Connect with us

अर्थ

दसैँलगत्तैको वर्षाले कृषिमा साढे तीन अर्बको क्षति

Published

on

मधेशमा सबैभन्दा बढी दुई अर्ब ९८ करोड चार लाख ९७ हजार मूल्यबराबरको क्षति भएको छ । आठै जिल्लामा रोपिएको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्यांक छ । दसैँलगत्तै १७, १८ र १९ असोजको वर्षाले कृषिक्षेत्रमा साढे तीन अर्बको क्षति भएको विवरण संकलन भएको छ । पछिल्लो वर्षाले गरेको क्षतिको विवरण भने संकलन भइरहेको कृषि विभागले जनाएको छ ।

विभागका अनुसार दसैँलगत्तैको वर्षाले कुल तीन अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपैयाँबराबरको कृषिबाली, पशुधन, पूर्वाधार र बिउविजनमा क्षति पुगेको छ । बालीतर्फ कोशीमा ३४ करोड २४ लाख मूल्यबराबरको क्षति भएको छ । कोशीमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोबारीमा क्षति पुगेको विभागले जनाएको छ ।

त्यस्तै, मधेशमा सबैभन्दा बढी दुई अर्ब ९८ करोड चार लाख ९७ हजार मूल्यबराबरको क्षति भएको छ । आठै जिल्लामा रोपिएको धानबालीमा ठुलो क्षति भएको प्रारम्भिक तथ्यांक छ । त्यस्तै, तरकारी, फलपूmल, उखु र पशुधनमा पनि क्षति पुगेको छ ।

बागमतीमा एक करोड २४ लाख ६३ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा चार लाख ९८ हजार मूल्यबराबरको कृषिबाली तथा पशुधनमा क्षति पुगेको विभागको तथ्यांक छ । प्रारम्भिक तथ्यांकअनुसार बालीतर्फ तीन अर्ब ३३ करोड ७१ लाख ६३ हजार, पशुपन्छीतर्फ १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ चार करोड ४५ लाख ९५ हजार र बिउविजनतर्फ दुई करोड ७९ लाख ४४ हजारबराबरको क्षति पुगेको छ ।

विभागका महानिर्देशक प्रकाश सञ्जेलले दुवै वर्षाका कारण धानबालीमा सबैभन्दा बढी क्षति पुगेको बताए । ‘अघिल्लो वर्षाको क्षति विवरण आइसकेको छ, पछिल्लोको भने संकलन जारी छ,’ उनले भने । काट्ने वेला भएको धानमा पछिल्लो वर्षाले धेरै क्षति भएको रिपोर्टिङ प्राप्त भएको उनले जानकारी दिए ।

लुम्बिनीमा ८९६ हेक्टरको धानबालीमा क्षति
बेमौसमी वर्षाबाट लुम्बिनी प्रदेशमा आठ सय ९६ हेक्टर क्षेत्रफलको धानबालीमा पूर्ण क्षति भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार क्षेत्रफलका आधारमा रुपन्देहीमा र प्रतिशतका आधारमा गुल्मी जिल्लामा धेरै क्षति भएको छ ।

रुपन्देहीमा दुई सय ४० हेक्टर अर्थात् शून्य दशमलव ४ प्रतिशत क्षति भएको छ भने गुल्मीमा दुई सय २२ हेक्टर अर्थात् ३ प्रतिशत क्षति भएको छ । त्यस्तै, नवलपरासीमा दुई सय एक हेक्टर, कपिलवस्तुमा एक सय ४४ हेक्टर, अर्घाखाँचीमा ५३ हेक्टर, पाल्पामा ३२ हेक्टर र बर्दियामा पाँच हेक्टर क्षेत्रफलको धानबालीमा पूर्ण क्षति भएको छ ।

लुम्बिनी प्रदेशमा दुई लाख ९८ हजार १० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा शून्य दशमलव ३० प्रतिशत अर्थात् आठ सय ९६ हेक्टरमा पूर्ण क्षति भएको हो । प्रदेशका जिल्लामा काटेर खेतमै रहेको सात हजार दुई सय ५० हेक्टर अर्थात् २ दशमलव ४३ प्रतिशत क्षेत्रफलको धानबाली भिजेको छ । काटेको धान खेतमै सबैभन्दा धेरै भिजेको जिल्लामा कपिलवस्तु पर्दछ । कपिलवस्तुको तीन हजार ३६ हेक्टर अर्थात् ४ दशमलव ६५ प्रतिशत काटेको धान खेतमै भिजेको छ ।

