दागीहरुको दाउमा देश, राज्यको शक्तिशाली निकायका प्रमुखहरु सबै निर्लज्ज

no-image

माधव बस्‍नेत - २०८०-१२-१२

लडाकु शिविरको न्यूनतम ३ अर्ब अनियमिततामा अख्तियारमा उजुरी परेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री, सहकारी ठगीमा संलग्नता देखिएका रवी लामिछाने उपप्रधान र गृह मन्त्री, सुन तस्करीमा सामेल वर्षमान पुन अर्थमन्त्रीको जिम्मेवारीमा त छन् नै,
स्थायी सरकार भनिने निजामती प्रशासन, राज्य सुरक्षाको मेरुदण्ड नेपाली सेना, नागरिकसँग नङ–मासु जोडिएको पुलिस, न्यायको भरोसापात्र प्रधान न्यायाधीश र भ्रष्टाचारीलाई पाता कस्ने जिम्मेवारी पाएको अख्तियारका प्रमुख आयुक्त नै दुर्नामी छन् ।
उल्लेखित सम्मानित पात्रहरुमाथि यस ‘रिपोर्टर’ ले यो जबरजस्ती लगाएको आरोप होइन, उनीहरुकै जीवन/व्यवहार/चरित्रले देखाएको तथ्य हो । उनीहरु स्वयंले आफ्नो जीवन/व्यवहार/चरित्र चिमोटेर नियाले आफैंले आफ्नो तस्विर देख्नेछन् ।

निजामती प्रशासनलाई आधुनिक मुलुकमा स्थायी सरकार भनिन्छ । त्यही निजामती कर्मचारीको मुख्य सचिवको कुर्सीमा छन्, बैकुण्ठ अर्याल । औपचारिक शिक्षाका हिसाबले सायदै उनले विद्यावारिधि गरेका छन् । त्यसैले आफूलाई शिक्षित देखाउनै सही, नामको अघि डा. लेख्छन् । तर, नैतिक शिक्षा, इमान र संस्कारमा भने अर्याल यति तन्नम निरक्षर दरिएका छन् कि अख्तियारको थुनामा रहेका विकल पौडेलका तर्फबाट तेस्रो व्यक्ति मार्फत उनले १४ लाख रुपैयाँ बुझेको भौचर नै सार्वजनिक भइसकेको छ ।

आर्थिक अनियमितताका अरु काण्डका चाङमा पनि उनको नाम जोडिइरहेको छ । तर, पनि लाज सरम पचाएर निर्लज्ज मुख्य सचिवको कुर्सीमा टाँसिइरहेका छन् । आफ्नै नैतिक शक्ति क्षय भएकाले हुन सक्छ वा अरु नै कारण ! न त प्रधानमन्त्री न अरु कुनै मन्त्रीले नै अर्याललाई कुर्सीबाट हटाउने आवाज उठाएका छन् ।

संविधान अनुसार राज्य सुरक्षाको मेरुदण्ड हो, नेपाली सेना । संस्थागतरुपमा नेपाली सेना सबैभन्दा बलियो र पारदर्शी हुनुपर्छ । सेना बलियो र आधुनिक नभई राज्य सुरक्षित हुन सक्तैन । तर राज्य सुरक्षाको मेरुदण्डको प्रमुख प्रभुराम शर्माले सेनाभित्र यतिधेरै ‘स्वेच्छाचारिता’ लादेका छन् कि देशमा शक्ति, पहुँचको नभएर विधिको शासन लागु हुँदो हो त उनी माथि छानविन हुन्थ्यो नै । अनि चार तारा र सेनाको झण्डा हल्लाउँदै ‘सान’ देखाउँदै हिड्ने होइन, अधिकार दुरुपयोगको ‘अभियोग’ मा सेनापति शर्मा कानूनी कारबाहीको भागेदार हुने निश्चित थियो ।

