Connect with us

समसामयिक

अनुमतिबिनै निषेधित क्षेत्र पुग्छन् विदेशी पर्यटक

Published

on

ट्रेकिङ एजेन्सीको क्रियाकलापले नेपालको पर्यटन क्षेत्र बदनाम भइरहेको तथ्य उजागर भएको छ । ट्रेकिङका लागि नेपालका हिमाली क्षेत्र जान इच्छुक पर्यटकलाई एजेन्सीले पदयात्रा अनुमति तथा निषेधित क्षेत्रको भ्रमणका नाममा अनधिकृत ढंगले दुःख दिने गरेकामा अध्यागमन विभागदेखि पर्यटन सम्बद्ध निकायहरूसमेत चिन्तित छन् ।

एजेन्सीका बदमासीले पर्यटन क्षेत्रकै बदनाम

१६ कात्तिकमा दोलखामा हिमपहिरोमा फसेका पर्यटकमध्ये मृत्यु भएका पर्यटकको जोखिमपूर्ण हिमशृंखला अनुमति नलिइएको पाइएपछि अध्यागमन विभागले ट्रेकिङ एजेन्सीलाई सचेत गराएसँगै अनुमतिबेगर विदेशी पर्यटकलाई निषेधित तथा जोखिमयुक्त हिमाली क्षेत्रमा पर्यटक लगिने तथ्य सार्वजनिक भएको हो ।

ट्रेकिङ एजेन्सी तथा पर्यटन व्यवसायीहरूले अनुमति लिएर जानुपर्ने क्षेत्रहरूमा पर्यटकलाई जान उक्साउने तथा प्रशासनिक झन्झट व्यवस्थापन गर्नुपर्छ भन्दै चर्को शुल्क लिने गरेको पाइएपछि विभाग स्वयंले एजेन्सीहरूलाई सुशासनमा अवरोध नपु¥याउन भन्दै सांकेतिक रूपमा सचेत गराएको छ ।

दोलखा घटनाले झस्किएको विभाग
गत १६ कात्तिकमा दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित यलुङ री हिमाल आरोहणका लागि गएका पाँच जना विदेशी पर्यटकको मृत्यु भयो । १५ जनाको आरोहण टोलीका सात जनाको मृत्यु भएकामा पाँच जना विदेशी थिए भने मृत्यु भएका पर्यटकले यात्रा अनुमतिसमेत नलिएको पाइएको थियो ।

व्यक्तिगत रूपमा पदयात्रा अनुमति प्रदान गर्ने व्यवस्था नभएको र आधिकारिक ट्रेकिङ एजेन्सीमार्फत पदयात्राको अनुमति पाइने व्यवस्था छ । एक्लै पदयात्रा गर्ने अनुमति नभएको र तोकिएको रुटबाहेक अन्यत्र जान नपाइने भए पनि एजेन्सीका गाइडहरूले सो नियम मिच्ने गरेको र त्यसकारण कतिपय अवस्थामा पर्यटकले दुःख पाउने गरेको समेत पाइएसँगै विभागले एजेन्सी अनुगमन तथा स्थानीयस्तरमा समेत चेकजाँच बढाएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए ।

विदेशी पर्यटकहरूले नेपालको माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्ला, गोर्खाको चुम भ्याली, मनासलु, ताप्लेजुङ, मुगु, मनाङलगायतका क्षेत्रमा पदयात्रा गर्न अध्यागमन विभागबाट अनुमति लिएर मात्रै जानुपर्ने व्यवस्था छ । पदयात्रा तथा हिमाल आरोहण गर्न जाने पर्यटकबाट एजेन्सीहरूले जथाभावी शुल्क असुल्ने गरेको र निषेधित क्षेत्रमा अनुमतिबेगर समेत लैजाने गरेको तथ्य सार्वजनिक भएपछि विभागले अनुगमन तथा कारबाही सुरु गरेको प्रवक्ता ढकालले बताए ।

सीमावर्ती क्षेत्र तथा हिमाली जोखिमपूर्ण पर्यटनका हिसाबले निषेधित मानिएका यी क्षेत्रमा पर्यटकलाई लैजान एजेन्सीहरूले के कति रकम लिन्छन् ? भन्ने कुरा न अध्यागमन विभागलाई थाहा छ न पर्यटन विभाग वा पर्यटन बोर्डलाई । पर्यटन सम्बद्ध निकाय केवल विदेशी पर्यटकको तथ्यांक मात्रै संकलन गरेर बसिरहेको अवस्थामा ट्रेकिङ एजेन्सीहरूबाट यस्ता अनियमितता भएको तथ्य हिमपहिरो, लेक लाग्ने तथा अन्य विपद् आइपर्दा मात्रै थाहा हुने अवस्था भएको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् ।

