अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।उक्त मुद्दामा केहीलाई मात्र दोषी ठहर गरेको र धेरैलाई सफाइ दिएको भन्दै विशेष अदालतको फैसलाविरुद्ध मंगलबार आयोगले सर्वोच्चमा पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
उक्त मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो । विशेष अदालतले आरोपित ११ जनालाई भने दोषी ठहर गरेको थियो । उक्त फैसला त्रुटीपूर्ण रहेको जनाउँदै अख्तियारले त्यसलाई बदर गरी सबैलाई सजाय हुनुपर्ने मागसहित आज पुनरावेदनपत्र दर्ता गरेको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२२ चैत्र २०८० मा अख्तियारले आरोपपत्र दायर गरेको थियो भने गत २० मङ्सिरमा विशेष अदालतले फैसला सुनाएको थियो । विमान खरिद प्रकरणमा पूर्वमन्त्री शाही, पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुङ्गानासहित २४ जना नेपाली तथा ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध विरुद्ध मुद्दा चलाइएको थियो । मुद्दामा १ अर्ब ४७ करोड १० लाख ८५ हजार मागदाबीसहित मुद्दा दायर भएको थियो ।