मानौं शर्माले जंङ्गी अड्डाभित्र मच्चाएका व्यक्तिगत प्रतिशोध, अनेकन कुकृत्यमा उन्मुक्ति दिउँ । तर पूर्व झापाको मेचीनगर १४ देखि पश्चिम कन्चनपुरको गड्डाचौकीसम्मका जनताले देखेको, महालेखापरीक्षकको प्रतिवेदनले लगातार दुई वर्ष लेखेको होल्डिङ सेन्टरको २ अर्ब २२ करोडको अनियमितता मात्र खोतल्ने हो भने सेनापति शर्मा ‘मामाघर’ पुग्ने निश्चित छ । होल्डिङ सेन्टरमा सैनिक मुख्यालयको अनियमिततामाथि महालेखाको प्रतिवेदनले फेरि उठायो प्रश्न - (nepalmuhar.com)

शर्माको कार्यकालमा ‘फाष्ट ट्रयाक’ मा मच्चाएको सिलसिलेवार वितण्डाको कथा छुट्टै छ । सैनिक उच्च अधिकारीहरुलाई गरेको विभेद र अन्यायको पाटो झनै दर्दनाक छ । यद्यपि उनै शर्माले पशुपतिमा डामेर छाडेको साँढेले भन्दा उधुम गरी जंङ्गी अड्डाभित्र ‘बर्बरता’ मच्चाइरहेका छन् । तर पनि ‘दागी’ हरु च्याप्नेदेखि ‘स्वाभिमानी’ हरुलाई ङ्याक्नेसम्मका ‘अपराध’ मा उनलाई फुक्काफाल नै छाडिएको छ ।

शर्मा अघिका प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पुनर्संरचना गर्न भगिरथ प्रयत्न गरेका गरेकै हुन् । त्यसको जस उनलाई दिनैपर्छ । तथापि उनले पनि संगठनभित्र पूर्ण न्याय भने दिएनन् । अरु त अरु थापाले आफ्नो उत्ताराधिकारी समेत सही छनोट गर्न नसक्दा यसबेला सैन्य संगठन भिरको डिलमा पुगेको छ । थापा अघिका प्रधान सेनापति राजेन्द्र क्षत्रीले तीन वर्षे कार्यकालमा झण्डै १४ अर्ब कुम्ल्याए । यद्यपि सैनिक मुख्यालयमा उनको ढलीमली अझै कायमै छ ।

जसरी इजरायलले प्यालेष्टाइनहरुमाथि गरेको मानवताहीन बर्बर हत्याबारे धेरै शक्ति राष्ट्रहरु जानकार हुँदाहुँदै पनि मौन छन्, ठिक त्यसैगरी प्रभुृराम शर्माले सेनाभित्र लादेको निरंकुशताबारे सरकार, राजनीतिक दलका सबै नेताहरु जानकार छन् । तर, अमेरिकी मपाइँत्व सामु शक्ति राष्ट्रहरु लुत्रुक्क परेजस्तै प्रभुराम शर्माको ‘छाँया’ सँग सरकार तथा नेताहरु डराईरहेको देखिन्छ । सिङ्गो सैन्य संगठनको गरिमाका अघि प्रभुराम शर्मा कोही होइनन् भन्ने नेताहरुले भुलिरहेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको हालत पनि धेरै भिन्न छैन । १ सय ३८ केजी सुन तस्करीमा फितलो अनुसन्धान गरेको त छँदैछ, नक्कली भुटानी शरणार्थी प्रकरणमै गतिलो छानविन हुने हो भने कुँवर कारबाहीको भागेदार बन्ने जानकार बताउँछन् । ‘पिपुल’ सँग प्रत्यक्ष जोडिएको पुलिस प्रमुखको यो विचलन चानचुने होइन ।

