सप्तरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना मन्दिरका पुजारीको मृत्यु भएको छ । आज राति जिल्लाको बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरका पुजारी सोही ठाउँ घर भएका ७० वर्षीय रामदुलार साहको गोली प्रहारबाट मृत्यु भएको हो ।
त्यहाँस्थित आफ्नो कुट्टीमा एक्लै बस्दै आएका पुजारी साहलाई राति करिब २ः१५ बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
साहको ढाडको पछाडीबाट गोली हान्दा नाईटोको साईडमा एउटा वटा प्वाल भई घटनास्थलमै मृत्यु भएको उनले बताए । घटनास्थलमा दुई थान खोका फेला परेको छ । गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र पहिचान समेत नखुलेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालिएको छ । घटनास्थलबाट भारतको सीमानाका नजिक रहेकाले त्यसक्षेत्रमा चेकजाँचमा कडा पारिएको प्रहरी उपरीक्षक केसीले बताए ।