Published
3 weeks agoon
By
Nepal Muhar
पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’
जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्छन् । उनी विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाईदिन्छन् । गृहकार्य गर्न सहजीकरण गर्छन् । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्गमा पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्लीको ।
नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइसकेको छ । पिपलको रुखमुनि निरन्तर सिकाइ गतिविधि सञ्चालन गर्दै आएकाले यसको नाम नै ‘पिपलबोटे खुला विद्यालय’ दिइएको छ । तर, यो दर्ता गरिएको औपचारिक विद्यालय वा शैक्षिक केन्द्र भने होइन, भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समपर्णले गर्दा निरन्तरता पाएको शैक्षिक अभियान हो । उनले विपन्न, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको योगदानस्वरुप छरछिमेकमा सबैले ‘चन्द्र सर’को उपमा दिएका छन् ।
सङ्घर्षले सिकाएको सेवा
सुनसरीको छिमेकी जिल्ला धनकुटाको कागते–६ मा बुबा श्रीकान्त भण्डारी र आमा मनमाया भण्डारीको कोखबाट २०२२ सालमा जन्मिएका चन्द्र भण्डारी चार सन्तानमध्ये कान्छा छोरा हुन् । सामान्य परिवारमा जन्मिएर हुर्किएका उनले बाल्यकालमै अभाव र सङ्घर्ष झेल्नुपर्यो । गुजाराको खोजीमा आमाबाट ५० रुपैयाँ खर्च लिएर उनी २०४४ सालमा इटहरी झरेका थिए ।
इटहरीमा दाजु आफन्त पर्नेहरूसँग ग्यारेजमा मेसिन बनाउने काम थाले । केही समयपछि एक साथीसँग मिलेर हटिया बजारमा थानको कपडाको व्यापार गरे । तर करिब छ महिनामै त्यो व्यापार बन्द भयो । कपडा व्यापारमा सफलता नमिलेपछि बाँसको व्यापारमा लागे । विसं २०५१ देखि उनले टेङ्ग्राखोला नजिकै बाँसको व्यापार सुरु गरे । धरानको पानमारा, मोरङको केराबारी र धनकुटाबाट त्यसबेला २० देखि २३ रुपैयाँमा किनिएका बाँस २५ मा रुपैयाँमा बिक्री हुने गर्थ्यो दुई रुपैयाँ नाफा हुन्थ्यो । बाँस खरिद गरेर सुनसरीका विभिन्न स्थान शान्तिझोडा, तरहरा, इटहरीलगायत ठाउँमा बिक्री गर्दै उनले आफ्नो व्यवसाय विस्तार गरे ।
यही क्रममा स्कुल जाने उमेरका बालबालिका बाँसका चाङ वरिपरि धुलोमाटोमा खेल्दै गरेको भण्डारीले देखे । “उनीहरूका बाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना सायदै थियो”, उनी सम्झन्छन्, “मलाई भने गरिबी र अभावले पढाइ अधूरै छाड्नुपरेको बाल्यकालको झल्को आयो ।” त्यसपछि उनले बालबालिकालाई भेला गरेर पढाउने निधो गरे । सुरुमा उनले त्यहाँ आउने १० जना बालबालिकालाई भेला गरेर बिहान र बेलुका दुईदेखि तीन घण्टा निःशुल्क ट्युसन पढाउन सुरु गरे । मलाई लाग्थ्यो बालबालिकालाई ‘अक्षर चिनाएपछि स्कुल जाने बाटो पक्कै खुल्छ, यही बाँसको व्यापारले जीवनको सबैभन्दा ठूलो उद्देश्य पनि देखायो अनि बालबालिकाको पीडाले खुला विद्यालय पनि जन्मियो”, चन्द्र भन्छन् ।
