कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ । दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले आज बुधबार (कात्तिक २६) सूचना प्रकाशित गर्दै उक्त अनुरोध गरेको हो ।
“यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको भनी बारम्बार गुनासो आइरहेको,” दूतावासले सूचनामा भनेको छ ।
छिमेकीले गुनासो गरेपछि नेपाली दूतावासले सेवाग्राहीहरूलाई कार्यालय समयलाई ख्याल गरेर मात्रै सेवा दिन आउन अनुरोध गरेको छ । छिटो आउनै पर्ने भए बिहानको ८ बजे मात्र आइपुग्न पनि दूतावासले आग्रह गरेको छ ।
“सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिनुहुन एवं कार्यालय आसपास लामो समयसम्म अनावश्यक रूपमा बस्ने कार्य नगरिदिनु्हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,” दूतावासको सूचनामा उल्लेख गरिएको छ ।