पूर्वप्रहरी महानिरीक्षकद्धय धीरजप्रताप सिंह र सर्वेन्द्र खनाललाई निगरानीमा राख्न सुन तस्करी सम्बन्धी छानविन आयोगले सिफारिस गरिसकेको छ कुँवर अघिका महानिरीक्षक सिंहले चिनियाँ सुन तस्कर दावासँग रकम नै लिएको सन्देह भएकाले उनीमाथि निगरानी अनुसन्धान गर्नु पर्ने आयोगको ठहर २३ करोड रुपैयाँमा कनिष्ठलाई प्रहरी महानिरीक्षक बनाउने घिन लाग्दो खेल ! वरिष्ठहरु हेरेका हेर्यै ! - (nepalmuhar.com)

तत्कालीन महानिरीक्षक खनाल र चिनियाँ तस्करहरूबीच २०७६ सालदेखि नै उठबस देखिन्छ खनाल चिनियाँ तस्कर दावाका साझेदारहरूबीचको सघन सम्बन्ध यसअघि पनि सार्वजनिक भइसकेका हुन् तर राज्य सञ्चालकहरुले त्यसलाई खबरदारीको विषय नै बनाएनन् सुन तस्करीका एक जना अगुवा जीवन चलाउनेको सम्बन्ध पूर्वमहानिरीक्षक खनाल उनका साथी सुबु केसीसँग निकै गठिलो आयोगले सुन तस्करीमा संलग्न माओवादी एमालेका नेताहरूमाथि प्रहरीले उन्मुक्ति दिएको भन्दै प्रश्न गर्नुले प्रहरी महानिरीक्षकको हैसियत खुल्छ

न्यायको तराजु हातमा लिएर बसेका प्रधान न्यायाधीशहरुका आचरण पनि उत्तिकै विडम्बनापूर्ण छन् । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा १० महिना महाभियोगको अभियोग भोगेर निवृत भए । न्याय निरुपण गर्न उनले दूतहरु परिचालन गरेर ‘नगद’ उठाउने गरेको ‘ओपन सेक्रेट’ भइसकेको छ । जबराका दूतका रुपमा परिचालित उच्च अदालतका न्यायाधीश नवराज थपलिया (विद्यावारिधि) को त त्यही कारण भर्खरै जागिर नै गएको छ । जबराले महाभियोग भोगिरहदा कार्यवाहक बनेका दीपककुमार कार्कीले प्रहरी महानिरीक्षक काण्डमा सरकारलाई लाभ हुने गरी सेटिङमा मुद्दा फैसला गरिदिएर अवकाशपछि पनि आजीवन प्रधानन्यायाधीशको सुविधा पाउने निर्णय गराए, मन्त्रिपरिषद्बाट । जुन निर्लज्जताको अनुपम नजिर हो ।

न्यायालयका जानकारहरुका भनाइमा वहालवाल प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको चाल पनि ठिक छैन । ‘करिअर जज’ का रुपमा सर्वोच्चको उपल्लो कुर्सीमा पुगेकाले श्रेष्ठको कार्यकालमा न्यायालयको प्राण प्रतिष्ठा उठ्ने न्यायका मर्मज्ञहरुले अपेक्षा गरेका थिए । तर उनले पनि उच्चदेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशहरु नियुक्ति गर्दा ‘आफ्ना’ लाई च्यापेका, रोलक्रममा न्याय परिषद्लाई बढी महत्व दिएका नेपाल बार एसोसियसनका एक जना पदाधिकारी बताउँछन् । प्रधान न्यायाधीशले मुद्दाको न्यायायिक निष्पक्षतामा समेत पक्षधरता देखाइरहेका बारका ती पदाधिकारीको भनाइ छ । प्रधान न्यायाधीशको यस शैलीले नेपाल बार एसोसियसन उनीप्रति पूर्णरुपमा रुष्ट छ ।

