लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका ३५ उद्योगले २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता बुझाएका छन्। ३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो। अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्रीसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिएका छन्।
प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो। त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा विद्युत प्राधिकरणले उद्योगको लाइन काटेको थियो।