Connect with us

समसामयिक

मेघालयमा कोइलाखानी विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

Published

on

भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा हिजो माघ २२ गते भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराएका हुन् ।

दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए । “दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु । यहाँ कोही चिनेजानेका मानिस छैनन् । चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु”, उनले भन्े, “घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ । उनीहरूको पनि अवस्था चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस् ।”

दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकी क्षेष्ठले जानकारी दिए । मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन् ।

रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारका सदस्य भावविहल बनेका छन् । खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन् । भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै ज्यान गुमाउनेको परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । घाइतेहरूलाई रु ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.