रुपन्देहीको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। गएराति ११ः३० बजेको समयमा गाउँपालिकाको वडा नं १ पकडीस्थित निवासमै चौधरीमाथि गोली प्रहार भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा चौधरीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
चौधरीले प्रहरीलाई घर कमाउण्ड बाहिरबाट कसैले आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको जानकारी गराएका छन । तर, कम्पाउन्ड बाहिरबाट हानेको गोली छल्न सफल भएकोले कुनै चोटपटक नलागेको उनले जनाएका छन् ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।