चाँगुमा १ सय ५६ स्थानमा अबैध जग्गा प्लटिङ – नगरपालिका बेखवर ! – २

no-image

नेपाल मुहार - २०८०-११-१२

पाइलै पिच्छे अवैध प्लटिङ भइरहँदा पनि थाहा नभएको गैह् जिम्मेवार जवाफ दिन्छ, नगरपालिका
रेणु त्वानाबासु

यतिबेला चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा तिब्र गतिमा जग्गा प्लटिङ भइरहेको देखिन्छ । नगरपालिकाको वडा नं १ देखि वडा नं ९ सम्म नै जताततै प्लटिङ भइरहेको दृश्य जो कोहीले देख्न सक्छ । नगरपालिकाभरीको हिसावगर्दा ८० स्थानमा १ सय ५६ वटा अबैध प्लटिङ भइरहेको तथ्यांक छ, उपत्यका विकाश प्राधिकरण भक्तपुरसँग । यस सम्बन्धमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना नै प्रकाशित गरिसकेको छ, प्राधिकरणले ।

बिडम्बना त के छ भने खुल्लम खुल्लारुपमा भइरहेको यस्ता जग्गा प्लटिङ नगरपालिकाले भने देखेको छैन । चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपाने भन्छन् – ‘हामीलाई थाहा छैन । र, हामीले स्वीकृति पनि दिएका छैनौं ।’ सूचना अधिकारी न्यौपानेका अनुसार यो काम उपत्यका विकाश प्राधिकरणको हो ।

नगरपालिकाले स्वीकृति नदिई भइरहेका सवै प्लटिङहरु अबैध रहेको उपत्यका विकाश प्राधिकरणको भनाइरहेको छ । जग्गा प्लटिङको मापदण्ड तयार गर्ने, अनुगमन गर्ने र रोक्ने काम उपत्यका विकाश प्राधिकरणले गर्ने भएपनि पहिलो स्वीकृति नगरपालिकाले दिने गरेको छ । माटो सम्याउने स्वीकृति लिएर भइरहेका यस्ता प्लटिङहरुवाट जग्गा खरिद नगर्न प्राधिकरण आयुक्तको कार्यालय भक्तपुर कार्यालयले सूचना नै प्रकाशित गरिसकेको छ । तर, नगरपालिका भने कानमा तेल हालेर बसेको छ । जानकारहरु भन्छन् –‘नगरपालिका नेतृत्वको संरक्षणमा भइरहेका छन् अबैध प्लटिङ ।’

चाँगुको कहाँ कहाँ भइरहेका छन् अबैध प्लानिङ ?
चाँगुनारायण नगरपालिकामा सबैभन्दा धेरै स्थानमा प्लटिङ भइरहेको छ, वडा नम्बर १ मा । त्यहाँं १५ स्थानमा ३१ वटा अबैध प्लटिङ भइरहेको तथ्यांकले देखाउँछ । सबैभन्दा कम २ नम्बर वडामा हो । जहाँ २ स्थानमा प्लटिङ भइरहेको छ । त्यस्तै क्रमश – ३ नम्बर वडामा १२ स्थानमा १२ वटा, ४ नम्बर वडामा १० स्थानमा २४ वटा, ५ नम्बर वडामा ५ स्थानमा ११ वटा, ६ नम्बर वडामा २ स्थानमा ७ वटा, ७ नम्बर वडामा १२ स्थानमा २१ वटा, ८ नम्बर वडामा १३ स्थानमा २६ वटा र ९ नम्बर वडामा ९ स्थानमा २२ वटा प्लटिङ भइरहेका छन् ।

चाँगुनारायण नगरपालिकाका सुचना अधिकारी सिद्धान्त न्यौपानेले जिल्ला आयुक्तको कार्यालय भक्तपुरले निकालेको ८० वटा प्लटिङको जानकारी आफूलाई नभएको बताउँछन् । समाचारमा आएपछि मात्र थाहा भएको उनी बताउँछन् । समाचारमा आइसकेपछि पनि नगरपालिकामा केही जानकारी नआएको उनले बताए । त्यसैकारण यसको विषयमा नगरपालिकाले कुनै पनि कार्य आगाडि नबढाएको उनको जिकिर छ । बरु उनले प्राधिकरणको स्वीकृति लिएर काम भइरहेको हुन सक्ने बताए ।