विपन्न परिवारका बालबालिकालाई भरोसा
चन्द्रको यो प्रयास विस्तारै फैलिँदै गयो । स्थानीय समुदायमा चर्चा बढ्दै जाँदा विद्यार्थी थपिँदै गए । पहिला खोलाकिनारमा सानो कटेजजस्तो टहरो थियो, त्यही टहरोमा बालबालिकालाई राखेर ट्युसन पढाउने चाँजोपाँजो मिलाइएको थियो । बिहान र बेलुका गरी ४० देखि ५० जना बालबालिका पढ्न आउँथे । तर २०६० सालमा उक्त कटेज भत्किएपछि उनले कक्षा खुला आकाशमुनि नै पढाउँदै आएका छन् । भण्डारी सम्झन्छन्, “कटेज भत्किए पनि बालबालिकामा पढ्ने चाहना थियोे, उनीहरूले घरबाट बोरा ल्याएर भुइँमा बिछ्याएर सिकाइमाग्न थाले ।” सुविधा केही थिएन, तर पढ्ने चाहना देखिन्थ्योे”, उनी भन्छन् ।
बर्खामासको भेलबाढी होस् वा हिउँदको सुक्खा खडेरी, टेङ्ग्राखोलाको धमिलो पानी, बर्खामा आउने बाढी, कहिले सुक्खा यी सबै चुनौतीबीच पनि चन्द्र भण्डारीको ट्युसन कहिल्यै रोकिएन । न कहिल्यै अवरोधले रोकेको छ, न कहिल्यै उनलाई अल्छी नै लागेको छ ।
बालबालिकालाई ट्युसन पढाउन छाडेनन् । कोभिड–१९ महामारीका बेला देशभर बन्दाबन्दी चल्दासमेत उनले हार मानेनन्, घरबाटै अनलाइन कक्षा सञ्चालन गरे । कोभिड–१९ पछि विद्यार्थी घट्दै गए । अहिले चन्द्रले दैनिक ३० देखि ३५ जना बालबालिकालाई नियमित ट्युसन पढाउँदै आएको बताए ।
विपन्न परिवारका बालबालिकाका लागि विद्यालयको शिक्षाको अलवा थप सिक्ने अवसरको केन्द्र बनेको छ । यहाँ आउने अधिकांश बालबालिका मकै पोलेर बेच्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने, रिक्सा चलाउने श्रमिक परिवारका छोराछोरी छन् । मध्यम र उच्च वर्गका केही बालबालिका पनि यहाँ पढ्छन् ।
भण्डारी ट्युसन पढाउनमात्र सीमित छैनन्। उनले जन्मदिनको अवसर पारेर पढ्न आउने बालबालिकालाई कापी, कलम र पुस्तक उपहार दिन्छन् । कतिपय सहयोगी हातहरू पनि शैक्षिक सामग्री र लत्ताकपडाको सहायता लिएर आइपुग्ने गर्छन् । सिकाइका अतिरिक्त शैक्षिक सामग्री तथा लत्ताकपडा उपहार र सहायताले बालबालिकालाई हौसला थप्ने गरेको छ । भण्डारी बालबालिकालाई सिकाउने व्यवस्थित ठाउँको अभाव खड्किरहेको बताउँछन् । भन्छन्, “घामपानी छल्ने एउटा व्यवस्थित स्थानमा राखेर पढाउन पाए अझ राम्रो हुन्थ्यो ।”
सेवाको कदर
चन्द्र भण्डारीको स्वःस्फुर्त सेवाभावको कदर गर्दै स्रयौ सङ्घसंस्थाले सम्मान गरेका छन् । उनलाई झापा दमकको ‘पढ्ने घर’ संस्थाले २०७१ सालमा पहिलोपटक सम्मान गरेको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था, विद्यालय र कलेजबाट दर्जनौँ सम्मान र अवार्ड प्राप्त गरिसकेका छन् । दीर्घकालीन सेवाको कदर गर्दै भण्डारीलाई प्रतिष्ठित ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ प्रदान गरिएको थियो ।
विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन शिक्षणमार्फत पुर्याएको योगदानको कदर गर्दै २०७२ सालमा इटहरीस्थित सेक्रेड हार्ट इङ्लिस स्कुलको २०औँ वार्षिकोत्सवका अवसरमा भण्डारीलाई सम्मान गरेको थियो । यस्तै मानवअधिकार तथा शान्ति समाजले नगदसहित सम्मान गरेको छ । जनता बहुमुखी क्याम्पस इटहरीले पनि उनको कार्यलाई उदाहरणीय ठान्दै सम्मानपत्र प्रदान गरिसकेको छ ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो मानिने नयन मिडिया फाउन्डेसनद्वारा सञ्चालित प्रदेश खबर डटकमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’बाट २०८१ बाट उनलाई सम्मान गरिएको थियो । त्यसैगरी, कस्तुरी एकेडेमी इटहरीले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानपत्र प्रदान गरेको थियो ।
भण्डारीका लागि यी सम्मान केवल कागजमा लेखिएका शब्दमात्र होइनन्, ती सबै उहाँप्रतिको समाजको भरोसा र माया हुन्, जसले उहाँलाई अझै अघि बढ्न प्रेरित गरिरहेको छ । भण्डारी भन्छन्, “कर्म गर्नु मेरो कर्तव्य हो, फलको आश गरेको छैन । मैले जीवनमा गर्नुपर्ने यसबाहेक अर्को कुनै उन्नत काम देखेको छैन । मलाई अहिलेसम्म सैयौं सङ्घसंस्थाले सम्मान प्रदान गरेका छन् । ती सम्मानहरूले झन् जिम्मेवारीबोध गराएको छ, जहिलेसम्म सक्छु स्वास्थ्यले साथ दिएसम्म बालबालिकालाई पढाउने, सिकाउने कर्म गरिरहन्छु ।”
उनका लागि यो निःशुल्क शिक्षा दिनु पेसा नभएर जीवनको उद्देश्य र आत्मसन्तुष्टिको स्रोत बनेको छ । यही निःस्वार्थ भावनाले उहाँलाई तीन दशकभन्दा बढी समयदेखि यही एउटै ठाउँमा उभ्याइरहेको छ । भण्डारी भन्छन्, “दुःखसुख तीन दशकभन्दा बढी समय यसरी नै बिताएँ । म खुसी छु, पढ्न आउने बालबालिका पनि खुसी छन् ।” यही खुसीले उनलाई हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गरिरहेको छ । शैक्षिक र सामाजिक सचेतनाको संवाहकका रूपमा भण्डारी परिचित छन् । उनले पढाएका विद्यार्थी हाल कोही उच्चशिक्षा र रोजगारीका सिलसिलामा अमेरिका पुगेका छन् भने कोही नेपालमै विभिन्न पेसा, व्यवसायमा संलग्न छन् ।
श्रीमती र छोराहरूको भर
एसएलसीसम्मको मात्र पढाइ पूरा गर्नुभएका भण्डारीले आफूले चाहेजति पढ्न नपाए पनि श्रीमती सावित्री र छोराहरूलाई पढ्ने वातावरण बनाएर आफ्नो रहर पूरा गरिरहेका छन् । चन्द्र भण्डारीको खुला विद्यालय र श्रीमती सावित्रीसँगको वैवाहिक जीवनको उमेर बराबरी छ । आफूले उच्च शिक्षा पढ्न नपाएर पनि चन्द्रले श्रीमतीलाई पढ्न प्रेरणा, हौसला दिए । विवाह गर्दा एसएलसीमात्र उत्तीर्ण गरेकी सावित्रीले विवाहपछि नै पढाइलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गरिन । उच्च शिक्षा हासिलसँगै उनी अहिले इटहरीकै एक निजी विद्यालयमा पढाउँछिन् । त्यही आम्दानीबाट परिवारको गुजारा चलिरहेको छ । चन्द्र सावित्रीका छोरा उत्तम र उत्सव अहिले स्नातकोत्तर अध्ययनरत छन् ।
सङ्गीता राई/रासस