Connect with us

तथ्य खोज

निर्वाचन तीन दिन बाँकीः सोलुखुम्बुमा प्रकाश छर्ने तयारीमा प्रकाशसिंह कार्की

Published

on

सोलुखुम्बुका आठ वटा स्थानीय तहमध्ये २०७९ को निर्वाचनमा पाँच वटा स्थानीय तह, ५२ वटा वडामध्ये २५ वटा वडामा कांग्रेसले विजय प्राप्त गरेको र यसपटक सोलु कांग्रेसमा अभूतपूर्व एकता भएकोले आफूले विजय प्राप्त गर्ने प्रकाशसिंह कार्कीको दाबी

नेपाली कांग्रेस सोलुखुम्बुले आज १८ फागुनमा नेचासल्यान गाउँपालिकाको नेचास्थित बिहिबारे बजारमा चुनावी सभा गर्यो । नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार प्रकाशसिंह कार्की यही गाउँपालिकाको वडा नं. एक टारीमा जन्मिएका हुन् । यस अर्थमा कार्की जन्मिएको गाउँ नजिकै नेपाली कांग्रेसले औपचारिक अन्तिम सभा गरेको छ ।

नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘वरफझैँ जमेको बुढा पुस्ता’ विरुद्ध जबरजस्त विद्रोह गरी विशेष महाधिवेशनबाट नेतृत्व लिनु अघि नै कांग्रेस सोलुले पार्टीकातर्फबाट १३ जना उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाएको थियो । जसमा एक नम्बरमा बलहादुर केसी, दुई नम्बरमा आङगेलु शेर्पा, तीन नम्बरमा विनोद बस्नेत र चार नम्बरमा कार्कीको नाम थियो । विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि पनि तिनै नाममध्येबाट कार्कीले टिकट पाएका नेपाली कांग्रेस सोलुका एक युवा नेता बताउँछन् ।

“प्रकाशसिंह कार्कीले कांग्रेसको विधान, नियम र प्रक्रिया अनुसार नै टिकट पाएका हुन् । उनीबाहेक अरुले टिकट पाएका हुन्थे भने सोलु कांग्रेस एक ढिक्का हुन सक्तैनथ्यो । कार्कीकै कारण सोलु कांग्रेस २०४८ साल पछिको निर्वाचनमा यसपटक एकढिक्का बनेको छ”, उनी भन्छन्, “कार्की मध्यमार्गी नेता हुन् । कांग्रेसका लागि मात्र होइन, सबै पार्टीका लागि उनी मध्यमार्गी अर्थात नरम र समान व्यवहार गर्ने नेता हुन् । त्यसैले कसैले पनि उनीप्रति वैरभाव नराखी मत दिए हुन्छ ।”

राजनीतिक पृष्ठभूमि
२०२० साल मंसिर २ गते साविक सल्यान गाउँपञ्चायतको टारीमा जन्मिएका कार्की बलियो राजनीतिक पारिवारिक पृष्ठभूमिका व्यक्ति हुन् । कार्कीकै शब्दमा उनले २०३३ सालमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी, पुराना नेता दत्तसिंह काकी र सीताराम निरौलाको रोहवरमा ने.वि. संघ (नेपाल विद्यार्थी संघ) को रसिद (सदस्यता) लिएका थिए । उनले २०३६ सालमा ओखलढुङ्गा केन्द्रबाट परीक्षा दिएर एसएलसी उत्तीर्ण गरेका थिए । केसी, निरौला, कार्की र उनको जन्मथलो करिब आधा घण्टा पैदल दूरीमा छ ।

कार्कीका बावुहरु चार दाजुभाई हुन् । उनका जेठा बडाबा जगतबहादुर कार्की करिब १८ वर्ष सोलुखुम्बुको तत्कालीन सल्यान गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए भने माइला बडाबा अमृतबहादुर कार्कीले २०३१ सालको टिम्बुरबोटे काण्डमा सहभागी भएवापत यातनासहित जेल सजाय भोगेका थिए । उनका बुवा कीर्तिबहादुर कार्की भने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा कार्यरत थिए ।

रोचक के भने ०३१ सालको टिम्बुरबोटे काण्डमा मुछिएर माइलो दाजु अमृतबहादुरलगायत थुप्रै नेताहरु जेल पर्दा कीर्तिबहादुर ‘जेलर’ थिए । परिणाम– कीर्तिबहादुरले भित्रभित्रै बन्दीहरुलाई खुकुलो अवस्था सृजना गरिदिएका थिए । कार्कीकै शब्दमा खतरनाक कुरा यो छ कि २०३१ सालको टिम्बुरबोटे काण्डका कमाण्डर क्याप्टेन यज्ञबहादुर थापा उनको सानाबा (आमाका बहिनीका श्रीमान्) हुन् ।

जुझारु लडाकू क्या. थापालाई टिम्बुरबोटे काण्ड लगत्तै ओखलढुङ्गाको चिसंकु नजिकैबाट पक्राउ गरी तत्कालीन सरकारले केन्द्रीय कारागारको गोलघरमा चरम यातनाासहित राखेर ०३४ सालमा कमला नदीको किनाारमा पुर्याएर मृत्युदण्ड दिएको थियो । जसमाथि वामपन्थी नेता तथा पूर्वमन्त्री राधाकृष्ण मैनालीले लुटिएका दुई थुङ्था फूल नामक सुन्दर कृति लेखेका छन् । त्यसैले प्रकाशसिंह कार्कीको बुँदबुँदमा राजनीति छ अर्थात उनी राजनीतिक पारिवारिक पृष्ठभूमिका हुन भन्न सकिन्छ ।

रोचक यो पनि छ कि सोलुमा पढेर २०३६ सालमा ओखलढुङ्गा केन्द्रबाट एसएलसी दिएर पास गर्ने उनी अन्तिम ‘ब्याच’ हुन् । २०३७ सालदेखि भने एसएलसीका लागि सोलुकै सदरमुकाम सल्लेरीमा परीक्षा केन्द्र खुलेको थियो । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका पूर्वसभापति आङगेलु शेर्पा, हाल नेकपा (एमाले) कोसी प्रदेश कमिटी सदस्य तथा कोसी प्रदेशका पूर्वसांसद एवम् राज्य मन्त्री उत्तम बस्नेतलगायतलाई आफूले नै ने.वि. संघको सदस्यता दिएको कार्की बताउँछन् ।

एसएलसी उत्तीर्ण गरेर २०३७ सालमा काठमाडौं छिरेर लैनचौरको लेखनाथ मार्गस्थित सरस्वती क्याम्पसमा आइए भर्ना भएपछि कार्की पढाईँसँगै उद्यम–व्यवसायमा समेत आवद्ध भएका थिए । कार्की प्रतिष्ठित व्यवसायी हुन् । नमस्ते कार्गो, नमस्ते ट्राभल्सलगायत उनका अरु पनि व्यवसाय छन् । । अर्थात राज्यलाई कर तिरेर सम्मानित नागरिकका रुपमा जीवन जिएका पात्र हुन् । उनले दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यलगायत महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

जितको आधार
कार्कीका शब्दमा उनको जितको आधार एक– सोलुखुम्बुमा विगतदेखि नै नेपाली कांग्रेसको बलियो पकड एवम् बहुमत छ । सोलुखुम्बुमा के–के नमिलेर मात्रै विगतमा कांग्रेस दुई चिरामा बाँडिएको थियो । यसपटक केन्द्रदेखि जिल्ला तह, स्थानीय तह, वडा हुँदै टोल–टोलसम्म कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको छ । दुई– भदौ २३ र २४ को जेनजी विद्रोहपछि अरु सबै पार्टीमा जोडजाड नेतृत्व यथावत छ । नेपाली कांग्रेसमा मात्र ५० वर्षभन्दा तलका संर्घषशील जुझारु युवा गगनकुमार थापा विशेष महाधिवेशनमार्फत सभापति बनेका छन् । थापाले जेनजी भनिने युवा पुस्तालगायतको माग, चाहना, समस्या र पीडालाई बुझेका छन् र उनीहरुको आवाजलाई कांग्रेसले मात्र सम्बोधन गर्न सक्छ ।

