Connect with us

समसामयिक

रोसी बाढीमा फसेका ८९ यात्रुको नौ घण्टापछि उद्धार

Published

on

अविरल वर्षासँगै सोमबार साँझ रोसी खोलामा आएको बाढीमा फसेका ८९ जना यात्रुको नौ घण्टापछि सकुशल उद्धार गरिएको छ । सोमबार दिउँसो बनेपा, पनौती, बेथानचोक, धुलिखेल, नमोबुद्धलगायत क्षेत्रमा परेको अविरल वर्षासँगै बीपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–७ घुमाउनेमा पाँच वटा हायस र इभी गाडीका यात्रु बाढीमा फसेका थिए ।

रोसी खोलामा आएको बाढीका कारण सोमबार साँझ ५ बजेदेखि ती गाडीहरू खोलाको बिच भागमा रोकिएका थिए । काठमाडौँतर्फ आइरहेका बा४ख ६३५५, बा५ख ३१५८, बा४ख ५२६१, बागमती प्रदेश ०१–००६ ख ७५९६ र बागमती प्रदेश ०८–००१ ख ००७७ नम्बरका हायस तथा इभी गाडीमा सवार ८९ जना यात्रु नौ घण्टासम्म बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

बाढीमा फसेका यात्रुको उद्धारका लागि नेपाली सेनाको धुलिखेलस्थित श्रीमेहर गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको १५ नम्बर गणका विपद् उद्धार टोली तथा स्थानीयवासी परिचालन भएका थिए । राति ११ बजेसम्म पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको श्रीमेहर गण र सशस्त्र प्रहरी बलको १६ नम्बर गण मुख्यालयबाट राफ्टिङ बोट मगाएर यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । उद्धार गरिएका यात्रुलाई दुई वटा यात्रुवाहक बस र सशस्त्र प्रहरीको एउटा गाडीमार्फत राति नै गन्तव्यतर्फ पठाइएको थियो ।

वर्षाका कारण रोसी खोलामा बाढी आउन थालेपछि प्रहरीले सवारी साधन रोकेको समयमा जबरजस्ती ती गाडीहरू अघि बढाएकाले बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताए । वर्षाको समयमा जबरजस्ती यात्रु बोकेर अघि बढेका पाँचवटै गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले अस्थायी डाइभर्सन सडक बगाएपछि खोलामा अड्किएका गाडी भने सोही स्थानमा रहेका छन् ।

२०८१ असोज दोस्रो साताको बाढीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो । त्यसपछि रोसी खोलाको किनारबाट अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ । सामान्य वर्षापछि पनि रोसी खोलामा बाढी आउँदा यातायात अवरुद्ध हुने गरेको छ ।

बाढीबाट क्षतिग्रस्त राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ ।


गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.