तर, उपत्यका विकाश प्रधिकरण भने यो मान्न तयार छैन । उसका अनुसार नगरपालिकाले दिएको माटो सम्याउने स्वीकृति लिएर काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता गणेशराम कोजुका अनुसार हामीले नगरपालिकामा सम्पर्क गरेर अबैध प्लटिङका सम्बन्धमा ‘ब्रिफिङ’ समेत गरेका छौं । प्राधिकरणका अनुसार अबैध प्लटिङ रोक्ने कार्यमा नगरपालिकाको सहयोग छैन ।

नगरपालिका प्राधिकरणलाई दोष लगाएर उम्कन खोज्ने र प्राधिकरण नगरपालिकालाई दोष लगाएर अबैध प्लटिङ भइरहेको कार्यमा रमिते बन्ने कार्य भइरहेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख (सिडिओ) रुद्रादेवी शर्माले अबैध प्लटिङ रोक्न शक्ति प्रयोग आवश्यक भए त्यो उपलब्ध हुने बताइसकेकी छन् । तर, यी दुवै निकाय प्लटिङ रोक्ने चरणमा पुगेका छैनन् ।

९ नम्बर वडा अध्यक्षको खुलासा – ‘जग्गा दलालबाट दवाव आउँछ’

वडा नम्बर ९ का वडाअध्यक्ष गणेश त्यात

 

चाँगुनारायण नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष गणेश त्यातले वडाबाट प्लटिङ वा कित्ताकाटकोलागि कुनै पनि सिफारिस नदिएको दावी गरे । उनले घडेरीको लागि मात्र सिफारिस दिदै आएको बताए । ‘वडाको लागि १ रोपनीसम्म कित्ताकाट गर्न सिफारिस दिन मिल्छ तर हामीले भने दिएका छैनौं’– उनले दावी गरे ।

कित्ताकाट सिफारिस गरेन भने वडामा झगडा गर्न आउँछन् । साथै उनले आफ्नो वडामा धेरै प्लटिङ्गहरु भएको देखेपछि त्यसलाई रोक्नको लागि नगरपालिकालाई जानकारी पत्र पठाएको बताए ।

‘स्थानीयको उजुरीमा प्रहरीले डोजरको साचोसमेत निकालेर लगेको थियो । तर फेरि १–२ दिनमा नै रातीराती डोजर चल्न थाल्यो । नयाँ साचो बनाएर ल्यायो कि, त्यही लिएर आएको हो, थाहा छैन’– वडा अध्यक्ष वताउँछन् ।

‘नगरपालिकाले प्लटिङ रोक्नको लागि काम गर्नुपर्ने ठाउँमा नगरपालिकाबाट प्लटिङको फाइल पठाउने गरेको सुनाउँछन् । यो फाइलको काम गर्नको लागि के चाहिन्छ भन्नुस् मिलाउपर्यो भनेर फोन आउँछ,’–उनले भने । वडाबाट सिफारिस भएर नगरपालिकामा जानुपर्नेमा नगरपालिकाबाट वडा कार्यालयमा फाइल आइरहेको उनी सुनाउँछन् ।

‘अफिसमा कालो चिया पनि नखाने मलाई घुस दिने प्रयास भइरहेको महशुश हुन्छ’, उनले भने । ‘नगरपालिकाले हुन्छ भनिसकेपछि वडाले हुँर्दैन भनेर हुन्छ ?’ भनेर धम्की पनि आउने गरेको उनी बताउँछन् ।

‘प्लटिङ्ग भइरहेको देखिरहेका छौं । तर नगरपालिका आँखा चिम्लेर बसेको अवस्था छ ’– उनी खुलस्त हुन्छन् ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview