Connect with us

समसामयिक

भद्रपुरमा बुद्ध एयर जहाज दुर्घटनाः को–पाइलटसहित ७ यात्रु घाइते

Published

on

भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन् ।काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भएको थियो । ओभर रन हुँदा जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले बताए ।

उक्त जहाजमा ५१ जना यात्री, चारजना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना घाइते सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए ।

उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो । जहाज दुर्घटनामा परेलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बूको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्याएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.