निजामतीदेखि न्यायालयसम्म, राष्ट्रिय सुरक्षादेखि जनतासँग जोडिएका ‘बेइमान’ हरुले गरेका अनियमिततालाई अनुसन्धानको दायरामा ल्याएर पाता कस्ने निकाय हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि राज्यलाई फाइदा हुने होइन, आफू र आफ्नो पदलाई मात्र केन्द्रमा राखेर काम गरिरहेका छन् । लडाकू शिबिर, पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्री, होल्डिङ सेन्टर, हायात होटल, एनसेल, वाइडबडी, यति, ओम्नीलगायत दर्जनौ काण्डको छानविन वेवारिस बनाएको छ, अख्तियारले ।

जानकारका भनाइमा कतिसम्म भने सुरक्षित मुद्रणका घोटालाकार विकल पौडेलले आरजु राणा देउवा र जयवीर देउवाको नाममा सिंगापुरमा रहेको खातामा रकम पठाएको प्रमाण अख्तियारका प्रमुख आयुक्त राईसँग छ । तर, उनले दागीहरुमाथिको कारबाहीलाई सौदाबाजीको विषय बनाइरहेका छन् । पौडेलले को–कोसँग कुराकानी, लेनदेन गरेका छन्, अख्तियारले उनको मोबाइल, ल्यापटपबाट ४ सय पृष्ठ ‘प्रिन्ट’ उतारेको छ । तथापि अनियमतितामा संलग्नहरुलाई कारबाही गर्न हिच्किचाईरहेको छ ।

निजामती, सेना, प्रहरी, न्यायालय, अख्तियारका प्रमुखहरुको यो भन्दा निर्लज्जताको पराकाष्ठ के हुन सक्छ ? निजामती प्रशासनका मुख्य सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, प्रधान न्यायाधीश, अख्तियारका प्रमुख आयुक्त इमानजमानमा बस्ने हो भने नेताहरुसमेत ‘साइज’ मा आउन बाध्य हुन्छन् । तर, राज्यको महत्वपूर्ण लगाम समातेका प्रशासकहरु नै इमानजमानमा बस्न नसक्दा जसरी खोलाको पानी आफ्नै गतिले बगिरहेको हुन्छ, ठिक त्यसैगरी चलिरहेको छ, देश । शासक, प्रशासकहरुले सुशासन कायम गरेकाले देशले समृद्धिको बाटो लिएको होइन । चालको नियम अनुसार चलेको मात्र हो ।

ख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायका भनाइमा नेतृत्वमा पुगेका मानिसहरुमा म कहिल्यै पनि मर्दिन । मैंले मजा गरिरहनु पर्छ । म ठूलो हुँ । मैंले जे गर्छु, ठिक गर्छु । मैंले भनेको सबैले टेर्नुपर्छ भन्ने अहंकार भरिएको हुन्छ । अहंकारलाई तोड्न जीवन र जगतलाई राम्ररी बुझ्नु पर्छ । तर, पछिल्ला दशकमा जीवन र जगतलाई राम्ररी बुझ्ने मानिसहरुको खडेरी परिरहेको छ । त्यसैले दागीहरु नै नेतृत्वमा पुग्ने वा बेदाग पुगे पनि दागीमा बदलिनेक्रम बढेको सुशासनका विषयमा निरन्तर वकालत गर्दै आएका उपाध्याय बताउँछन् ।

कुरो के हो भने अहिलेको राजनीति, शासन संयन्त्रको मुल पात्र प्रचण्ड–बाबुराम हुन् । उनीहरुले विदेशीको हतियार, पैसा, सहयोग लिएर देशलाई तहसनहस बनाए । लुटे । भलै अहिले बाबुराम कमजोर भएका छन् । प्रचण्डसँग लुटेको पैसा प्रशस्त छ । मानिसमा पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने मानसिकता हुन्छ । देशलाई लुटेर पैसा जम्मा गरेका प्रचण्ड शासन सत्ताको बागडोरमा छन्”, उपाध्याय भन्छन्, “बेइमानहरुलाई ठेगानमा ल्याएर दाउन इमान, निष्ठा जोगाएको नैतिकवान मान्छे हुनुपर्छ । बेइमानहरुलाई ठेगानमा ल्याएर दाउन सक्ने नैतिकवान मान्छे नै भएनन् । जसले ठेगानमा ल्याउन सक्ने हो, उ पनि त्यही मुछियो । त्यसैले राजनीतिदेखि सबैतिरको शीर्ष नेतृत्वमा बेइमानहरु पुगेका हुन् ।”

