Connect with us

अर्थ

बढी मूल्यमा गहुँ बेच्न पाउँदा किसान खुसी

Published

on

कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघि अस्ति मङ्गलबारदेखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद सुरु गरिएको थियो ।
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईंले जानकारी दिए ।
“सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ९४५ रहेको छ । खाद्यकम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल चार हजार २५० मा गहुँ खरिद गर्न लागेको छ”, उनले भने, “बढी मूल्य पाएपछि किसान खुसी भएका छन् ।”
यसरी समर्थन मूल्यभन्दा बढी रुपैयाँमा गहुँ बेच्न पाएकामा किसान खुसी भएका छन् । गहुँ बेच्न खाद्य गोदाम टीकापुर पुग्नुभएका योगेन्द्र साउदले अन्य ठाउँकोभन्दा खाद्यमा गहुँ बेच्दा मूल्य बढी पाएको बताए । “केही किसानले सस्तोमा यसअघि नै गहुँ बेचिसकेका छन्”, उनले भने, “हामीले भने राम्रो मूल्य पायौँ ।”
जोशीपुर गाउँपालिका–६ महादेवाका क्रिमलाल डङ्गौरा पनि खाद्यमा गहुँ बेच्न पाउँदा खुसी छन् । “तोकेकोभन्दा बढी मूल्य पाइयो”, उनी भन्छन्, “सरकारले समयमै मूल्य तोक्ने र खरिद कार्य पनि समयमै गर्नुपर्छ ।”
गाउँका केही किसानले गहुँ बिक्री गरिसकेकाले आउँदा दिनमा समयमै खरिद कार्य सुरु गर्न सुझाव दिन्छन् । अर्का किसान रमेश चौधरी खेतको उत्पादनले नै बालबालिकालाई कापीकिताब जोहो गर्नुपर्ने भएकाले खेतबाटै गहुँ बिक्री गरिसकेको बताउँछन् । यहाँका किसान खेतबारीको उत्पादन बेचेर घरखर्च, बर्खे खेतीका लागि बीउ र मल जोहो गर्दछन् । सरकारले आउँदा दिनमा हरेक कार्य किसानलाई राहत हुनेगरी गर्नुपर्ने उनको भनाइ छ ।
खाद्य कम्पनीको कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य छ । प्रतिकिसानबाट बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना खाद्य कम्पनीको छ । यसका साथै यस क्षेत्रका बिज वृद्धिको काम गर्ने सहकारीले समर्थन मूल्यभन्दा बढीमा किसानको गहुँ खरिद गर्ने गरेका छन् । तोकेकोभन्दा बढी मूल्य पाउँदा किसानलाई कृषिकर्म गर्न हौसला मिलेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.