नेपाल घुम्न आएका विदेशी पर्यटकलाई सेवा पु¥याएबापत सरकारको विशेष छुट पाएका पर्यटन व्यवसायीहरूले नेपाली पर्यटन र सरकारी सेवाको समेत बेइज्जती गरेको तथ्य उजागर भएको भन्दै विभाग तथा सम्बद्ध निकायले व्यवसायीलाई जरिमाना र सचेतना जगाउन लागेको हो ।

बिचौलिया बन्दै एजेन्सीहरू
अध्यागमन विभागले ट्रेकिङ एजेन्सीका प्रतिनिधिले बिचौलियाका रूपमा काम गरिरहेको भन्दै आवश्यक कागजात र प्रक्रिया पूरा गरी अनलाइनबाटै अनुमति लिनसक्ने गरी मिलाइएको विद्युतीय प्रणालीमार्फत पदयात्री तथा हिमाल आरोहणकर्ताले सेवा लिन सहजीकरण गरिएको प्रवक्ता ढकालले बताए ।

विदेशी पर्यटकलाई अध्यागमन विभागबाट अनुमति लिनुपर्ने नाममा एजेन्सीका प्रतिनिधिहरू अध्यागमन विभागमा स्वयं उपस्थित भएर सुशासन कायम गर्ने काममा चुनौती खडा गरेको भन्दै विभागले ट्रेकिङ एजेन्सीहरूलाई सूचना नै जारी गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यागमन विभागको तथ्यांकलाई हेर्दा २०२५ जनवरीदेखि हालसम्म १ सय २० देशका ३४ हजार ८६ जना विदेशी पर्यटकले नेपालका जोखिमपूर्ण तथा निषेधित क्षेत्र भनिएका १३ स्थानको पदयात्रा तथा आरोहण अनुमति लिएका छन् । गोरखाको मनासलु आरोहणका लागि सबैभन्दा धेरै १४ हजार ३ सय ८० पर्यटकले अनुमति लिएका छन् भने सबैभन्दा कम दार्चुलाको पदयात्राका लागि १० जना विदेशीले अनुमति लिएका छन् ।

जुलाई महिनामा मात्रै ७० हजार १ सय ९३ जना विदेशी यात्रा अनुमति (भिसा) लिएर पर्यटकका रूपमा नेपाल प्रवेश गरेका छन् । सबैभन्दा बढी चिनियाँ पर्यटक ६ हजार ८ सय ९० जना आएका छन् । यात्रा अनुमति प्रणाली नभएका कारण भारतीय पर्यटक २७ हजार १ सय ५२ जना नेपाल प्रवेश गरेको तथ्यांक अध्यागमन विभागसँग रहेको छ ।

विभागले ३० अमेरिकी डलर लिएर यात्रा अनुमति जारी गर्ने गरेको छ । विभागले गत माघदेखि चैतसम्म १ हजार ५ सय ४२ जनालाई पदयात्रा अनुमतिपत्र जारी गरेको थियो ।

पदयात्रा शुल्क
माथिल्लो मुस्ताङ लोमान्थाङः प्रतिदिन ५० डलर
माथिल्लो डोल्पाः प्रति १० दिन ५ सय, थप प्रतिदिन ५० डलर
मनासलु क्षेत्रः सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिसाता ७०, थप प्रतिदिन १० डलर
मनासलु क्षेत्रः डिसेम्बरदेखि अगस्टसम्म प्रतिसाता ५०, थप प्रतिदिन ७ डलर
सिमकोट–यारी हुम्ला क्षेत्रः प्रतिसाता ५०, थप प्रतिदिन ७ डलर
कञ्चनजंघा र तल्लो डोल्पाः प्रतिसाता १० डलर
गौरीशंकर तथा लामाबगर क्षेत्र: प्रतिसाता १० डलर
छेकम्पार र चुञ्चेतः सेम्टेम्बरदेखि नोभेम्बर पहिलो ८ दिन ३५, डिसेम्बरदेखि अगस्टसम्म २५ डलर

२०२५ को पदयात्रा अनुमति
आरोहण तथा पदयात्रा क्षेत्र अनुमति लिएका पर्यटक संख्या
माथिल्लो मुस्ताङ ४,२९०
माथिल्लो डोल्पा ३३५
हुम्ला ७,४६०
तल्लो डोल्पा १,०८१
दोलखा २६५
गोर्खा चुम भ्याली २,४६८
गोर्खा मनासलु १४,३८०
ताप्लेजुङ कञ्चनजंघा १,७६४
मुगु ८३
संखुवासभाका सबै निषेधित क्षेत्र २६७
मनाङ नर्फु १,६६९
बझाङ १४
दार्चुला १०
जम्मा ३४,०८६
तथ्यांक स्रोतः अध्यागमन विभाग
अमृतनाथ तिमल्सिना/राजधानी

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.