त्यस्तै, दाङमा एक हजार ९४, गुल्मीमा सात सय ७५, अर्घाखाँचीमा ६ सय ७६, नवलपरासीमा चार सय १०, पाल्पामा चार सय ११, रुपन्देहीमा तीन सय ६०, प्युठानमा तीन सय १३, बर्दियामा एक सय ४६ र रुकुमपूर्वमा दुई हेक्टर क्षेत्रफको काटेको धानबाली खेतमा भिजेको छ ।

कोशीमा दुई अर्ब पाँच करोडबराबरको क्षति
गत १५ देखि १७ असोजसम्मको अविरल वर्षाले कोशी प्रदेशका धानबालीमा दुई अर्ब पाँच करोडभन्दा बढीको क्षति भएको छ । कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा अविरल वर्षाले सो बराबरको क्षति पुगेको हो । तर संघीय सरकारको कृषि विभागको तथ्यांकमा भने कोशीमा ३४ करोड २४ लाखबराबरको मात्रै क्षति भएको तथ्यांक उपलब्ध गराएको छ ।

प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी धानखेती हुने जिल्ला झापा, मोरङ र सुनसरीमा धान तथा तरकारीबालीमा ठुलो क्षति पुगेको छ । सबैधन्दा बढी झापामा चार हजार तीन सय ३६४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसबाट करिब २१ हजार ८२० मेट्रिक टन उत्पादन नोक्सानी भएको छ ।

त्यसैगरी, मोरङ जिल्लामा तीन हजार चार सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । उक्त क्षतिको कारण करिब १६ हजार ४२० मेट्रिकटन धान नोक्सानी भएको । यसबाट ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँबराबरको आर्थिक क्षति भएको विवरणमा उल्लेख छ ।

सुनसरी जिल्लामा दुई हजार आठ सय ५१ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । यसबाट करिब १२ हजार ६५८ मेट्रिकटन उत्पादनमा क्षति पुगेको र करिब ४५ करोड ३१ लाख रुपैयाँ भएको अनुमान छ । त्यसैगरी, सुनसरीकै दुई सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाली पनि पूर्ण रूपमा नष्ट भएको छ । यसबाट करिब दुई हजार मेट्रिकटन तरकारी नष्ट हुँदा करिब चार करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको जनाइएको छ ।

धनकुटाको दुई हजार पाँच सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाएको १२ हजार चार सय १५ मेट्रिकटन धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानामगरले बताए ।

संखुवासभाको खाँदबारी– ४ सेकाहामा स्थानीय गोरे गुरुङको भिजेको धानबाली
अविरल बेमौसमी वर्षा र हुरीबतासले संखुवासभामा करिब ४० प्रतिशत अन्नबालीमा क्षति पुगेको छ । संखुवासभामा पहलपुर भएर पाक्न लागेको धान र कोदोमा ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माले बताए । बेमौसमी वर्षाले संखुवासभाका धानखेतीमा ३९ दशमलव ८८ प्रतिशत धानबालीमा क्षति पुगेको छ । जिल्लाभरका आठ हजार चार सय ९३ हेक्टर क्षेत्रफल धानखेती गरिएकोमा पाँच हजार ९६ हेक्टर क्षेत्रफल अर्थात् ६० प्रतिशत धानमा क्षति नपुगेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

त्यसैगरी, कोदोखेतीमा २८ प्रतिशत हुरीबतास र वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ । जिल्लाभर ६ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमा कोदोखेती हुने गरेको छ । तीमध्ये काटेको, पाकेको ढलेको, नपाकेको ढलेको गरी वर्गीकरण गरेर हेर्दा संखुवासभामा २८ प्रतिशत कोदोखेती क्षति पुगेको पाइएको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख विश्वकर्माले बताए ।
नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.