Connect with us

अर्थ

डेढ करोडको सुन्तला बिक्री गर्ने गाउँ

Published

on

खोटाङको सुन्तलाको राजधानी भनेर परिचित घोर्ले गाउँबाट एक वर्षमा डेढ करोड बढीको सुन्तला बिक्री हुने गरेको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित घोर्ले गाउँमा ३१ घरको बसोबास छ। सबै घरमा सुन्तलाको बगान छन्। सबै घरले हरेक वर्ष २-३ लाख बढीको सुन्तला बिक्री गर्दै आएका छन्। कुनै-कुनै घरले ५-६ लाखसम्मको सुन्तला हरेक वर्ष बिक्री गर्दै आएको बताउँछन्।

खोटाङको सुन्तलाको राजधानी घोर्ले गाउँमा यस वर्ष पनि लटरम्म सुन्तला फलेका छन्। सुन्तला खरिदको लागि तराईबाट व्यवसायी घोर्ले गाउँ आइसकेका छन्। अहिले घोर्ले गाउँका नागरिकलाई सुन्तला बिक्री गर्न सडकले सहज बनाएको छ। तराईबाट व्यवसायी आएर बोटबाटै खरिद गरेर लाने गरेको स्थानीय रुपा राई बताउँछन्। “पहिले बाउबाजे ढाकरमा बोकेर तराईसम्म लगेर सुन्तला बिक्री गर्थे । अहिले गाउँमा सडक आएपछि तराईका व्यवसायी सुन्तला खरिद गर्न गाउँमै गाडी दिएर आउछन्” राईले भने ।

पुर्खाकै पालादेखि घोर्लेमा सुन्तला रहेको स्थानीय बताउँछन्। पहिले खानको लागि पुर्खाले रोपेको सुन्तला अहिले व्यवसायिक बनेको छ। ३० घर पुमा राई र एक घर बस्नेत परिवारको बसोबास रहेको घोर्ले गाउँका सबै परिवारको घरखर्च सुन्तलाबाट भएको आम्दानी हुँदै आएको छ। घर खर्चकै लागि त्यहाँका स्थानीय रोजगारी गर्न बाहिर जानुपर्ने अवस्था नभएको स्थानीय युवा कञ्चन राईको भनाइ छ। सुन्तला उत्पादनलाई धेरै मिहेनत पनि गर्न नपर्ने उनी सुनाउँछन्। बेलाबेलामा गोडमेल गर्ने, मल र पानी लगाउने बाहेक अन्य मिहिनेत सुन्तलालाई आवश्यक नपर्ने राई बताउँछन्।

१० वर्षदेखि घोर्लेबाट सुन्तला ठेगेर लादै आएका लहानका रामकुमार मण्डल यो वर्ष पनि सुन्तला लिन पुगिसकेका छन्। घोर्ले गाउँका प्राय सबै सुन्तला आफूले लादै आएको उनको भनाइ छ। कुनै घरको पुरै बगान नै ठेग्ने गरेका मण्डल कुनै घरबाट काटुनको हिसाबले सुन्तला खरिद गर्दै आएको सुनाउँछन्। घोर्लेबाट सुन्तला जम्मा गरेर गाडीमा लहान पुराएपछि भण्डारण गरेर बिक्री गर्ने गरिएको उनको भनाइ छ।

अत्याधिक सुन्तला फल्ने घोर्ले गाउँमा २०७७ सालमा प्रथम सुन्तला महोत्सवसमेत गरिएको थियो। हालसम्म घोर्ले गाउँका सुन्तलामा कुनै रोग नदिएको स्थानीय बताउछन्। अहिलेसम्म सुन्तलामा कुनै औषधि, विषादी केही पनि प्रयोग नगरिएको स्थानीय होमबहादुर राई बताउँछन्।

सुन्तला उत्पादनको कारण घोर्ले गाउँको बसाइँसराइसमेत रोकिएको छ। अन्य गाउँबाट हरेक वर्ष नागरिक बसाइँ सरेर गए पनि घोर्लेगाउँबाट कोही पनि बसाइँ नगएको होमबहादुर राईले बताए।
राजकुमार भट्टराई/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.