इरान र अमेरिकाबीच हालको अवस्थामा दोस्रो चरणको वार्ता हुने कुनै स्पष्ट संकेत देखिएको छैन । तर, इरानका परराष्ट्रमन्त्री अब्बास अरागची हिजो आइतबार पुनः पाकिस्तान पुगेका छन् । अरागची शुक्रबार–शनिबार राति पनि इस्लामाबाद पुगेका थिए ।
शनिबार अरागचीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका थिए । त्यसपछि उनी ओमान प्रस्थान गरे । हाल ओमानबाट पुनः पाकिस्तान फर्किएका हुन् । शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत उनले पाकिस्तान भ्रमणपछि ओमान र रुसको यात्रा गर्ने बताएका थिए ।
बीबीसी उर्दुका अनुसार, ओमानका सुल्तानले इरानी परराष्ट्रमन्त्रीसँग क्षेत्रीय घटनाक्रम र मध्यस्थताका प्रयासबारे छलफल गरेका छन् । मस्कटमा सुल्तान हैथम बिन तारिक अल सईदले अरागचीसँग भेट गरेका हुन् ।
त्यसक्रममा अरागचीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग फोनमा कुराकानी गरे । उनले साउदी अरबका परराष्ट्रमन्त्रीसँग पनि टेलिफोन संवाद गरेका थिए । साउदी र कतारका परराष्ट्रमन्त्रीसँगको कुराकानीमा अरागचीले युद्ध अन्त्य र तनाव कम गर्न इरानले चालेका पछिल्ला कूटनीतिक प्रयासबारे जानकारी गराएका थिए ।
खाडी देशका अमेरिकी लक्ष्यमा प्रहार
हालैको युद्धका क्रममा इरानले कतार र साउदी अरबमा रहेका अमेरिकी सैन्य आधार क्षेत्रमा पटक–पटक आक्रमण गरेको थियो । अप्रिल ८ मा अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत भएपछि खाडी देशले राहतको सास फेरेका थिए । यसले सैन्य तथा नागरिक पूर्वाधारलक्षित इरानी जवाफी हमला रोकिने अपेक्षा गरिएको थियो ।
यो विषयमा खाडी देशको प्रतिक्रिया केही हदसम्म समान देखिएको छ । उनीहरूको प्रतिक्रियामा दुई मुख्य विषय थिए, स्थायी समाधानको खोजी र होर्मुज जलमार्गमा अवरोधरहित आवागमन सुनिश्चित गर्नु । तर, संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानको कडा निन्दा गरेको थियो । ओमानले अमेरिकाको आलोचना गर्दै इरानसँग प्रत्यक्ष संवादको पक्ष लिएको थियो । त्यो अरू खाडी देशको अडानभन्दा फरक थियो ।
कतार
युद्धविरामप्रति कतारको प्रतिक्रिया तनाव कम गर्ने, क्षेत्रीय सहभागिता बढाउने र विश्वव्यापी ऊर्जा आपूर्तिको सुरक्षा सुनिश्चितलगायत विषयमा केन्द्रित थियो । अप्रिल १४ मा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले तत्काल प्राथमिकता युद्धविरामलाई दिगो बनाउनु रहेको बताएका थिए ।
कतारले खाडी देश र आपूर्ति शृंखलासँग सम्बन्धित राष्ट्रहरूलाई समेटेर वार्ताका निम्ति स्पष्ट रूपरेखा तयार गर्न आह्वान गरेको छ । समुद्री सुरक्षा कतारको प्रमुख चासो हो । अन्सारीले होर्मुज जलमार्गमा व्यापारको निर्बाध प्रवाहलाई अन्तर्राष्ट्रिय सुरक्षाका निम्ति अत्यावश्यक बताएका छन् ।
अप्रिल २१ मा उनले समुद्री आवागमन सुनिश्चित गर्नु सबै देशको साझा जिम्मेवारी भएको बताएका थिए । कतारले पाकिस्तान, अमेरिका र अरू मध्यस्थकर्ताको प्रयासलाई पनि समर्थन गरेको छ ।
साउदी अरब
‘भिजन २०३०’ मार्फत अर्थतन्त्रमा विविधीकरण ल्याउने लक्ष्य राखे पनि तेल अझै साउदी अर्थतन्त्रको मेरुदण्ड नै हो । निरन्तर संघर्षले यो लक्ष्यमा चुनौती सिर्जना गर्न सक्छ । सन् २०२३ मा चीनको मध्यस्थतामा भएको साउदी–इरान सम्झौतापछि पनि दुवै देशबीच कूटनीतिक सम्पर्क कायम छ ।
यद्यपि, राजकुमार मोहम्मद बिन सलमानले अमेरिकालाई इरानमाथि आक्रमण जारी राख्न दबाब दिएको भन्ने खबरले साउदीको कडा अडान संकेत गर्छ । उनले सन् २०१८ मै चेतावनी दिएका थिए कि इरानले परमाणु हतियार विकास गरेमा साउदीले पनि त्यसै गर्नेछ । यमनका हुथी विद्रोहीलाई इरानको समर्थन साउदीका निम्ति प्रमुख सुरक्षा चिन्ताको विषय बनेको छ ।
बहराइन
बहराइनले युद्धविराम र होर्मुज जलमार्ग आंशिक रूपमा खोलिएकामा स्वागत गरेको छ । उसले इरानका शत्रुतापूर्ण गतिविधि तत्काल बन्द गर्न आह्वान गरेको छ । बहराइनले इरानलाई परमाणु हतियार विकास नगर्न र ‘प्रोक्सी’ समूहको प्रयोग रोक्न आग्रह गरेको छ । आफ्नो भूमिमा भएका आक्रमणको क्षतिपूर्ति पनि माग गरेको छ ।
कुवेत
कुवेतले युद्धविरामको स्वागत गर्दै स्थायी समाधानको आवश्यकतामा जोड दिएको छ । कुवेतले इरान र उसका सहयोगीलाई शत्रुतापूर्ण गतिविधि रोक्न र सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुद्री कानुनानुसार आवागमनको स्वतन्त्रता सुनिश्चित हुनुपर्नेमा कुवेतले जोड दिएको छ । कुवेतले इरानद्वारा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी रणनीतिक पूर्वाधारमा आक्रमण गरिएको भन्दै निन्दा गरेको छ ।
यूएई
संयुक्त अरब इमिरेट्स (यूएई) इरानको सबैभन्दा कडा आलोचकका रूपमा देखिएको छ । उसले इरानमाथि बिनाउक्साहट आक्रामक गतिविधि गरेको आरोप लगाएको छ । युद्धविरामका सन्दर्भमा उसले सबै शत्रुताको अन्त्य र होर्मुज जलमार्ग पूर्ण रूपमा खुला राख्न माग गरेको छ ।
साथै, इरानको परमाणु कार्यक्रम, मिसाइल र ड्रोन क्षमतामाथि कडा नियन्त्रण आवश्यक रहेको जनाएको छ । आवश्यक परे अमेरिकी सैन्य कारबाहीमा सहभागी हुने संकेत पनि दिएको छ ।
ओमान
ओमानले लामो समयदेखि अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ । उसले तनाव घटाउने नीतिको निरन्तर समर्थन गर्दै आएको छ । ओमानको विदेश नीति ‘सबैसँग मित्रता, कसैसँग वैमनस्यता होइन’ भन्ने सिद्धान्तमा आधारित छ ।
ओमानले अमेरिकाको आलोचना गर्दै वार्तालाई कमजोर बनाएको आरोप पनि लगाएको छ । परराष्ट्रमन्त्री बदर अल–बुसैदीले यसलाई ‘अमेरिकाको युद्ध होइन’ भन्ने टिप्पणी गरेका थिए । ओमानले इरानसँग सन्तुलित सम्बन्ध कायम राख्दै होर्मुज जलमार्गमा समुद्री यातायात सुरक्षित राख्न संयुक्त संयन्त्र विकास गर्ने प्रयास गरिरहेको छ ।
बाह्खरी