भन्छन्, “तीन– मेरो उम्मेदवारी जेनजी विद्रोहको भावना, मर्मलाई सम्बोधन गर्ने, जेनजीले चाहेजस्तो पुस्तान्तरण–रुपान्तरण गर्नका लागि हो । म निष्ठापूर्ण न्यायमा विस्वास गर्छु । सोलुखुम्बुबासी सबैमा न्याय दिलाउन लागि पर्नेछु । चार– सोलुखुम्बुका आठ वटा स्थानीय तहमध्ये २०७९ को स्थानीय तह निर्वाचनमा एउटा नगरपालिका र चार वटा गाउँपालिकासहित पाँच वटा तह, जिल्ला समन्वय समिति र ५२ वडामध्ये २५ वटा वडा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । मेरो जितको आधार यही हो ।”

थप्छन्, “पाँच– सोलुखुम्बुमा ठूला पार्टीका उम्मेदवारहरुमध्ये म आफूलाई परीक्षण हुन बाँकी, निस्वार्थ, क्षमतावान, राज्यबाट केही नलिएको बरु निरन्तर कर तिरिरहेको र अब संसदमा पुग्दा समेत राज्यले दिने सेवा–सुविधा नदिने, त्यो सेवा–सुविधावापतको रकम जिल्लाको शिक्षा– स्वास्थ्यमा दिने प्रण गरेको पात्र हुँ । म आफ्नै श्रमले कमाएको निजी सम्पति खाएर सोलुखुम्बुको समृद्धिका लागि निवास्र्थ समर्पित हुनेछु । विकास र समृद्धिका लागि राज्यको सय रुपैयाँको बजेटमा आधा ५० रुपैयाँ वा त्यो भन्दा बढी घुस खाएर काम गर्ने छुइँन । म झुट्टो आश्वासन दिन्न । काम गरेर देखाउँछु । मेरो जितको बलियो आधार यिनै हुन् ।”

“मैले संसारका सबै राष्ट्र घुमेर देश–समाज कसरी बनाउन सकिन्छ ? भनेर आँखामा तस्विर खिचेर राखेको छु । मसँग सोलुखुम्बु मात्र होइन, नेपाल बनाउन सक्ने ‘भिजन’ छ । त्यसैले मलाई मत दिन सोलुखुम्बुका सबै–सबै मतदाता समक्ष आग्रह गर्दछु”, कार्कीको भनाइ छ । फागुन २१ को निर्वाचनपछि नेपाली कांग्रेसको सरकार बनेमा र सोलुबाट कार्की निर्वाचित भएमा उनी मन्त्री बन्न सक्छन् । किनकी उल्लेख भइसक्यो, त्यसका लागि कार्कीको पहुँच, इमान्दारिता र निष्ठापूर्ण छवी छ ।

विगतको अवस्था
२०६४ को संविधान सभा निर्वाचनमा सोलुखुम्बूमा नेकपा (माओवादी) का गोपाल किराती १९०९५ मत पाएर विजयी भएका थिए । नेपाली कांग्रेसका बलबहादुर केसीले नौ हजार चार सय ३४ र नेकपा (एमाले) का बुद्धिकुमार राजभण्डारीले छ हजार सात सय ९८ मत प्राप्त गरेका थिए ।

२०७० को निर्वाचनमा सोलुखुम्बूका नेपाली कांग्रेसका बलबहादुर केसी १२ हजार चार सय ६४ मत पाएका विजयी भएका थिए । एमालेका आङङिमा लामा १० एक सय चार मतसहित निकटतम प्रतिद्धन्द्धी बनेका थिए भने एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का गम्बु शेर्पाले छ हजार दुई सय ६९ मत पाएका थिए । खासमा माओवादीको स्थायी मत यति नै हो ।

०७४ मा नेकपा माओवादी (माओवादी केन्द्र) हेमकुमार राई २० हजार सात सय ४७ मत प्राप्त गरी विजय भएका थिए । नेपाली कांग्रेसका बलबहादुर केसीले १७ हजार दुई सय ९४ मत पाएका थिए ।

२०७९ मा नेकपा एमालेका मानबीर राई १९ हजार तीन सय २४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका बलबहादुर केसीले १६ हजार पाँच सय ४५ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा नेता केसी कांग्रेस एक गराउन नसकेकै र चरम अहंकारका कारण पराजित भएका थिए । यसपटक कांग्रेस उम्मेदवार कार्की केसीभन्दा निकै नै मध्यमार्गी छन् ।

निर्वाचन सात दिन बाँकीः सोलुखुम्बु कांग्रेसमा २०४८ साल यता यसपटक अभुतपूर्व एकता – Nepal Muhar

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.