ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कमलुङ) मा हालसम्म साढे एघार करोड रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्ष सम्ममा पाथीभरामा कुल ११ करोड ६४ लाख ९० हजार ७४ रुपियाँ भेटी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङ्लिङमा हिजो आइतबार सार्वजनिक सुनुवाइ आयोजना गर्दै आफ्नो गतिविधि सार्वजनिक गरेको हो।सार्वजनिक सुनुवाइमा समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले प्रस्तुत गरेको प्रतिवेदनअनुसार कुल भेटीमध्ये अघिल्लो आर्थिक वर्षसम्मको रकम आठ करोड नौ लाख छ हजार ३६३ रुपियाँ रहेको थियो।
त्यस्तै गत आव २०८१÷८२ मा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपियाँ भेटी सङ्कलन भएको छ। दाताबाट दान सहयोगबापत प्राप्त रकम २७ लाख ७७ हजार ४४३ रुपियाँ र बैङ्कको ब्याजबाट प्राप्त १६ लाख ४१ हजार ५९१ रुपियाँ रहेको कार्यकारी निर्देशक हाङ्बाङले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यता गत आवसम्म सङ्कलित उक्त भेटी रकममध्ये हालसम्म आठ करोड २९ लाख ७७ हजार ३०० रुपियाँ खर्च भइसकेको छ।पाथीभरा धाम तथा पाथीभरा क्षेत्रको प्रवद्र्धन र पूर्वाधार विकासका कार्यमा उक्त रकम खर्च भएको समितिले जनाएको छ।खर्च भएर बाँकी रहेको भेटी रकम तीन करोड ३५ लाख १२ हजार ७७३ रुपियाँ समितिको खातामा मौज्दात रहेको पनि समितिले जानकारी दिएको छ ।
समितिका अनुसार विभिन्न ४६ देशबाट हालसम्म १० लाख ३९ हजार २३ विदेशी मुद्रा पनि भेटीका रुपमा सङ्कलन भएको जनाइएको छ।यस्तै हालसम्म पाथीभरामा १७८ तोला ८२ लाल १ नम्बरको सुन सङ्कलन भएको छ।पाँच हजार २९८ तोला असली चाँदी, छ हजार ५३९.७७५ किलोग्राम तामा र १६ हजार ३६८।१०० किलोग्राम घण्टी पनि सङ्कलन गरिएको समितिले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सार्वजनिक सुनवाइमा विभिन्न सरोकारवाला तथा सर्वसाधारण नागरिकले विभिन्न सवालहरु उठाएका थिए।सरोकारवाला तथा अन्य नागरिकले उठाएका सवालहरुको पाथी क्षेत्र विकास समितिका पदाधिकारी, कार्यकारी निर्देशक लगायतले जवाफ दिएका थिए ।
यता कार्यक्रमका अवसरमा पाथीभरा क्षेत्र विकास समिति स्थापना, विभिन्न माध्यमबाट पाथीभराको प्रवद्र्धन र विकासमा सहयोग पु¥याउनेलाई सम्मानसमेत गरिएको छ।सम्मानित हुनेमा पूर्वमन्त्री मणि लामा, पूर्व जिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज व्यक्तित्व ताराबिर थापा छन् । त्यस्तै लेखक राजेश्वर थापा, गीत तथा सङ्गीतकार अनिल खड्का, फोटोग्राफर हर्कराज गुरुङ, पत्रकारद्वय खगेन्द्र अधिकारी, कृष्ण फुरुम्बो, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुलाई दोसल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गरिएको थयो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित अन्य जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो।