Connect with us

समसामयिक

पोखरा विमानस्थल भ्रष्टाचारमा अर्को मुद्दा दायर, पूर्वमन्त्री ज्ञानेन्द्र कार्की पनि डामिए

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगले अर्को मुद्दा दायर गरेको छ । अख्त्यिारले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना र निर्माण कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।

आज बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको पाएकाले मुद्दा दर्ता गरिको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।

अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसहित १३ जना र निर्माण कम्पनीलाई विपक्षी बनाइएको छ।

पोखरा विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङबीच भएको खरिद सम्झौतामा ‘कन्ट्र्याक्ट प्राइस’ भित्रै कर, महसूल तथा अन्य शुल्क समावेश गरी त्यस्ता कर, महसूल तथा अन्य शुल्क निर्माण कम्पनीले नै प्रचलित नेपाल कानुन बमोजिम तिर्नु बुझाउनेपर्ने प्रावधान रहेको छ। तर, त्यस विपरीत निर्माण कम्पनीलाई कर, महसूल र तथा अन्य शुल्कमा छुट दिएको पाइएको अख्तियारको आरोपमा पत्रमा उल्लेख छ।

यसरी कर, महसूल र अन्य शुल्कमा छुट दिँदा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ हानीनोक्सानी पु¥याएको अख्तियारको ठहर छ। त्यही रकम बराबरको बिगो दाबी गरी अख्तियारले मुद्दा दायर गरेको हो। यसमा अख्तियारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेलाई विपक्षी बनाइएको छ।

अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र तत्कालीन सहसचिव डण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विपक्षी बनाइएको छ।

यसैगरी, नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवको आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकार, नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।

अख्तियारले पोखरा विमानस्थल निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ, कम्पनीका अध्यक्ष वाङ बू र प्रोजेक्ट म्यानेजर याङ जिगाङलाई पनि विपक्षी बनाएको छ।

pokhara-airport-1

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.