अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको नयाँ तीनबुँदे प्रस्तावबाट असन्तुष्ट बनेका छन् । किनकी इरानले आणविक कार्यक्रममाथिको वार्तालाई पछि सार्ने प्रस्ताव राखेको छ । जबकि अमेरिकाका लागि आणविक कार्यक्रम नै सबैभन्दा ठूलो र प्राथमिक मुद्दा हो ।
त्यही कारण ट्रम्पले इरानको तीनबुँदे प्रस्ताव अस्वीकार गरेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानको योजनाले वासिङ्टनको मूल माग पूरा नगर्ने र यसमा इरानको आणविक कार्यक्रमको समाधान सबैभन्दा पहिले खोजिनु पर्ने अमेरिकाको सर्त रहेको छ । ट्रम्पले आफ्ना सल्लाहकारहरूसँगको बैठकमा इरानका सर्तहरू खारेज गरिदिएको ‘रोयटर्स’ले जनाएको छ ।
यसले पश्चिम एसियामा शान्ति स्थापनाको आशालाई अझ कमजोर बनाएको विश्लेषण गरिएको छ । तेल र ग्यासको आपूर्ति पहिले नै अवरुद्ध भइरहेको छ, जसका कारण विश्वभर महँगी बढिरहेको छ ।
इरानको तीनबुँदे प्रस्तावमा के छ ?
इरानको तीनबुँदे प्रस्तावमा युद्धको अन्त्य, नाकाबन्दी हटाउने र परमाणु वार्तासम्बन्धी विषयहरू समावेश छन् । यसमा अमेरिका–इजरायलले इरानमाथिको युद्ध समाप्त गर्ने र नयाँ युद्ध वा हमला नगर्ने ग्यारेन्टी दिने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा होर्मुज लगायतका प्रमुख ढुवानी मार्गहरू पुनः खोल्ने र इरानको आणविक कार्यक्रम तथा युरेनियम संवर्धनको अधिकारजस्ता विवादास्पद मुद्दाहरूमा पछि छलफल गर्ने प्रस्ताव रहेको बताइएको छ ।
ट्रम्प प्रशासनले आणविक मुद्दालाई कुनै पनि स्थायी सम्झौताको केन्द्र मान्छ र यसलाई अन्य कुराकानीबाट अलग राख्न चाहँदैन । एक अमेरिकी अधिकारीका अनुसार, ट्रम्पले सर्तहरू अस्वीकार गर्दै आणविक मामिलालाई सुरुदेखि नै टुंग्याउनुपर्ने बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘फक्स न्यूज’सँगको अन्तर्वार्तामा भने, “हामी उनीहरूलाई यसबाट उम्किन दिने छैनौँ । कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार बनाउनबाट पूर्ण रूपमा रोक्नुपर्छ ।”
यस गतिरोधले कूटनीतिको सम्भावनालाई न्यून बनाएको बताइएको छ । इस्लामाबादमा तय गरिएको प्रस्तावित वार्ता रद्द भएको छ । खाडी क्षेत्रको तनावले विश्व बजार नराम्ररी प्रभावित भएको छ । ‘ब्रेन्ट क्रुड’ तेलको मूल्य तीव्र गतिमा बढेको छ ।
एजेन्सीहरु