संघीयता र सुशासनबारे निरन्तर कलम चलाईरहने, अस्ति २१ फागुनमा कार्यकाल पुरा भएका राष्ट्रिय सभाका निवर्तमान सदस्य खिमलाल देवकोटा (विद्यावारिधि) का शब्दमा राजनीतिक र प्रशासनिक नेतृत्वका विषयमा संसदमा कुरा उठाउँदा–उठाउँदा उनी आजित भएका छन् । शासक–प्रशासक सबै लेनदेन–लुटपाटमा संलग्न भएका उनी बताउँछन् । राजनीति ठिक ‘ट्रयाक’ मा हिड्न नसकेकोले सबैतिर गञ्जागोल भएको देवकोटाको अनुभव छ ।

हामीले जबसम्म नेताहरुको रिटायर्डमेन्टको पोलिसी (अवकाशको नीति) बनाउँदैनौ । यो भद्रगोल रहिरहन्छ । निश्चित पटक प्रधानमन्त्री, मन्त्री भएपछि आराम गरेर बस्ने ‘बेन्चमार्क’ बनाउनु पर्छ । प्रशासनमा कार्यरत व्यक्तिहरु निवृत भएपछि राजदूतलगायत नियुक्ति खाने प्रवृतिको अन्त्य गर्नुपर्छ । यसले गलत मान्छेहरु नेतृत्वमा पुग्ने थितिलाई रोक्छ”, देवकोटाको कथन छ, “डेनमार्क, स्वीजरल्याण्डलगायत देशमा को कति पटक नेतृत्वमा पुग्ने, त्यहाँ पुगेर के गर्ने ‘बेन्चमार्क बनाइएको छ । त्यसैले ती देशहरुमा सुशासन छ । तर, हाम्रोमा नेतृत्वमा पुगेपछि कहाँबाट खाने/ख्वाउने भन्ने मात्र हुन्छ । हाम्रोका नेतृत्वमा किन पुग्ने ? के गर्न पुग्ने भन्ने नै स्पष्ट छैन । त्यसैले बेइमानी गरेर भए पनि नेतृत्वमा पुग्ने र इमानले नै पुगेको छ भने पनि नेतृत्वमा पुगेपछि बेइमानी गर्ने परम्परा बस्यो । यसको अन्त्य गरिनु जरुरी छ ।”

मुलुकका तीन प्रधानहरु प्रधानमन्त्री, प्रधान न्यायाधीश र प्रधान सेनापति मात्र इमानजमानका भए सुशासन कायम हुन्छ । न्याय, निष्पक्षता र सुरक्षा पाइन्छ । तर, यसबेला यी तीन प्रधानहरुकै 'चर्तिकला' सकरात्मक छैनन् । यो भनेको मुलुक असफल राज्य उन्मुख हुनु हो । जनता (नागरिक) कमजोर हुँदा बेइमानहरुले मौका पाउने निवर्तमान राष्ट्रिय सभा सदस्य देवकोटा बताउँछन् । त्यसैले आशा गरौ, जनता (नागरिक) ले होस नगुमाएसम्म देश एकादेश हुँदैन । नागरिकहरुले नेपाललाई असफल राज्य बन्न दिनु हुँदैन । शासक, प्रशासकले बदमासी गरे पनि नागरिकहरुलाई थाक्ने छुट छैन । किनभने देश भनेकै जनता (नागरिक) को सम्पति हो ।

 


not-found

माधव बस्‍नेत

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औंँला चलाउँछन् ।

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview