बालेन्द्र सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को रेड नोटिसमा राख्न प्रक्रिया थालेको करिब एक महिना पूरा गर्दा पनि रेड नोटिस जारी गरेको छैन ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार देउवा दम्पतीमाथि रेड नोटिस प्रक्रियाकै चरणमा छ । ती अधिकारीका भनाइमा देउवा दम्पतीमाथि रेड नोटिस जारी गर्ने प्रक्रियाका लागि इन्टरपोलले कुनै निर्णय गरेको छैन । उसले प्रक्रिया नपुगेको भन्दै विलम्ब गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न देउवा दम्पतीमाथि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । उनीहरु हङकङमा छन् । देउवा दम्पती देशबाहिर रहेकाले विभागको आग्रहमा प्रहरीको एनसीबी (नेसनल सेन्ट्रल ब्युरो) ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो ।
यद्यपि, इन्टरपोलको केन्द्रीय कार्यालय फ्रान्सले देउवा दम्पतीमाथि रेड नोटिस जारी गर्न अझै एनसीबी काठमाडौंसँग थप कागजात मागेको जनाएको छ ।