाइएला वा नपाइएला । तर, यी सबै चिजभन्दा माथि नैतिकता, इमान, स्वाभिमान हुन्छ । हारका अनेकन श्रृंखला व्यहोर्दा पनि नैतिकता, इमान, स्वाभिमान जोगाएकैले विश्व राजनीतिक मञ्चमा अनेकन नेताहरु धर्तीको उच्च शिखर सगरमाथाभन्दा उच्च छन् । तर, सगरमाथाकै काखका नेताहरुले भने आफूलाई ‘लिलिपुट’को मानव झैं ‘बाम पुड्के’ बनाईरहेका छन् ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview