सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षताको सम्पत्ति जाँचबुझ आयोगले काठमाडौं केशरमहलमा कार्यालय स्थापना गरेर काम थालेको छ ।
मन्त्रिपरिषद्को गत वैशाख २ गतेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो । आयोग अध्यक्ष भण्डारीले केशरमहलमा कार्यालय स्थापना गरी काम सुरु भइसकेको बताएका छन् ।
केशरमहलस्थित पुरानो शिक्षा मन्त्रालय भवनमा आयोगको कार्यालय स्थापना गरिएको छ । आयोगले पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश केसीलाई प्रवक्ता तोकेको छ । जो आयोगको सदस्य हुन् । भण्डारीको अध्यक्षतामा गठन गरिएको आयोगमा केसीसहित पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन् ।
भण्डारी आयोगले जाँचबुझ ऐन, २०२६ बमोजिम काम गर्ने जिम्मेवारी पाएको छ । आयोगलाई एक वर्षको कार्यकाल तोकिएको छ । आयोगलाई सार्वजनिक पदमा रहेका, सेवानिवृत्त, पदबाट हटिसकेका पदाधिकारी एवम् तिनका परिवारको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म अनुसन्धान गर्ने अधिकार छ । आयोगले सम्पत्ति विवरण भराएर आवश्यकताअनुसार बयान पनि लिन सक्ने छ ।
आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम तथा सामाजिक सञ्जालमार्फत समेत उजुरी संकलन गर्ने तयारी गरेको छ । सरकारले आयोगका लागि तत्कालका लागि ३२ जना कर्मचारी खटाउने भएको छ ।